ad ad

राजनीति


इलाम–२ : सुवासकै शैलीमा विपक्षीलाई नचिढ्याउने एमाले नीति

जब ओलीले मञ्चबाटै गाए- बोली मीठो मेरो हजुर सुहाङ नेम्बाङको...
इलाम–२ : सुवासकै शैलीमा विपक्षीलाई नचिढ्याउने एमाले नीति

रुपक चौलागाईं
बैशाख ५, २०८१ बुधबार २२:११, इलाम

‘बोली मीठो मेरो हजुर सुहाङ नेम्बाङको...’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार (५ वैशाख) मंगलबारेमा आयोजित सभामा सम्बोधन गर्दागर्दै माथिको गीतको भाका निकाले।

खासमा ओलीले सम्बोधन गर्नुअघि सोही सभामा एउटा सांस्कृतिक प्रस्तुति थियो। जुन प्रस्तुतिमा ‘पानी मीठो मेरो हजुर इलाम बजारको...’ बोलको गीत गाइएको थियो। 

सोही गीतमा भाका मिलाउँदै ओलीले सुहाङको प्रशंसा गर्न भ्याएका थिए। 

खासमा ओलीले सुहाङको मात्रै प्रशंसा गरेका होइनन्। इलामको चुनावमा पार्टीको नीतिबारे पनि संकेत गरेका थिए। 

ओलीले इलाममा लगभग २४ घण्टा बिताए। इलाम बजारको ‘होटल ग्रिन भ्यू’ को कोठा नम्बर २१० मा ओली वास बसे। राति अबेरसम्म इलामका नेता, कार्यकर्ता तथा मतदातासँग भेटघाट र अन्तर्क्रिया गरे। 

ती भेटघाटमा ओलीले सबैजसो नेता-कार्यकर्तालाई संयमित हुन आग्रह गरेका थिए। सोही होटलमा ओलीसँगै रात बिताएका एक नेताका अनुसार, स्व. सुवास नेम्बाङलाई सम्झँदै उनकै जस्तो स्वभाव प्रस्तुत गर्न कार्यकर्तालाई ओलीको निर्देशन थियो। 

सुवास यही क्षेत्रबाट २५ वर्षसम्म लगातार पाँचपटक चुनाव जितेका नेता हुन्। 

दुवैपटकका संविधान सभा अध्यक्षसमेत रहेका नेम्बाङ कसैलाई नचिढ्याउने र रूखो नबोल्ने स्वभावका नेता थिए। 

राजनीतिमा हुँदा उनी कहिल्यै कोहीसँग रिसाएनन्। एकता, सहकार्य, समन्वय भन्ने थेगो नै थियो उनको। उनको मिजासिलो स्वभाव र समन्वयकारी व्यक्तित्वको अभाव दलहरूबीचको द्वन्द्व अनि संसदको अहसज अवस्थाका बेला खड्किन्छ। फरक दलका नेताहरू पनि उनलाई सम्झिने गर्छन्। 

बाबु सुवासकैजस्तो छोरा सुहाङको स्वभावबाट ओली पनि प्रभावित देखिए। बुवाप्रतिको सहानुभूति मात्रै नभई उस्तै स्वभावले पनि सुहाङलाई टिकट दिनैपर्ने ओलीको बुझाइ थियो। 

सोही बुझाइ कार्यकर्तामाझ व्यक्त गरेर ओलीले मंगलबारेमा आयोजति सभामा कसैप्रति नकारात्मक सम्बोधन गरेनन्। बरु, सुहाङलाई जिताएर पठाएपछि इलामको विकासको जिम्मेवारी आफैँ लिने उद्घोष गरे। 

एमालेले मंगलबारेमा बुधबार बृहत् सभा गरेको थियो। 

अध्यक्ष ओलीसँगै माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी, परिवार दल लगायतका नेता तथा कार्यकर्ता पनि सभामा सामेल थिए। 

सुहाङले चुनावी सभामा बुवालाई पटकपटक सम्झे। 

‘विगतका निर्वाचनमा बुवालाई जुन भरोसा गर्नुभयो,’ सुहाङले स्मरण गर्दै भने, ‘मैले गएको तीन सातामा जतिलाई भेटेँ, उहाँहरूले बुवालाई सम्झीसम्झी रोएको देखेर भावुक भएँ।’

लगभग १५ मिनेट भाषण गरेका उनले कसैप्रति आरोप-प्रत्यारोपको भाषा बोलेनन्। 

उनलाई यसबारे पार्टी नेतृत्वले पनि सजग गराइसकेको छ। 

इलामको चुनावी कमान्डरसमेत रहेकी एमाले स्थायी समिति सदस्य शिवमाया तुम्बाहाङ्फेका अनुसार, सुहाङले सजिलैसँग नेतृत्वको भाषा बुझ्छन्। 

‘कानुनदेखि राजनीतिसम्मका विषय एकपटक भनेपछि बिर्सँदैनन्,’ इलाम इन्चार्जसमेत रहेकी उनले भनिन्, ‘इलामवासीले एउटा समझदार प्रतिनिधि पाएको छ। चुनावी सभामा पनि उत्साह देखिएको छ।’

सुहाङपछि ओलीले सम्बोधन गरे। 

उनले सुहाङलाई ‘विद्वान’को संज्ञा दिए। 

केहीबेरपछि उनले सुहाङको प्रशंसा गर्दै ‘बोली मीठो...’ भाका उतारेका थिए। 

हेर्नुहोस् भिडिओ :

 

सुहाङ देश बनाउने संकल्प बोकेर हिँडेको युवा नेता भन्दै ओलीले धर्म र पहिचानबारे घुमाउरो सम्बोधन गरे। 

‘अरूको धर्म र विश्वासप्रति घृणा नगरौँ, अरूलाई पनि सम्मान गरौँ,’ ओलीले भनेका छन्। 

सामाजिक सद्भाव र सामाजिक न्याय कायम गर्न ओलीले इलामबाट आह्वान गरेका छन्। 

खासमा ओलीले धर्म र संस्कृतिको विषय उल्लेख गरेर पहिचान पक्षधरलाई सम्बोधन गर्न खोजेका थिए। किनभने, पछिल्लो समय कोसी प्रदेशको नामाकरणलाई लिएर एमालेप्रति पहिचान पक्षधरको नजर फेरिएको छ। 

यसैलाई चिर्ने गरी ओलीले सद्भावको कुरा गरेका थिए। 

ओली इलामको चुनाव सकेर झापा ओर्लिएका छन्। 

उनीसँगै एउटै टिममा रहेका सदस्यका अनुसार भोलि मात्रै काठमाडौँ फर्कने कार्यक्रम छ। 

ओलीले बुधबारको कार्यक्रम सकेपछि पनि नेता-कार्यकर्तालाई बोलाएर सजग हुन आग्रह गरेका छन्। इलाममा चुनाव जिताउने अभियानमा लागेका एमालेका एक नेताले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘इलामका जनता सिरियस छन्, यो बेलामा अरूको कुरा काटेर होइन, आफू संयमित भएर अघि बढ्नू।’ 

झुट कुरा गर्ने, अर्को उम्मेदवारको कुरा काट्ने, दुष्प्रचार गर्ने लगायतका काम कसैले गर्‍यो भने त्यो इलामको चुनावमा घातक हुने एमाले नेतृत्वको बुझाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .