जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी विभाजन नभएको दाबी गरेका छन्।
शनिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले राज्यको स्रोत, साधन र शक्ति प्रयोग गरेर केही सांसदहरुलाई चोइट्याइए पनि पार्टी यथावत रहेको जिकिर गरे।
‘पार्टी होइन केही व्यक्ति चोइटाएर लगेका हुन्। राज्यले आफ्नो स्रोत, साधन र शक्ति प्रयोग गरेर हाम्रा केही पार्टीका नेताहरुलाई मोहरा मात्र बनाइएको हो। त्यसलाई विभाजन भन्न मिल्दैन,’ यादवको भनाइ छ।
उनले कुनै राजनीतिक तथा सैद्दान्तिक मतभेद नभएको भन्दै मन्त्री बन्न र धन कमाउन नेताहरु चोइटिएको आरोप लगाए। ‘कोही मन्त्री बनेर राम्रो मन्त्रालय पाउन। कोही धनबहादुर भित्राउन। त्यहाँभन्दा बढी केही लक्ष्य छैन,’ उनको भनाइ छ।
अध्यक्ष यादवले आगामी दिनमा संघीयता तथा समावेशीता पक्षधरहरुसँग सहकार्य र गठबन्धन हुनसक्ने बताए।
Shares
प्रतिक्रिया