ad ad

राजनीति


संसदीय व्यवस्थालाई कमजोर बनाउने हर्कत नगर्न सरकारलाई कांग्रेसको चेतावनी

संसदीय व्यवस्थालाई कमजोर बनाउने हर्कत नगर्न सरकारलाई कांग्रेसको चेतावनी

नेपालखबर
बैशाख २, २०८१ आइतबार ११:४९, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्धमा कार्य नगर्न सरकारलाई चेतावनी दिएको छ।

आइतबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले सरकारले अर्को अधिवेशन बजेट अधवेशनका लागि पर्याप्त समय हुँदाहुँदै अप्रत्याशित र असामयिक रुपले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेकोतर्फ नेपाली कांग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट भएको बताए। 

उनले संघीय संसदमा सबै विपक्षी दलहरुले आम नागरिकसँग प्रत्यक्ष सरोकार भएको सहकारीमा बचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको विषय उठाउँदै आए पनि सरकारले बेवास्ता गरेको बताए। 

उनले सरकारमा रहेका बहालवाला मन्त्रीसमेत संलग्न रहेको हुँदा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिनको सुनिश्चितताका निम्ति संसदीय छानबिन समिति गठन गर्नुपर्ने विषयमा सरकारलाई विपक्षीको मागप्रति गम्भीर हुन सत्तापक्षकै सांसदहरुले आग्रह गरे पनि सरकारले बेवास्ता गरेको बताए। 

उनले सरकारले सदनमा बहुसंख्यक सदस्यहरुले उठाएको विषयबारे गम्भीर, सार्थक संवाद गरी निस्कर्षमा पुग्नुपर्नेमा जनताको सरोकारको विषयमा बेवास्ता गर्दै संसदबाट भाग्ने काम गरेको आरोप लगाए। उनले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने, जवाफदेही ढंगले प्रश्तुत हुनुपर्ने, संसदीय मूल्य मान्यताका बर्खिलाप संसदीय अभ्यासमा आघात गर्ने र प्रकारान्तरले संसदीय व्यवस्थालाई कमजोर बनाउने हर्कत गरेको बताए। 

उनले प्रतिपक्षको अवरोधका कारण संसद चल्न नसकेको भनी सत्तापक्षबाट हुने गरेका तर्क हास्यास्पद र लज्जास्पद भएको टिप्पणी गरे। उनले नेपाली काँग्रेसले एक महिनादेखि सहकारी ठगीमा सरकारका उपप्रधान एवं गृहमन्त्रीको संलग्नताको विषय तथ्य र प्रमाणसहित उठाउँदै आएको तर संसदका कुनैपनि काम कारबाही अवरोध नगरेको जिकिर गरे। 

उनले सरकारको अपरिपक्वता, गैरजिम्मेवारी र तानाशाही प्रवृत्तिका कारण दुई दिन संसद अवरोध भएको र त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए। उनले नेपाली काँग्रेस संसदीय दलको यो बैठक जनताका प्रत्यक्ष सरोकारका विषयमा गैरजिम्मेवार हुँदै संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको सरकारको निर्णयको घोर भत्र्सना र निन्दा गर्ने निर्णय गरेको बताए। 

उनले नेपाली कांग्रेससहित विपक्षी दलहरुले उठाउँदै आएको जनताले सहकारीमा जम्मा गरेको अर्बौं रकम हिनामिना ठगी भएको र उक्त जनविरोधी अपराधजन्य कार्यमा स्वयं सरकारका मन्त्री संलग्न रहेको विषय घाम जस्तै छर्लङ्ग भइसकेको भन्दै सरकार उक्त विषयमा तथ्यपरक रुपले छलफल संवाद नगरी जनताका सवालमा गैरजिम्मेवार हुँदै संसदको अधिवेशन अन्त्य गरी भागेको घटनाले यस विषयलाई थप पुष्टि गरेको दाबी गरे। 

आम नागरिकमा यदी मन्त्रीको संलग्नता थिएन भने किन छानबिन समिति गठन गर्न तर्सिनुपर्ने, किन सरकार सदनबाट भाग्नुपर्ने भन्ने विषय गम्भीरतापूर्वक उठेका छन् ? भन्दै प्रश्न गरे। सरकार यस अधिवेशनमा संघीयता लगायत संविधान कार्यान्वनय गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने, नागरिकका मौलिक हक अधिकारको प्रचलन गर्ने, नागरिकका दिनानुदिनका समस्या सम्बोधन गर्ने र नागरिकका जनजीविकाका सवालहरु सम्बोधन गर्ने, विधेयक सदनमा प्रश्तुत गर्न सबै किसिमबाट असफल भएको बताए। 

उनले सदनमा विचाराधिन विधेयक पारित गर्न पनि सरकारको गम्भीरता, जिम्मेवारीपन र जवाफदेहिता नदेखाएको र फलस्वरुप महहत्वपूर्ण कानून निर्माण नभइकनै अधिवेशनको सरकारले अन्त्य गर्ने निर्णय गरेको आरोप लगाए।

कांग्रेस संसदीय दलको बैठकले नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना व्यक्त गर्ने निर्णय गरेको पनि प्रमुख सचेतक लेखकले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .