ad ad

राजनीति


शपथमा सहभागी हुन मोदीले फोनबाटै निम्तो दिए, प्रचण्डले स्वीकार गरे

शपथमा सहभागी हुन मोदीले फोनबाटै निम्तो दिए, प्रचण्डले स्वीकार गरे

फाइल तस्बिर


नेपालखबर
जेठ २४, २०८१ बिहिबार १८:३४, काठमाडौँ

तेस्रो पटक भारतको प्रधानमन्त्री बन्दै गरेका नरेन्द्र मोदीले आफ्नो शपथ समारोहमा सहभागी हुन टेलिफोनबाटै दिएको निमन्त्रणा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीकार गरेका छन्। 

मोदीले दिएको मौखिक आमन्त्रणअनुसार औपचारिक निमन्त्रणा प्राप्त भएपछि शपथ समारोहमा सहभागी हुन शनिबार दिल्ली जाने तयारी प्रचण्डले गरिरहेका छन्।

त्यही अनुसार आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत गरेको छ।

मोदीले आइतबार साँझ तेस्रो पटक भारतको प्रधानमन्त्रीका रुपमा राष्ट्रपतिबाट शपथ लिने कार्यक्रम छ। 

संभवतः शुक्रबार बस्ने एनडीए गठबन्धनको बैठकले मोदीलाई प्रधानमन्त्री बनाउने औपचारिक निर्णय गर्नेछ। त्यसपछि मोदीले बहुमत सांसदहरूको समर्थनसहित प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी प्रस्तुत गर्नेछन्। 

शपथ समारोहमा मोदीले नेपालसहित छिमेकी देशका सरकार प्रमुखहरूलाई निमन्त्रण गरेको बताइए पनि को को सहभागी हुनेछन् भन्ने प्रष्ट भैसकेको छैन। 

मंगलबार साँझ भारतको चुनावी परिणाम आएपछि प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल एक्सबाट मोदीलाई बधाई दिएका थिए। बुधबार प्रचण्ड र मोदीबीच फोनमा कुराकानी भएको थियो। 

‘प्रधानमन्त्री प्रचण्डले टेलिफोनबाट बधाई दिने क्रममा मोदीले शपथ समारोहमा सहभागी हुन आमन्त्रण गर्नु भयो, जसलाई प्रचण्डले सहर्स स्वीकार गर्नु भयो,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने।

भारतको १८औँ निर्वाचनबाट लोकसभाका ५४३ सिटमध्ये प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) को गठबन्धन नेसनल डेमोक्र्याटिक अलायन्स (एनडीए) ले २९२ सिट जितेको छ भने विपक्षी कंग्रेसको गठबन्धन इन्डियन नेसनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स (इन्डिया) ले २३३ सिट जितेको छ। एनडीएले बहुमत प्राप्त गरेसँगै मोदीका लागि तेस्रो पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको हो। 

मोदीले सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्रीको शपथ लिँदा सार्क राष्ट्रहरू– नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, अफगानिस्तान, मालदिभ्सका सरकार प्रमुखहरूलाई निम्त्याएका थिए। सन् २०१९ मा दोस्रो पटक प्रधानमन्त्रीको शपथ लिँदा भने बिमस्टेक मुलुकहरू– थाइल्याण्ड, म्यानमार, बंगलादेश, नेपाल, भुटान र श्रीलंकाका सरकार प्रमुखलाई निम्त्याएका थिए।   

यसपाली केही छिमेकी देशका सरकार प्रमुखहरूलाई निम्त्याइएको भनिए पनि ती को को हुन् प्रष्ट आइसकेको छैन। 

शपथ समारोहमा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदीसँग संक्षिप्त भेटवार्ता गर्ने संभावना छ, जसमा दुई पक्षीय सम्बन्धलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल हुन सक्नेछ। यो भेटसँगै प्रचण्डले तेस्रो कार्यकालमा मोदीको छिमेक नीति र नेपालमा उनको चासो के हुनसक्छ भनेर आकलन गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .