ad ad

राजनीति


नेसपा सहअध्यक्ष श्रेष्ठको दाबी- बाबुरामले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेका थिए

नेसपा सहअध्यक्ष श्रेष्ठको दाबी- बाबुरामले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेका थिए

पत्रकार सम्मेलनमा बोल्दै नेसपा सहअध्यक्ष गंगानारायण श्रेष्ठ।


नेपालखबर
चैत २४, २०८० शनिबार ११:५५, काठमाडौँ

नेपाल समाजवादी पार्टी (नेसपा) का सहअध्यक्ष गंगानारायण श्रेष्ठले गत चुनावका बेला नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति गरेका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले कुरा फेरेको आरोप लगाएका छन्। 

शनिबार अनामनगरको युनिक फास्टफुडमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले एकीकृत पार्टीको नाममा समेत सहमति भइसकेको कुरामा डा. भट्टराईले अहिले आएर एकाएक हुँदैन भनेको दाबी गरेका हुन्। 

‘त्यतिखेर पार्टी एकताको निम्ति पार्टीको नामको बारेमा समेत छलफल गरेर एउटा सहमति भएको अवस्था थियो। त्यो भनेको नेकपा समाजवादी केन्द्र वा नेकपा समाजवादी राख्ने भन्ने त्यतिखेर हामीबीच अन्डरस्ट्यान्डिङ थियो दुई पक्षका बीचमा’, उनले भने, ‘अहिले डा. साबले होइन भन्नुहुन्छ! यहाँहरूले भेट्दा सोध्नुभए हुन्छ– हो कि होइन भनेर।’

यस्तो छ, नेसपाभित्रको विवाद र डा. बाबुराम भट्टराईबारे सहअध्यक्ष श्रेष्ठले भनेका पूरा कुरा
निर्णय गर्ने अधिकार भएको निकाय भनेको निर्वाचन आयोग मात्रै हो। चैत्रको ५ गते बाबुराम भट्टराईले केन्द्रीय समितिको बैठक आह्वान गर्नु भो। उहाँले एउटा नेसापको केन्द्रीय समितिको बैठक गर्नु भो। हामीले ६ गते नेसपाको अर्काे केन्द्रीय समितिको बैठक गर्‍यौँ।

पार्टी विधिवत् रूपमा दुइटा त भए नि। र, यो दुइटा पार्टीको अहिलेसम्म सर्सती हेर्दाखेरि निर्वाचन आयोगमा कोही पनि गएन अर्थात् दुवै पक्ष गएर मसँग बहुमत छ, म आधिकारिक नेसपा हुँ भनेर दाबी गरेको छैन। हामीले पनि गरेका छैनौँ, डा.सापले पनि गर्नुभा छैन। अहिलेसम्म हामी पनि नेसपा नै हौँ, डा. साबले पनि आफूलाई नेसपै भनिराख्नुभएको छ।

भोलि आवश्यकता पर्दाखेरि हामी निर्वाचन आयोगमा जान पनि सक्छौँ। दोस्रो कुरा–पार्टी दुइटा किन भएको? यसमा हाम्रो कुराचाहिँ के हो भने पार्टी एकातिर जाऊँ भन्ने हाम्रो कुरा हो। लाइनमा फरक कहाँ पर्‍यो भने, पार्टी खण्डित हुन त लाइनले गर्छ। यसमा निर्वाचनभन्दा अगाडि पार्टी एकता गरेर निर्वाचनमा जाने भन्ने थियो। तर त्यो बेला हाम्रो प्राविधिक, समय चापका कारण पनि रहे। सँगसँगै हामीबीच बुझाइमै एकरूपता हुन सकेन। जसले गर्दा त्यतिबेला पार्टी एकता सम्पन्न गर्न सकेनौँ।

प्रचण्डजी तयार हुनुहुन्थ्यो, बाबुरामजी तयार हुनुहुन्थ्यो। हामी सबै तयार थियौँ। पार्टी एकताको प्रस्ताव राख्ने मान्छे नै म हुँ। त्यो प्रस्ताव एक्सेप्ट गरेको अवस्था पनि हो। तर हाम्रा अहिलेका अध्यक्ष महीन्द्र राय यादवजीले अहिले पार्टी एकता नगरौँ, पछि गरौँ भनेपछि हामी एकल चुनाव चिह्नमा गएको। त्यतिखेर पार्टी एकताको निम्ति पार्टीको नामको बारेमा समेत छलफल गरेर एउटा सहमति भएको अवस्था थियो। त्यो भनेको नेकपा समाजवादी केन्द्र वा नेकपा समाजवादी राख्ने भन्ने त्यतिखेर हामीबीच अन्डरस्ट्यान्डिङ थियो दुई पक्षका बीचमा।

र, अहिले डा. साबले होइन भन्नुहुन्छ! यहाँहरूले भेट्दा सोध्नुभए हुन्छ– हो कि होइन भनेर। अर्थात् भेरिभाई गर्नु छ भने, हामी त दुइटा झगडिया भयौँ। तेस्रो पक्ष पनि छ नि त। उहाँहरूलाई सोध्दा पनि हुन्छ। नेकपा समाजवादी केन्द्र या नेकपा समाजवादी नाम राखेर जाने भन्ने कुरामा सहमति भएकै हो। हामी एउटै चुनाव चिह्नमा चुनाव लड्यौँ। डा. साबले निसर्त गोरखामा गएर उहाँले आफ्नो निर्वाचन क्षेत्रमा प्रचण्डजीलाई चुनाव जिताउनका निम्ति महत्त्वपूर्ण भूमिका र निर्णय पनि उहाँले निर्वाह गर्नुभो। तर बिस्तारै बिस्तारै यहाँसम्म आइपुग्दाखेरि प्रचण्डजी र बाबुरामजी व्यक्तिगत सम्बन्ध त नराम्रो छ भनेर त भन्दिनँ।

तर घटनाहरूलाई हेर्ने दृष्टिकोणमा चाहिँ उहाँहरूको आनका तानचाहिँ फरक परेको देख्छु। अस्तिको दिन मात्रै गोरखामा लगेर उहाँले प्रचण्डजीले त राजीनामा दिनुपर्छ, यो अनैतिक भो भन्नु भो। उहाँले यो बीचमा तपाईं कस्तो गलत बाटोमा हिँड्नुभयो प्रचण्डजी, कांग्रेसलाई साथमा लिएर कहीँ हुन्छ? यो त उल्टो बाटो भो। एमालेसहितलाई गठबन्धन त्यता बनाएर पो जानुपर्छ। त्यो पो सुल्टो बाटो हो त भन्दै उहाँ आफैँ पहल गर्दै हिँड्नुभाथ्यो।

ओलीजीलाई उहाँले पटकपटक भेट्नु पनि भा हो। प्रचण्डजीले पनि ओलीलाई सकारात्मक बनाउने काम तपाईंको भनेर उहाँलाई भन्नु पनि भको हो। अनि जब उहाँले भनेको जस्तै भयो, नेपाली कांग्रेससँगको सत्ता गठबन्धन टुटेर एमालेसँगको नयाँ समीकरण बन्यो, अनि फेरि उहाँले के भन्नुभयो भने यो गठबन्धनले अब संघीय लोकतान्त्रिक गठबन्धनलाई नै धरापमा पार्छ।...यो प्रतिगामी खालको भयो, यहाँलाई समर्थन गर्न सकिन्न। 

उहाँले एउटा भाष्य निर्माण गरेर जबर्जस्ती एक ढंगले हाम्रो व्यक्तिगत जीवनमै आक्षेप लगाउनुभएको कुरा पदको लागि भन्ने छ के। पदको लागि होइन भन्ने कुरा म तथ्यसहित भन्न सक्छु।

हामीले एकल चुनाव चिह्न जुन बेलामा लियौँ। एकल चुनाव लिँदाखेरि बाबुराम भट्टराईलाई राजनीतिक दल सम्बन्धी ऐन २०७३ को प्रावधान के छ भन्ने कुरा थाहा थिएन र? राजनीतिक दल सम्बन्धी ऐन २०७३ को धारा ४९ को ३ मा प्रस्ट के लेखेको छ भने दुई वा दुईभन्दा बढी राजनीतिक दलहरू एकल चुनाव चिह्नमा चुनाव लड्दा जुन दलले बढी सिट प्राप्त गर्दछ, त्यो दलको एक मात्र संसदीय दल हुनेछ भन्ने छ।

र, त्यो चुनाव चिह्नबाट जितको अरु पार्टीका सांसदहरू पनि सोही संसदीय दलको सदस्य हुनेछ र उनीहरूलाई ह्विप लाग्ने भनेर लेखेको छ। हामी चार जना जो जित्यौँ, पार्टीगत हिसाबले नेपाल समाजवादी पार्टीका भयौँ, संसदीय दलको सदस्यको हिसाबले चाहिँ नेकपा माओवादी केन्द्रको संसदीय दलको सदस्य भयौँ। त्यही ह्विप उल्लंघन गर्नेलाई कारबाही हुने कि नहुने?  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .