राजनीति


तीन वर्षअघिको बहिष्कार बिर्सेर जब ओली रेनुको निम्तोमा भरतपुर पुगे

तीन वर्षअघिको बहिष्कार बिर्सेर जब ओली रेनुको निम्तोमा भरतपुर पुगे

तस्बिर : दिनेश भण्डारी


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १८:२५, काठमाडौँ

१७ माघ २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर सिटी हल र गोन्द्राङ-नारायणगढ ६ लेन सडक विस्तारको शिलान्यास गरे।

संघीय सरकारको बजेटमा ४ बिघा ४ कठ्ठा जग्गामा अन्तर्राष्ट्रियस्तरको सिटी हल निर्माण थालिँदा मेयर थिइन् रेनु दाहाल

मा‌ओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री उनी ओलीले ती दुई पूर्वाधार शिलान्यास गर्दा सहभागी भइनन्।

त्यसबेला तत्कालीन नेकपामा देखिएको किचलो उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीको कार्यक्रमलाई रेनुले बहिष्कार गरेकी थिइन्। 

ती ठूला २ आयोजनाको शिलान्यास कार्यक्रममा रेनुले भरतपुर महानगरपालिकाबाट प्रतिनिधिसमेत पठाएकी थिइनन्। 

तत्कालीन नेकपाभित्रको आन्तरिक किचलोका कारण प्रचण्ड पुत्री रेनुले भरतपुर महानगरका अरुलाई पनि सहभागी गराएकी थिइनन्।

त्यसबेला आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री ओली चितवन पुग्ने भएपछि नेकपा प्रचण्ड-माधव समूहले विरोध कार्यक्रम नै गरेको थियो। 

तर, त्यसको ठीक तीन वर्षपछि भरतपुरमै फरक दृश्य देखियो। २०७७ मा किचलोमा फसेको नेकपा विभाजित भएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि २०७९ को चुनावयता एक पटक ओली र प्रचण्डले सहकार्य गरिसकेका छन्।

त्यो सहकार्य केही महिनामै सकिएर दुई नेताबीच पानी बाराबारको स्थिति थियो। तर पछिल्लो समय ओली र प्रचण्डबीच संवाद बढ्दै जाँदा आफ्नो कार्यक्रम बहिष्कार गरेकी उनै रेनुको निम्तो स्वीकारेर ओली शुक्रबार भरतपुर पुगे।

भरतपुर पुग्दा उनलाई मेयर रेनुले भ्रमण वर्षको मञ्चमा स्वागत गरिन्। उता प्रचण्डले पनि उनलाई मुस्कुराउँदै स्वागत गरे। भरतपुर भ्रमण वर्षको मञ्चालाई ओली र प्रचण्डको सम्बन्धमा सुधार आएको पुष्टि गर्ने माध्यम पनि बनाइएको छ। 

रेनु मेयर रहेको भरतपुर महानगरले एमालेका अध्यक्ष ओलीसहित पाँचजना पूर्वप्रधानमन्त्रीलाई निम्तो दिएको थियो।

उक्त निम्तोलाई स्वीकार्दै ओली शुक्रबार भरतपुर पुगेर भ्रमण वर्ष उद्घाटन समारोहलाई सम्बोधन मात्रै गरेनन् रेनुको प्रशंसा पनि गर्न भ्याए।

ओलीले भरतपुरलाई पर्यटन विकासको प्रचुर सम्भावना भएको सहरको संज्ञा पनि दिए। भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी किनारमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भरतपुर अन्यत्रबाट बसाइँसराइ सरेर आएका र यहाँका आदिवासीको सुन्दर सम्मिश्रणको सहर भएको पनि बताए। 

अध्यक्ष ओलीले यहाँको पर्यटनको प्रचुर सम्भावना देखेर नारायणी, कोसी हुँदै बङ्गालसम्म जोड्न आफूले जलमार्गको योजना अघि बढाएको पनि सुनाए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .