ad ad

राजनीति


माधव नेपालको निष्कर्ष : एमालेले हाम्रो अस्तित्व स्वीकार्‍यो (अपानिसहित)

वार्ता भइरहे पनि महाधिवेशन कार्यक्रम नरोकिने
माधव नेपालको निष्कर्ष : एमालेले हाम्रो अस्तित्व स्वीकार्‍यो (अपानिसहित)

फाइल तस्बिर


नेपालखबर
चैत ४, २०८० आइतबार १९:१२, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले आफूहरूको अस्तित्व पहिलो पटक स्वीकारेको बताएका छन्।

आइतबार १३ पृष्ठ लामो अन्तर पार्टी निर्देशिका जारी गर्दै अध्यक्ष नेपालले फागुन २१ मा नयाँ गठबन्धन र सत्ता समीकरण बनेसँगै एमालेले आफूहरूको अस्तित्व स्वीकारेको बताएका हुन्। 

उनले आफूहरूको पार्टी निर्माण भएको करिब २ वर्षपछि एमालेले पनि आफूहरूको अस्तितस्व स्वीकार्दै औपचारिक सम्वादमा आउन थालेको अपानिमा लेखेका छन्। 

‘...यसैबीच गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेलगायत दलहरूसँग नयाँ सत्ता समीकरण बनाएपछि मुलुकको तात्कालिक राजनीतिक परिस्थिति अचानक बदलिएको छ’, उनले भनेका छन्, ‘नेपाली काङ्ग्रेससम्बद्ध अर्थमन्त्रीबाट असहयोग भएको, राष्ट्रियसभा निर्वाचनमा काङ्ग्रेसबाटै अन्तरघात भएको र काङ्ग्रेसको महासमिति बैठकमा संविधानविरुद्ध हस्ताक्षर भएको लगायत कारण देखाउँदै प्रधानमन्त्रीले समीकरण परिवर्तन गरेर चार दलबीच समझदारी गरेपछि मात्रै हाम्रो पार्टीसँग सम्वाद भएको थियो।’

नयाँ समीकरण बने पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था नदेखेपछि साथ दिएको पनि नेपालले बताएका छन्। उनले एमाले नेतृत्वले समेत आफूहरूसँग संवाद गरेपछि नयाँ समीकरणमा मिसिन सजिलो भएको दाबी गरेका छन्। 

‘एकातिर प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत नपाएको अवस्थामा सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसको सरकार बन्ने र त्यसबाट पनि राजनीतिक स्थिरताको प्रत्याभूति नहुने अवस्था थियो’, उनले भनेका छन्, ‘अर्कोतिर हाम्रो अस्तित्वलाई स्वीकार नगरेको नेकपा एमालेसमेतको नयाँ समीकरणले हामीलाई सरकारमा सहभागी हुन आग्रह गरेको हो। सरकार सञ्चालनका नीति तथा कार्यक्रमहरूमा हाम्रो पार्टीलाई समान रुपले सहभागी गराउने  प्रतिबद्धता व्यक्त गरेपछि पार्टी सचिवालयले त्यसप्रति सकारात्मक हुँदै वार्ता गर्ने निर्णय गर्‍यो।’

नेपालले वार्ताका क्रममा आफूहरूले उठाएका राष्ट्रिय महत्वका विषयमा छलफल गर्दा प्रधानमन्त्रीले सहमति जनाएपछि पार्टीले सरकारमा दुई जना मन्त्री पठाएको जनाएका छन्।

‘यस नयाँ समीकरणको सरकारका ‘नीतिगत प्राथमिकता तथा न्यूनतम कार्यक्रम’ तयार गर्ने कार्यदलमा पार्टीकातर्फबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई पठाएको छ’, नेपालले भनेका छन्। 

अचानक सरकारको समीकरणमा परिवर्तन आएपछि पार्टी नेतृत्वको ध्यान त्यता जानु स्वाभाविक भए पनि त्यसले पार्टीको अभियान र महाधिवेशन प्रभावित पार्न नहुने बताएका छन्। 

‘सारतः हाम्रो पार्टी हिजो एउटा गठबन्धनमा सरकारमा थियो। आज बदलिएको परिस्थितिमा अर्को गठबन्धनमा छ’, उनले भनेका छन्, ‘हाम्रा मन्त्रीहरुबाट परिणाममुखी काम होउन्, सरकारले राम्रो काम गरोस्, जनतामा रहेको निराशा र छटपटीलाई सम्बोधन गर्न सकियोस भनेर हामीले प्रयास गर्नुपर्छ।’

नेपालले एमालेसँग वार्ता चलिरहे पनि महाधिवेशनको तयारी नरोकिने जनाएका छन्। उनले ‘सङ्गठन तथा सदस्यता विस्तार अभियान–२०८०’ लाई व्यापक बनाउने बताए।

‘अभियानको सफलताले महाधिवेशनको सफलतालाई धेरै हदसम्म योगदान गर्नेछ। पार्टी कमिटीहरू र सदस्यता विस्तारकै क्रममा योजना हुने महाधिवेशनले पार्टीको जीवनमा नयाँ गति दिनेछ। त्यसैले हरेक तहमा बनेका योजनाका बाँकी काम पूरा गर्न सबै कमरेडहरूलाई आग्रह छ’, उनले भनेका छन्, ‘अचानक सरकारको समीकरणमा परिवर्तन आएपछि पार्टी नेतृत्वको ध्यान त्यता जानु स्वाभाविक भए पनि त्यसले हाम्रो अभियान र महाधिवेशन प्रभावित पार्नु हुँदैन भन्ने कुरामा सम्पूर्ण पार्टीपंक्ति स्पष्ट हुनु पर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .