प्रदेश नं. २ को नामाकरणको विषयमा सबै राजनीतिक दलहरु मधेश प्रदेश नजिक पुगेका छन्। गत भदौ महिनामा नाम र राजधानीको विषयमा गरेको प्रस्तावहरु माथि सहमतिको क्रममा रहेका दलहरु नामको विषयमा मधेश प्रदेश नजिक पुगेका हुन्।
प्रदेशको नामाकरण सम्बन्धी प्रस्तावमा सत्तारुढ समाजवादी पाटी र राष्ट्रिय जनता पार्टीले मधेश प्रदेश, प्रमुख प्रतिपक्षी नेकपाले जानकी प्रदेश, नेपाली कांग्रेसले मिथिला भोजपुरा र केही सभासदहरुले मध्यमधेश दर्ता गराए थिए।
दलहरुले गरेको प्रस्तावमा सहमति जुटाउन सभामुख सरोज कुमार यादवको संयोजकत्वमा रहेको समितिले गरेको पटक पटकको छलफल पछि दलहरु मधेश प्रदेश नजिक पुगेका छन्। सबै दलका संसदीय दलका नेताहरु समेतको सहभागितामा आइतबार सम्पन्न समितिको बैठक नामाकरणको विषयमा सहमति नजिक पुगेको नेताहरुले प्रतिक्रिया दिएका छन्।
बैठकमा सत्तारुढ समाजवादी पार्टी र राजपा मधेश प्रदेश हुनु पर्नेमा अडिग रहेपनि सहमतिको लागी भन्दै नेकपाले जानकी मधेश र नेपाली कांग्रेसले मिथिला मधेश नाम अघि सारेका छन्।
प्रदेश नं. २का मुख्यमन्त्री एवं समाजवादी पार्टी संसदीय दलका नेता लालबाबु राउतले नाम टुंग्याउन नसकिए पनि दलहरु सहमति नजिक पुगेको प्रतिक्रिया दिए। उनले मुलुकमा संघीयता स्थापना गराउन मधेश आन्दोलनको सम्मानका लागि भए पनि मधेश प्रदेश हुनु पर्ने बताए।
राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नेकपा र नेपाली कांग्रेस समेत मधेशलाई स्वीकार्य गरेकाले अगामी बैठकले टुंगो लाग्ने विश्वास व्यक्त गरे। प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफुहरु सहमतिको लागि लचक भएर जानकी मधेशको प्रस्ताव अघि सारेको बताए। सत्ता पक्ष नाममा लचिलो भएर टुंगो लगाउनु पर्ने उनको भनाइ छ।
अर्का प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादवले सहमतिका लागि मिथिला मधेश नाम अघि सारेको बताए। तर सत्तापक्ष मधेश बाहेक केही सुन्नै नचाहेकोले आजको बैठक निष्कर्षविहीन भएको उनको भनाइ छ। यस अघि बसेको समितिको बैठकमा राजधानी जनकपुरधाम राख्ने सहमति भइसकेको छ।
Shares

प्रतिक्रिया