राजनीति


भारतसँगको सम्बन्ध बिग्रिँदैछ : परराष्ट्रविद् आचार्य

भारतसँगको सम्बन्ध बिग्रिँदैछ : परराष्ट्रविद् आचार्य

नेपालको कुटनीतिक सामर्थ्य पछिल्लो समयमा निकै खस्किएकोमा आचार्य चिन्तित छन्


नेपालखबर
बैशाख १५, २०८१ शनिबार १२:५५, काठमाडौँ

परराष्ट्रविद् जयराज आचार्यले सरकारमा कुटनीति सञ्चालनमा क्षमता नभएका व्यक्ति हावी हुँदा नेपालले छिमेकी राष्ट्र भारतसँगको सम्बन्धमा गम्भीर त्रुटी गरिरहेको टिप्पणी गरेका छन्। 

दुई ठूला शक्तिराष्ट्रको बीचमा रहेको देशले कुटनीतिज्ञको नियुक्ति र कुटनीति सञ्चालनको ढाँचामा परिवर्तन गर्नुपर्ने आवश्यकता भइसकेको उनले बताए। 

नेपालको कुटनीतिक सामर्थ्य पछिल्लो समयमा निकै खस्किएकोमा आचार्य चिन्तित छन्। अहिले नेपालले भारतसँगको सम्बन्धबाट फाइदा लिनसक्ने अवस्था नदेख्ने आचार्य नेपालको परराष्ट्र नीतिको चुनौती भनेकै भारतसँगको बिग्रेको सम्बन्ध सुधार्नु भएको उल्लेख गरे। 

‘भारतसँगको हाम्रो सम्बन्ध अहिले नराम्रोसँग बिग्रिएको छ,’ नेपालको राजदूत भइसकेका भारतीय कुटनीतिज्ञ श्यामशरणले आफ्नो पुस्तकमा भारतको पाकिस्तान, चीन र नेपालसँग सम्बन्धमा समस्या रहेको कुरा लेखिएको भन्दै नेपालबारे यस्तो कुरा आउनु धेरै गम्भीर रहेको बताए। 

‘भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध छ, रोटिबेटी, भाषा, धर्म संस्कृति, भुगोल, व्यापार वाणिज्य शिक्षा स्वास्थ्य यावत सम्बन्ध हुँदाहुँदै पनि सम्बन्ध बिग्रनु र उसले छिमेकीमध्ये यी देशसँग सम्बन्धमा समस्या छ भनेर लेख्नु गम्भीर कुरा हो,’ उनले भने, ‘मलाई के लाग्छ भने प्रधानमन्त्री राष्ट्रपति जस्तो उच्चतम राजनीतिक स्तरबाट यसमा ठूलो होमवर्क हुनुपर्ने छ। यो धेरै बिग्रिएको अवस्था म देख्छु। भारतबाट सहयोग पाइएन (विश्व स्वास्थ्य संगठनको चुनावमा) भन्ने कुरामा मलाई कुनै आश्चर्य होइन। पाइएन मात्र होइन भविष्यमा पनि (सम्बन्ध सुधार नहुँदासम्म) पाइँदैन।’

आचार्यले बीपी तथा महेन्द्रका पालामा नेपालले कुटनीतिक महत्व पाउनुमा दुवैको व्यक्तित्वले असर गरेको पनि बताए। 

२०४८ देखि ५१ सालसम्मको महत्वपूर्ण कालखण्डमा देशको नेतृत्व सम्हालेका आचार्यको अनुभवमा कोही पनि कुटनीतिज्ञ असल हुनु र नहुनुमा तीन कुराले प्रभाव पार्दछ। ‘अध्ययन अनुभव र राष्ट्रप्रेमका आधारमा राजनीतिज्ञ भन्नुस् वा कुटनीतिज्ञ प्रभावशाली हुने यी तीन आधार हुन्। जोसँग यी बढि भयो त्यही प्रभावशाली हुन्छन्,’ उनले भने। 

कोही व्यक्ति कुटनीतिज्ञका रुपमा प्रभावशाली बन्न देशको भूगोलले प्रभाव नपर्ने भन्दै उनले यदुनाथ खनालको उदाहरण दिए। कुटनीतिज्ञको पद अथवा देश भन्दा पनि व्यक्तिको क्षमताले सफल हुने वा नहुने भन्नेकुरा निर्धारण गर्ने आचार्यले बताए। 

नेपालभन्दा साना देश एक सय भन्दा बढी रहेको प्रसंग निकाल्दै उनले नेपालको भुगोलका आधारमा यसको कुटनीतिक महत्व अझ धेरै रहेको पनि बताए। हाम्रो अझ महत्व के छ भने शक्तिशाली देश चीन र भारतको बीचमा छौं। हाम्रो रणनीतिक भौगोलिक स्थिति महत्त्वपूर्ण छ। त्यस दृष्टिले नेपालको कुटनीतिज्ञले विश्वमै प्रभाव पार्ने खालको भुमिका खेल्नसक्छ,’ उनले भने। 

उनले अघि भने, ‘उहाँ (यदुनाथ खनाल) सन् १९६३ को जनवरीदेखि भारतमा नेपालको राजदूत भएर जानुभयो। त्यतिबेला नेपाल र भारतको सम्बन्ध अप्ठ्यारोमा थियो। त्यतिखेर उहाँले भनेका कुराहरु स्टेट्सम्यान, टाइम्स अफ इण्डियामा छापिन्थ्योर।

तर नेपाल आर्थिक र सामाजिक हिसाबले आत्मनिर्भर नहुँदा कुटनीतिमा सफल हुन नसकेको उनको तर्क छ। ‘सानो देश स्विजरल्याण्ड जनसंख्याका हिसावले नेपालभन्दा ५ गुणा र भुगोलमा ३ गुणा सानो छ,’ विभिन्न द्वन्द्व र विश्वयुद्धका समयमा समेत विपरित धारका देशहरूबीच उसले खेलेको मध्यस्थताको भुमिका सम्झँदै आचार्यले भने, ‘उनीहरूले किन गर्न सक्छन् भने सामाजिक आर्थिक स्थिति राम्रो छ। त्यसैले कुटनीतिमा सफल हुन आन्तरिक रुपमै हाम्रो विकास गर्नुपर्छ। सकेसम्म आत्मनिर्भर हुनुपर्छ।’

अहिले नेपाल संयुक्त राष्ट्रसंघमा सबैभन्दा धेरै सेना पठाउने देशमा पर्छ। बंगलादेशको सैनिक मिसन घटेपछि नेपाल अहिले सबैभन्दा धेरै शान्ति सैनिक खटाउनेमा पर्छ। तर सुरुमा यस्तो थिए। 

आचार्य स्थायी प्रतिनिधिका रुपमा जाँदा राष्ट्रसंघमा नेपालको योगदान एक हजार पनि अपुग थियो। नेपालको सैनिक करिव ४६ हजार हुँदा त्यसबेला देशमा माओवादी सशस्त्र संघर्ष सुरु भइसकेको थिएन। जम्मा आठ सय ८१ जनाले मात्र लेबनानमा युनिफिलमा जवानले काम गरेको अवस्था थियो,’ आचार्यले सुनाए, हाम्रो सेनालाई यत्तिकै राख्नभन्दा शान्ति सेनामा बढाऔं भनेर तीन गुणा बढाइयो।’

सैनिक संख्या बढेसँगै आफूले त्यसैका आधारमा थालेको कुटनीतिक अभ्यासका कारण पहिलो पटक मेजर जेनरल कृष्णनारायणसिंह थापालाई यूएन मिसनको फोर्स कमाण्डर बनाएर इजरायल पठाइएको आचार्य स्मरण गर्छन्। आफ्नै कार्यकालमा राष्ट्रसंघको योगदानकै आधारमा मानवअधिकार समितिमा पहल गरेर गणेशमान सिंहलाई नेल्सन मण्डेलाले पाएको मानव अधिकार पुरस्कार दिलाइएको उनी सम्झन्छन्।

सुरक्षा परिषद्मा दुई पटकसम्म सुरक्षा परिषद्‌मा निर्वाचित भएको नेपाल कुनै समय मानवअधिकार परिषद्मा पनि पुगेको थियो। तर पछिल्लो समय हेर्ने हो भने राष्ट्रसंघीय निकायमा नेपालको उपस्थिति कमजोर देखिन्छ। 

हालै भएको विश्व स्वास्थ्य संगठनको निर्वाचनमा पनि नेपाली उम्मेदवार पराजित भए। यसबाहेक ठूला पदमा उम्मेदवारी दिने आँटसमेत नेपाली नेतृत्वले गर्न सकेको छैन, किन त?

आचार्यको जवाफ छ, ‘यो आन्तरिक राजनीतिको कमजोरी हो। हामीले फोकस्ड डाइरेक्सन दिएर पठाउने कुरामा पनि कमजोरी भएको छ, ४८ पछि ३२ वर्षमा ३० वटा सरकार बनेको छ। व्यवस्था नै परिवर्तन भएको छ। यो अस्थिरताको बीचमा हाम्रो कुटनीतिक विश्वसनियता कम हुने अवस्था छ।’

विगतमा दुई पटक निर्वाचित भए पनि बहुदल आएको ३४ वर्षमा पनि सुरक्षा परिषद्‌मा पुग्न नसक्नुमा आचार्यले आन्तरिक क्षमता र गृहकार्य नपुगेकोलाई नै जोड दिए।

‘रुसका राष्ट्रपति ख्रुस्चेभले बीपीलाई होटलमा आएर ३ पटक भेटेका छन्, भारतका प्रधानमन्त्री नेहरुले २ पटक आएर भेट्नुभएको छ,’ उनले भने, ‘राजा महेन्द्रले २०२४ अमेरिकी दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको इतिहास छ। नेपालको रणनीतिक अवस्था, कोल्ड वार र हाम्रो कुटनीति मिसिएर हामीले गौरव सम्मान हासिल गरेका थियौं।’

विगतमा बेलायती रानी एलिजाबेथले २ पटक, जर्मन चान्सलर हेल्मुट कौल तथा फ्रान्सका राष्ट्रपति आएपनि अहिले त्यस्ता ठूला भ्रमण नहुँदा नेपाललाई महत्व नदिएको देखिएको भारत र चीनबाट भ्रमण वृद्धि भएपनि हाम्रो तयारी नपुग्दा महत्वपूर्ण भ्रमणबाट लाभ लिन नसकेको कुटनीतिज्ञ आचार्यले बताए। 

‘उल्टो सम्बन्ध बिग्रेको छ, मोदी आए पछि संविधान ल्यायौं। तर भारतको असहमति भएपछि ब्लकेड भयो। ५÷६ महिना जनताले दुःख पाएपछि भारतले अति भयो भनेर हटायो। त्यो ज्यादै गम्भीर कुरा हो नि,’ उनले भने।

नेपालको कुटनीति परिपक्व भएको भए भारतले लगाएको नाकाबन्दी रोक्न सकिने तर्क गर्दै आचार्यले अघि भने, ‘हामीले यस्तो संविधान बनाउँछौं। त्यो भारतको विरोधमा होइन ब्लकेडको आवश्यकता छैन नगर्नुहोला भनेर पहिल्यै क्यालकुलेट गरेर प्रष्ट भन्न सक्नुपथ्र्यो।’

यस्ता मामिलामा यदुनाथ खनालको कुटनीतिक कौशलता स्मरण गर्दै उनले भने, ‘महेन्द्र)को डिक्टेटरशीपपछि पनि राजाले जुन कदम लिए, त्यो आन्तरिक राजनीतिक प्रक्रियाको उपज हो र यो भारतविरोधी होइन भनेर कन्भिन्स(उहाँले) गर्नुभएको थियो। पछि नेहरुले पनि हो भन्नुभयो,’ उनले भने। 

उनले यदुनाथ खनालको परिपक्व कुटनीतिकै कारण भारतको विभिन्न विषयमा असहमति हुँदाहुँदै पनि शिक्षा, यातायायत आदि क्षेत्रमा सहयोग गरिरहने अवस्था खराब सम्बन्धकै समयमा पनि पञ्चायतकालमा बनेको टिप्पणी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .