ad ad

राजनीति


कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक, लामिछाने र सिरोहिया मुख्य एजेन्डा

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक, लामिछाने र सिरोहिया मुख्य एजेन्डा

फाइल तस्बिर


नेपालखबर
जेठ ९, २०८१ बुधबार १३:५१, काठमाडौँ

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक सुरू भएको छ।

ललितपुरको सानेपास्थित मुख्यालयमा बसिरहेको बैठकमा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरण र कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी मुख्य मुद्दा रहेको कांग्रेस नेताहरूले बताएका छन्।

कांग्रेस सहमहामन्त्री जीवन परियारले समसामयिक विषयमा छलफल गरी धारणा बनाउन बैठक बसेको जानकारी दिए। 

संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री लामिछाने जोडिएका समस्याग्रस्त सहकारीको छानबिन माग गर्दै सदनमा लगातार अवरोध गर्दै आएको छ।

कांग्रेसको विरोधकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिएका छन् भने नीति तथा कार्यक्रम प्रस्तुत गरेवापत् धन्यवादको प्रस्ताव पारित गर्दा पनि कांग्रेसले नाराबाजी गरेको थियो।

नीति तथा कार्यक्रममाथि छलफल गर्न जेठ ११ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

सहकारी प्रकरणमा संसदीय छानबिनका लागि सत्तापक्ष र प्रतिपक्षीबीच सहमति भए पनि समितिको कार्यादेशबारे विवाद यथावत् छ। कार्यादेश तय गर्न कार्यदल बनाइएको भए पनि त्यसले कुनै निष्कर्ष दिन सकेको छैन।

कांग्रेस नेताहरूले सिरोहियाको गिरफ्तारी पनि गृहमन्त्री लामिछानेले नै प्रतिशोध साँध्नका लागि गरेको भनी प्रतिक्रिया दिइरहेका छन्। 

सिरोहियालाई मंगलबार उनकै कार्यकक्षबाट पक्राउ गरी प्रहरीले धनुषा पुर्‍याएको छ।

धनुषा प्रहरीले उनको नागरिकता विवादमा अनुसन्धान गरिरहेको छ।

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .