अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यकालको अन्तिम वर्षमा दुई दिने भारत भ्रमणमा छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजारातबाट भ्रमण सुरु गरेका उनी आगरा हुँदै सोमबार साँझ दिल्ली पुगेका छन्।
अफगानिस्तानमा तैनाथ अमेरिकी सेनालाई भेट्न बगराम सैनिक शिविरमा जानुलाई गणना नगर्ने हो भने राष्ट्रपति ट्रम्प दक्षिण एसियाको पहिलो भ्रमणमा छन्।
अफगानिस्तानमा भने सन् २००१ को अमेरिकी आक्रमणपछि पूर्व घोषणाबिनै राष्ट्रपतिहरु त्यहाँ रहेका आफ्ना सैनिकसँग चाडवाड मनाउन जाने गरेका छन्।
भारत भ्रमण गर्ने सातौं अमेरिकी राष्ट्रपति हुन् ट्रम्प।
अमेरिकी राष्ट्रपतिहरुले पटक–पटक भारत र पाकिस्तानको भ्रमण गरेका छन्। एक पटक बंगलादेशको भ्रमण समेत गरेका छन्।
सन् १९५९ मा तत्कालीन अमेरिकी राष्ट्रपति ड्वाइट आइजनहावरले अफगानिस्तानको एक दिने भ्रमण गरेका थिए। त्यस क्रममा उनले भारत, पाकिस्तानको पनि भ्रमण गरेका थिए।
तर, नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७३ वर्ष बितिसकेपनि हालसम्म एक पटक पनि अमेरिकी राष्ट्रपति नेपाल आएका छैनन्। सन् १९४७ मा नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको हो।
नेपालले कूटनीतिक सम्बन्ध गाँसेको बेलायतपछि दोस्रो मुलुक हो अमेरिका। यो अवधिमा अमेरिकाका उपराष्ट्रपति, विदेशमन्त्री र ‘फस्ट लेडी’ले नेपाल भ्रमण गरे पनि राष्ट्रपतिले भने नेपाल भ्रमण गरेका छैनन्।
नेपालका राष्ट्र प्रमुखले अमेरिकाको औपचारिक भ्रमण गरेको पनि तीन दशकभन्दा बढी भएको छ। तत्कालीन राजा वीरेन्द्रले राष्ट्र प्रमुखको हैसियतमा सन् १९८३ मा अमेरिकाका राजकीय भ्रमण गरेका थिए।
अमेरिकाको राजकीय भ्रमणका क्रममा तत्कालीन राजा वीरेन्द्र। तस्विर स्रोत: अमेरिकी नेसनल आर्काइभ
अमेरिकाका लागि पूर्व राजदूत समेत रहेका पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन नेपालका तर्फबाट पर्याप्त पहल नपुगेको बताउँछन्।
‘नेपालले नचाहेर शीर्ष अमेरिकी अधिकारीको भ्रमण नभएको हाेइन। तर त्यसमा लागि जति पहल र पहुँच हुनुपर्ने हो त्यो पुगेको देखिँदैन,’ थापाले नेपालखबसँग भने, ‘यो हाम्रै तर्फको कमजोरी हो।’
नेपाल अमेरिकाको चासोमा पनि नपरेको उनको बुझाइ छ। तत्कालीन राजा वीरेन्द्रले अमेरिका भ्रमण गर्दा थापा अमेरिकाका लागि राजदूत थिए।
राजा महेन्द्रको शासनकालमा सन् १९७० को जनवरीमा तत्कालीन अमेरिकी उपराष्ट्रपति स्पिरो एगन्यु नेपाल भ्रमणमा आएका थिए। उनी अहिलेसम्म नेपाल भ्रमण गर्ने सबैभन्दा उच्च अमेरिकी अधिकारी हुन्। त्यतिबेला उपराष्ट्रपतिलाई युवराज सरहको मर्यादा दिएर सम्मान गरिएको थियो। तत्कालीन युवराज वीरेन्द्रले उपराष्ट्रपति एगन्युको स्वागत गरेका थिए। एगन्यु रिचर्ड निक्सनका उपराष्ट्रपति थिए।
‘हाम्रो तर्फबाट शीर्ष तहका लागि कति पहल भए भन्ने पनि हुन्छ। यो टिमवर्कको विषय पनि हो। सबै कुरा मिल्यो भने मात्रै ठूलो भ्रमण हुन्छन्,’ पूर्वपरराष्ट्र सचिव मदन भट्टराई भन्छन्, ‘यो गफ गरेर मात्रै हुने विषय होइन। त्यसका लागि गम्भीर रुपमा पहल गर्नुपर्ने हुन्छ।’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सन् २०१८ डिसेम्बरमा अमेरिकाको औपचारिक भ्रमण गर्ने क्रममा विदेशमन्त्री माइक पोम्पेओसँग।
एगन्युपछि सन् २००२ मा अमेरिकी विदेशमन्त्री कोलिन पावेल नेपाल आएका थिए। माओवादी सशस्त्र विद्रोह चरमोत्कर्षमा पुगेका बेला पावेलको नेपाल भ्रमण भएको थियो। तर त्यसयता अमेरिकी विदेश मन्त्रालयको तेस्रो तथा चौथो पदाधिकारीले भ्रमण मात्र हुने गरेको छ। नेपालका तर्फबाट गत वर्ष मन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए।
द्विपक्षीय भ्रमण नहुँदा नेपाली नेताहरुले अमेरिकी राष्ट्रपतिसँग भेट गर्न पाउने भनेकै संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन जाँदा हुने भोजमा हो। भोजमा अमेरिकी राष्ट्रपतिसँग टोली प्रमुखले परिचय गर्ने र फोटो खिच्ने अवसर पाउने गरेका छन्।
अन्तर्राष्ट्रिय मामिलाका अध्येता टीकाप्रसाद ढकाल अन्तर्राष्ट्रिय शक्ति राजनीतिमा देश कति शक्तिशाली हो भन्ने विषयले अमेरिकी राष्ट्रपतिको भ्रमण निर्धारण गर्ने बताउँछन्। ‘हाम्रो तर्फबाट भ्रमणका लागि पर्याप्त पहल भयो वा भएन भन्ने एउटा विषय होला,’ उनी भन्छन्, ‘तर अमेरिकी राष्ट्रपतीय भ्रमणको प्राथमिकताको विषय आर्थिक तथा सामरिक रुपमा कति शक्तिशाली भन्ने विषयले धेरै हदसम्म निर्धारण गर्छ।’
शीत युद्धको समयमा सोभियत धुरीमा रहेको क्षेत्रीय शक्तिराष्ट्र भारत पछिल्लो समयमा अमेरिकी राष्ट्रपतिको भ्रमणको सूचीमा पर्दै आएको छ। विश्वका पाँचौँ अर्थतन्त्रमा उक्लिएको भारत र अमेरिकाबीच यो भ्रमणको क्रममा तीन अर्ब अमेरिकी डलरको हतियार खरिद सम्झौता हुँदैछ। त्यसैगरी अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक रणनीतिको केन्द्रमा भारत छ।
‘सन् २००० मा क्लिन्टनले बंगलादेश भ्रमण गर्नुमा पनि गार्मेन्ट क्षेत्रको ठूलो भूमिका छ। बंगलादेशी गार्मेन्ट वालमार्टमा जताततै पाइन्छ। त्यस समयमा हाम्रोबाट पनि अमेरिका गार्मेन्ट निर्यात हुन्थ्यो,’ ढकाल भन्छन्, ‘हामीले त्यसको महत्वलाई बुझ्न सकेनौं।’
ढकाल हार्ड पावर नभइ सफ्ट पावरले अमेरिकी राष्ट्रपतिलाई नेपाल ल्याउने बताउँछन्।
प्रतिक्रिया