राजनीति


मिलनको जमानत पनि जफत भएपछि रविले भने- जित्न सकिएन, सिक्न सकियो

मिलनको जमानत पनि जफत भएपछि रविले भने- जित्न सकिएन, सिक्न सकियो

फाइल तस्बिर: मिलन लिम्बु र रवि लामिछाने


नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १२:२८, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको हारलाई सहर्ष स्वीकार गर्न पार्टीका सदस्यहरूलाई आग्रह गरेका छन्। 

प्रतिनिधि सभा सदस्य चयनका लागि यही वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा रास्वपाका उम्मेदवार मिलन लिम्बु लज्जास्पद रूपमा हारेका हुन्। सदर मतको १० प्रतिशत मत पनि ल्याउन नसकेपछि उनको जमानत नै जफत भएको छ। 

त्यहाँ एमाले उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। 

उनलाई बधाई दिँदै रास्वपा सभापति रविले आफ्नो पार्टीलाई मत दिने तथा मत नदिएर सचेत गराउने इलामेली नागरिकप्रति पनि आभार प्रकट गरेका छन्। 

साथै उनले उक्त हारलाई कुनै पनि बहाना नबनाई सहर्ष स्वीकार गर्न पार्टी उम्मेदवार मिलनसहित पार्टी पंक्तिलाई आग्रह गरेका छन्। 

‘इलाम २ को उपनिर्वाचनमा एमाले उमेदवार सुहाङ नेम्बाङजी विजयी हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु। हामीलाई मत दिनु हुने र मतसँगै ठूलो सन्देश दिनु हुने सबैप्रति आभारी छु। रास्वपा उमेदवार मिलन लिम्बुलगायत अहोरात्र खट्नु हुने सिंगो पार्टी पंक्तिलाई धन्यवाद’, रविले भनेका छन्, ‘जित्न सकिएन, सिक्न सकियो। त्यसैले कुनै इफ, बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ।’

पार्टीका तर्फबाट रास्वपा प्रवक्ता मुकुल ढकालले पनि विज्ञप्ति जारी गर्दै यस हारबाट पाठ सिकेर अघि बढ्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .