ad ad

राजनीति


५० वर्ष भूमिगत राजनीति, ९० वर्षमा ‘सोह्रौँपटक’ महामन्त्री

५० वर्ष भूमिगत राजनीति, ९० वर्षमा ‘सोह्रौँपटक’ महामन्त्री

मोहनविक्रम सिंह। तस्बिर सौजन्य : गोविन्द शर्मा


सागर न्यौपाने
चैत ३०, २०८० शुक्रबार २२:२, काठमाडौँ

उनी २०३१ सालमा पहिलो पटक नेकपा मसालको महामन्त्री निर्वाचित भएका थिए। त्यतिबेला उनी ३९ वर्षका थिए। पञ्चायती व्यवस्थाविरुद्ध लडिरहेको उनको पार्टी भूमिगत थियो।

५० वर्ष बित्यो। वैशाख ३ मा उनी ९० औँ जन्मदिन मनाउँदैछन्। जन्मदिनको उपहार उनले अग्रिम पाइसकेका छन्। यसैसाता उनी पुनः पार्टीको महामन्त्री चुनिएका छन्।

र, उनको पार्टी अझै भूमिगत नै छ।

यो ५० वर्षको अवधिमा मोहनविक्रम सिंह निरन्तर मसालको नेतृत्वमा छन्। यसरी पाँच दशक पार्टी हाँक्ने उनी नेपालको एक मात्र नेता हुन्। 

उनलाई बुढेसकालमा आराम गर्न नदिएर पार्टीले किन नेता चुन्यो त?

‘काम गरेको पृष्ठभूमिका आधारमा नीति तथा कार्यक्रममाथिको विश्वास हो,’ सिंहले नेपालखबरसँग भने, ‘लिएको विचार सही भएको आधारमा हो।’ 

सिंहलाई चैतको अन्तिम साता काठमाडौँमा भएको नवौँ महाधिवेशनले फेरि महामन्त्रीमा निर्वाचित गरेको हो। पाँच दिनसम्म चलेको महाधिवेशनमा स्वदेश तथा प्रवाससमेतबाट करिब ६ सय महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक उपस्थित थिए। 

मोहनविक्रम सिंहअघि पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, केशरजंग रायमाझी, तुल्सीलाल अमात्यले कम्युनिस्ट पार्टीको नेतृत्व गरेका थिए। उनीहरु नेपालका पहिलो पुस्ताका कम्युनिस्ट नेता थिए।

त्यसपछि नेपाली कम्युनिस्ट आन्दोलनमा दोस्रो पुस्ताको नेतृत्व सिंहले गरे र थुप्रै नेता, कार्यकर्ता जन्माए। अधिकांश शिष्य उनलाई छाडेर लाखापाखा लागे, आआफ्नै पार्टी बनाए। फुटाए, मिसाए। कहिले ठूलो, कहिले सानो पार्टीको नेता बने।

तर, त्यसले सिंहलाई कुनै फरक पारेन। उनी निरन्तर आफ्नो सानो पार्टी रुँगेर बसिरहेका छन्, पार्टीको सर्वोच्च नेता कायम छन्।

सिंहले लिएको राजनीतिक लाइन कसैसँग मिल्दैन।

उनकै शिष्य पुष्पकमल दाहाल प्रचण्डले माओवादी गठन गरी दीर्घकालीन जनयुद्ध गर्ने भनेर दस वर्ष भूमिगत युद्ध चलाए। र, शान्तिपूर्ण राजनीतिमा पार्टीलाई ल्याए।

मोहनविक्रम सिंहले अझैसम्म मसाललाई उतिबेलाको भूमिगत शैलीमै चलाइरहेका छन्। त्यही अनुसार महाधिवेशन स्थल समेत गोप्य राखेर उनले राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गर्दै सुटुक्क आफूसहितका पदाधिकारी निर्वाचित भएको घोषणा गर्दै महाधिवेशन सम्पन्न भएको घोषणा गरे।

पहिलोपटक भारतको बनारसमा भएको भूमिगत महाधिवेशनले उनलाई नेता चुनेको थियो। त्यसपछि पाँचौ महाधिवेशनबाहेक छैटौँ, सातौँ, आठौँ र नवौँ महाधिवेशनमा निरन्तर महामन्त्री बन्ने नेपालकै जेठा कम्युनिस्ट नेता हुन् उनी।

‘निरन्तर पाँचपल्ट महामन्त्री चुनिइसकेँ, महाधिवेशन कहिले पाँच वर्षमा भयो, कहिले १२, कहिले १० वर्षको अन्तरालमा पनि भयो,’ सिंहले नेपालखबरसँग भने, ‘पाँचौँ २०४१, छैटौँ २०५१, सातौँ २०६३, आठौँ २०७५ तिर भयो।’

देशको राजनीतिक स्थितिले समयमै महाधिवेशन गर्न नसकेको उनी बताउँछन्। 

‘सातौँ महाधिवेशन कपिलवस्तुमा भएको थियो। आठौँ र नवौँ काठमाडौँमा भए,’ उनले सुनाए।

यो उमेरमा उनी लेखनमा पनि सक्रिय छन्। हालै एक उपन्यासको लेखन टुंगाएका उनी विभिन्न ठाउँमा पुगेर प्रशिक्षण र भेला गर्छन्। भाषण गर्छन्। 

महाधिवेशनमा पनि उनले देशको पछिल्लो अवस्था र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरे।

‘जनताको जनजीविका, नेपालको सीमा समस्या, परराष्ट्रनीति बलियो बनाउनु छ। सिद्धान्त स्पष्ट र दीर्घ हुनुपर्छ। सही विश्लेषण गर्नुपर्छ,’ उनी भन्छन्।

महामन्त्री निर्वाचित भएपछि चैत ३० मा नेपालखबरले उनलाई सम्पर्क गर्दा बैठकमै थिए। नेपालको एक मात्र कम्युनिस्ट पार्टी मसाल मात्रै भएको दाबी गर्दै थिए।

‘अझै चिजको विकास राम्रोसँग भइसकेको छैन,’ मोहनविक्रम सिंहले भने, ‘नेपालमा एउटा मात्र कम्युनिस्ट पार्टी छ, जुन कम्युनिस्ट सिद्धान्त र निष्ठामा टिकेको छ।’

अन्य सबै पार्टी बुर्जुवा भइसकेको, पुँजीवाद र दलाल संसदीय व्यवस्थाले कुहाइसकेको उनको ठहर छ। 

‘व्यक्ति प्रतिष्ठा, पदतिर केन्द्रित भए। मार्क्सवादी सिद्धान्तलाई सत्तालिप्साको माध्यम बनाए,’ सिंहको विश्लेषण छ, ‘वस्तुस्थितिको ठोस विश्लेषण गर्न नसकेर गलत दिशामा गए।’

यतिका वर्ष आफ्नो पार्टीले कुनै सैद्धान्तिक गल्ती नगरेको दाबी उनको छ।

‘हामीले रायमाझी पथ (राजावादी) समाएनौँ,’ मसाल अझैसम्म टिकिरहनुको कारण खोल्दै सिंहले भने, ‘तत्कालीन मालेले पूर्वतिर मान्छे मार्ने अभियान चलायो, यस्ता गल्ती हामीले गरेनौँ। माओवादी साथीहरूले उरन्ठेउलो नीति अपनाए। हामीले त्यो नीतिले राम्रो नगर्ने बतायौँ। माओवादी नीति गलत भन्ने पुष्टि भयो।’ 

मसालको महाधिवेशनले गणतन्त्र, धर्मनिरपेक्षता लगायतका विषय खतरामा पर्न सक्ने निष्कर्ष निकाल्दै यसको रक्षाका लागि विभिन्न शक्तिसँग मिलेर अघि बढ्नुपर्ने निचोड निकालेको छ।

‘संघर्ष पनि गर्ने र मिल्ने नीति’ अवलम्बन गर्दै अघि बढेको मसालले यतिबेला नेपालका कम्युनिस्ट पार्टीहरु मार्क्सवादी विचारबाट पछि हटेको निष्कर्षमा पुगेको छ। देशका प्रगतिशील परिवर्तनको पक्षमा मसाल दह्रो उभिएको उनी दाबी गर्छन्। 

‘ओली प्रतिगमन’ विरुद्ध संघर्षका नीति ल्यायौँ, माओवादीले युद्धकै बेला पनि विरोध गरेकै थियौँ,’ उनी भन्छन्, ‘गणतन्त्र, धर्मनिरपेक्षता विरुद्ध पूर्वराजाको चलखेल, राजावादी पार्टीको गतिविधि स्वाभाविक छैन, यसखालका गलत प्रवृत्तिविरुद्ध मिलेर अघि बढ्नुपर्नेछ।’

तर, अझै जनताको वास्तविक चाहना पूरा नभएको उनले महसुस गरेका छन्। एमाले र रास्वपासँग प्रचण्डको गठबन्धनको मसालले विरोध गरेको उनी बताउँछन्।

९० वर्षे नेतालाई महामन्त्री चुनेपछि व्यंग्य पनि हुन थालेको छ। तर, २०१५ सालदेखि सिंहको संगत गरेका सो पार्टीको वैधानिक मोर्चा भनिने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भने सिंहको क्षमता चानचुने नरहेको दाबी गर्छन्।

‘धेरै कम्युनिस्ट भनिने नेताहरू यही सत्ताबाट फाइदा उठाउन सिद्धान्त, संगठन, विचार छोडेर गए,’ केसीले नेपालखबरसँग भने, ‘तर, उहाँले निजी स्वार्थ र महत्त्वांकाक्षा राख्नुभएन। निरन्तर सिद्धान्तनिष्ठ, राष्ट्रियताको पक्षमा, लोकतन्त्र, गणतन्त्रको पक्षमा, कम्युनिस्ट सिद्धान्तको पक्षमा र त्यसको आदर्शको पक्षमा उहाँ अडिग रहेको अनुभव गर्छु।’

त्यसैले उनी पुनः निर्वाचित भएको उनको भनाइ छ।

यो पटकसहित सिंह नवौँपटक पार्टीको महामन्त्री चुनिएका हुन्।

राजनीतिक लेखक खगेन्द्र संग्रौलाले भने सिंहमाथि समाजिक सञ्जालमा तिखो व्यंग्य गरेका छन्, ‘मोहनविक्रम सिंह सोह्रौँपटक मसालको महामन्त्री चुनिएछन्! चुनिने मोहनजी, चुन्ने चित्रबहादुरजी र दुर्गाजी! हे हरि!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .