ad ad

राजनीति


ऋणका भरमा बीआरआई अगाडि बढाउन खोज्यौं भने गलपासो बन्न सक्छ : एनपी साउद

ऋणका भरमा बीआरआई अगाडि बढाउन खोज्यौं भने गलपासो बन्न सक्छ : एनपी साउद

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद एनपी साउद। तस्बिरः रासस


नेपालखबर
असार १३, २०८१ बिहिबार १३:३२, काठमाडौँ

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद एनपी साउदले ऋणका भरमा मात्रै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)का परियोजना अगाडि बढाउन खोजिए त्यो गलपासो बन्ने खतरा रहेको टिप्पणी गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै साउदले बीआरआईमा सन्दर्भमा अरु देशसँग जस्तै अनुदानलाई उच्च प्राथमिकता दिएको बताए। उनले भने,‘हामीले विशेष गरेर ध्यान पुर्‍याउनुपर्ने कुरा के छ भने बीआरआईका सन्दर्भमा स्पष्टरुपमा अनुदानलाई जसरी अरु देशसँग उच्च महत्व दिएका छौं। हामीले अनुदानलाई स्वीकार गर्नुपर्छ।’

बीआरआईमार्फत अगाडि बढाउने योजनामा ‘पोटेन्सियल’ हुनुपर्ने भन्दै साउदले त्यस्ता आयोजनामा बजारको शुनिश्चिता समेत हुनुपर्नेमा जोड दिए। ‘जहाँसम्म ऋणको कुरा हो, यसमा त आफ्ना प्राथमिकता हुन्छन्,’ उनले अगाडि भने, ‘योजनामा पोटेन्सियल हुनुपर्छ। अर्थको प्रबन्धन हुनुपर्छ। बजारको शुनिश्चितता पनि हुनुपर्छ। ऋणका भरमा हामीले अगाडि बढाउन खोज्यौं भने भोलिका दिनमा गलपासो बन्ने जोखिम पनि त्यतिकै ज्यादा हुन्छ।’

प्रधानमन्त्रीले समेत सस्तो ब्याजदरमा मात्रै बीआरआई परियोजनामा ऋण लिने भनेको उल्लेख गर्दै उनले त्यसै अनुसार यसबारेको सम्झौता अगाडि बढे या नढेकोबारे जिज्ञासा मागे। ‘हुन त प्रधानमन्त्रीज्यूले भन्नु भएको छ,’ साउदले भने, ‘एडीबी, विश्व बैंककै सरहको ब्याजदरमा हामी ऋण लिन्छौं भन्नु भएको छ। तर, सम्झौता त्यो बाटोमा अघि बढीरहेको छ कि छैन? त्यस सम्बन्धमा हाउसलाई विश्वासमा लिनुपर्ने आवश्यता हामीले देखेका छौं।’

उनले यसमा राष्ट्रिय सहमति समेत आवश्यक रहेकोमा जोड दिए। ‘यसकोबारेमा राष्ट्रिय सहमति भइसकेपछि कुरा अगाडि बढाउँदा उपयुक्त हुन्छ। सरकार बाटो नबिराओस्,’ साउदले भने।

उनी कांग्रेससहितको गठबन्धन सरकार हुँदा प्रधानमन्त्री प्रचण्ड क्याबिनेटका परराष्ट्रमन्त्री थिए। साउदले सन् २०१७ मा हस्ताक्षर भएको बीआरआई उपयुक्त समयमा अगाडि बढाउने सहमति भएको समेत दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .