ad ad

राजनीति


एकीकृत समाजवादीमा सर्वसम्मतिको प्रयास, यी दुई विकल्पमा छलफल

एकीकृत समाजवादीमा सर्वसम्मतिको प्रयास, यी दुई विकल्पमा छलफल

नेपालखबर
असार २०, २०८१ बिहिबार १२:४७, काठमाडौँ

नेकपा एकीकृत समाजवादीमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको छ। नेताहरू सहमति जुटाउने प्रयासमा लागेकाले दिँउसो २ बजे हुने भनिएको मनोनयन दर्ताको प्रक्रिया पनि अन्योलमा परेको छ।

वार्तामा सहभागी नेताहरूका अनुसार, अध्यक्ष पदका लागि माधव नेपाल र घनश्याम भुसालले दाबी छाडेका छैनन्। तर, सर्वसम्मतिका लागि विभिन्न विकल्पमा छलफल भइरहेको छ।

पहिलो विकल्पमा, नेपाल र भुसाललाई साविककै पदमा क्रमशः अध्यक्ष र महासचिव दोहो¥याउनेबारे छलफल भइरहेको छ। यसमा भुसाल मानेका छैनन्। भुसाललाई मनाउन उनका पक्षका केही नेतालाई पदाधिकारी र सदस्यमा समेट्ने गरी कुरा भइरहेको छ।

दोस्रो विकल्पमा, नेपाल अध्यक्ष र भुसाल वरिष्ठ उपाध्यक्ष हुने प्रस्ताव छ। भुसाल वरिष्ठ उपाध्यक्ष हुँदा कार्यकारी शक्ति पनि दिने गरी छलफल चलिरहेको छ। शक्ति के–कसरी बाँड्ने भन्नेचाहिँ नेताहरूले खुलाएका छन्।

भुसाल वरिष्ठ उपाध्यक्ष भएमा उनकै पक्षमा नेता प्रकाश ज्वालालाई महासचिव बनाउनुपर्ने यस खेमाको जोड छ। 

त्यसो त भुसालले सर्वसम्मति गर्ने हो भने आफ्नै नाममा हुनुपर्ने अडान राखिरहेका छन्। अध्यक्षमा आफ्नो नाममा सर्वसम्मति नभए जसरी पनि चुनाव लड्ने उनको दाबी छ।

सर्वसम्मतिका लागि झलनाथ खनाल, माधव नेपाल, घनश्याम भुसाल, वेदुराम भुसाल र प्रमेश हमालले विभिन्न चरणमा छलफल गरेका छन्। ‘अहिले पनि विभिन्न कोणबाट विभिन्न विकल्पमा छलफल भइरहेकै छ, सायद चुनाव गर्नु नपर्ने गरी केही टुंगो लाग्ला,’ छलफलमा सहभागी एक नेताले नेपालखबरलाई भने। 

नेकपा एमालेबाट विभाजित भएपछि पहिलोपल्ट एकीकृत समाजवादी महाधिवेशनमा गएको हो। उसले भने एमालेकै निरन्तरता दाबी गर्दै दसौँ महाधिवेशन भनेको छ।

महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज अनुमोदन भइसकेका छन्। महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजलाई सुझावसहित अनुमोदन गरिएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचनमण्डललाई दिएको छ। निर्वाचनमण्डलले निर्वाचन प्रक्रियाअन्तर्गत मतदाता नामावली प्रकाशनको तयारी गरेको छ।

आजको कार्यसूचीमा मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय, मतदान कार्यक्रम छ। पार्टी केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटीले संयुक्तरूपमा निर्वाचन निर्देशिका निर्माण गरेका छन्।

निर्देशिकामा, प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व रहने सुनिश्चितता कायम गरिएको छ। सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने उल्लेख छ।

असार १६ मा उद्घाटन गरिएको महाधिवेशनको आज अन्तिम दिन हो। महाधिवेशनले २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। १ हजार ८ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि आवश्यक प्रशिक्षण प्रदान गरिसकिएको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .