राजनीति


कांग्रेसमा महासमितिभन्दा केन्द्रीय समिति माथि!

क्षेत्राधिकार ‘हाइज्याक’ गरी अनुकूल थलोमा निर्णय गर्ने देउवाको दाउ
कांग्रेसमा महासमितिभन्दा केन्द्रीय समिति माथि!

नेपालखबर
फागुन १०, २०८० बिहिबार १९:२९, काठमाडौँ

नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रतिवेदन महासमिति बैठक (७-१० फागुन) बाट सर्वसम्मतिले पारित भएको भनिएको छ। हुन पनि उनको प्रतिवेदन निर्णयार्थ प्रस्तुत हुँदा गोदावरीको सभा भवन तालीले गुन्जिएको थियो, जसरी अन्य ३ वटा प्रतिवेदनका पक्षमा पनि ताली बजेको थियो।

महामन्त्री गगन थापाको प्रतिवेदनका हकमा बजेको ताली यस अर्थमा महत्त्वपूर्ण छ कि यसअघि उनकै प्रस्तावलाई लिएर निकै ठूलो हलचल पैदा भएको थियो।

केन्द्रीय कार्यसमिति बैठकमा ३ दिन छलफल भइसकेर पनि पार्टीको आधिकारिक दस्तावेज बन्न नसकेको उक्त प्रस्तावको स्वामित्व लिन सभापति शेरबहादुर देउवा र उनको टोली अन्तिम समयसम्म पनि तयार थिएन। त्यही कारण समयमा छापेर महासमिति सदस्यहरूलाई बाँड्न पनि भ्याइएको थिएन।

गोदावरीमा महासमिति बैठक उद्घाटन गरिसकेपछि सभापति देउवाले बहालवाला मात्र होइन, पूर्वपदाधिकारीलाई समेत आफ्नो निवासमा बोलाएर गगनलाई गलाउने कोसिस गरेका थिए। गगन टसमस नभएपछि सत्ता गठबन्धनमा उत्पन्न हुन सक्ने संशय मेटाउन आफ्नो निवासमा भइरहेकै बैठक छाडेर देउवा बालुवाटार पुगेका थिए। त्यहाँ सत्ता गठबन्धनका प्रमुख दुई नेता प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपाललाई मौजुदा सत्तायात्राप्रति आश्वस्त तुल्याएका थिए।

बालुवाटारबाट फर्केपछि सभापति देउवासहित संस्थापन पक्षका नेताहरूले गगनलाई प्रतिवेदनको भाषा परिमार्जन गर्न र आकार छोट्याउन भनेका थिए। त्यसैलाई उनीहरूले ‘सहमति’को नाम दिएका थिए। तर, गगनले प्रतिवेदन संशोधन गरेनन्। भोलिपल्ट त्यही स्वरूपमा प्रस्तुत गरे। प्रतिवेदनमा समूहगत छलफल भयो। देशभरिबाट २ हजार २ सय प्रतिनिधिले आफ्नो राय–सुझाव प्रस्तुत गरे। गगनको सुरु प्रतिवेदनमै ताली बजाएर पारित गरियो।

तर, महासमिति बैठकबाट ‘सर्वसम्मतिले पारित’ भइसक्यो भनिएको प्रतिवेदन ‘अन्तिम’ भने भइसकेको छैन। केन्द्रीय कार्यसमिति बैठकबाट सुझावसहित अनुमोदन गर्ने भनिएको छ। अझ केन्द्रीय समितिले नै ‘परिमार्जनसहित अन्तिम स्वरूप दिने’ कुरा बैठक समापनपछि सार्वजनिक गरिएको ११ बुँदे निष्कर्षको ११ औँ नम्बरमा लेखिएको छ।

उक्त बुँदामा भनिएको छ :

महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको समासामयिक राजनीतिक प्रस्ताव नेपाली कांग्रेसको नीति, सांगठनिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्टिकोण निर्माण गरेको छ। बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यहरूबाट अत्यन्तै महत्त्वपूर्ण सुझावहरू प्राप्त भएका छन्। प्राप्त सुझावहरूका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जनसहित अन्तिमरूप दिने गरी तीनवटै प्रस्ताव महासमितिको यो बैठक सर्वसम्मतिले पारित गर्दछ।

विधानतः कांग्रेसमा महासमिति नै सर्वाधिक शक्तिशाली संरचना हो। महासमितिले नै कार्यसमितिलाई निर्देश गर्न सक्छ। महासमितिले पारित गरेको नीति कार्यसमितिले कार्यान्वयन गर्नुपर्छ।

तर यहाँ महासमितिले पारित गरेको नीतिमाथि केन्द्रीय कार्यसमितिले कैँची चलाउन सक्ने ठाउँ राखेको छ। र, महासमितिभन्दा माथि केन्द्रीय कार्यसमिति छ भन्ने सन्देश दिएको छ।

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले केन्द्रीय कार्यसमिति बैठकले महासमितिबाट पारित प्रतिवेदनहरू परिमार्जन गर्ने बताए।

‘आज पारित भएका प्रतिवेदनहरू छलफलमा प्राप्त सुझावहरूको आधारमा केन्द्रीय कार्यसमिति बैठकले परिमार्जन गर्छ,’ उनले भने। 

केन्द्रीय कार्यसमिति बैठक चाँडै बस्ने कांग्रेस नेताहरू बताउँछन्। केन्द्रीय कार्यसमिति त्यही संरचना हो, जहाँ यसअघि ‘चुनावभन्दा पहिला गठबन्धन नगर्ने संकल्प’मा कुरा मिलेको थिएन। विवादैविवादका बीच यो विषय महासमितिमा लगिएको थियो। महासमितिलाई केवल सुझाव मात्र लिने र निर्णय गर्न नसक्ने संरचनाका रूपमा स्थापित गरी फेरि उही विवाद केन्द्रीय कार्यसमितिमा फर्काइएको छ।

सभापति देउवा केन्द्रीय कार्यसमितिमा स्पष्ट बहुमतमा छन्। त्यसैले उनले महामन्त्री थापाको प्रस्तावलाई अल्पमतमा पार्न सक्छन्। बरु महासमितिमा मतदानमा लैजाँदा गगनको विचारको विजय हुन सक्थ्यो । उनले बहुमत नै नपाए पनि शक्तिशाली समर्थन अवश्य प्राप्त गर्न सक्थे। किनभने, महासमितिमा तुलनात्मकरूपमा युवा पंक्तिको उपस्थिति बढी छ। गगनको पक्षमा देखिन सक्ने बलियो मतसँग पार्टी नेतृत्व अवश्य तर्सिएको देखिन्छ। त्यसैले आफूलाई सुविधा पर्ने थलोमा लगेर देउवाले निर्णय गर्न खोजेका छन्।

कांग्रेस संस्थापनले अर्को चलाखी के गरेको देखिन्छ भने महासमिति बैठकका निष्कर्षस्वरूप सार्वजनिक गरिएको ११ बुँदे विज्ञप्तिमा गठबन्धनलाई निरन्तरता दिने मात्र होइन, यही गठबन्धनको प्रशस्तिमा प्रशस्त शब्द खर्च गरिएको छ। 

विज्ञप्तिको छैटौँ बुँदामा ‘नेपाली कांग्रेसको महत्त्वपूर्ण उपस्थितिसहित निर्माण भएको गठबन्धनलाई निरन्तरता दिई वर्तमान सरकारमार्फत भ्रष्टाचार, बेथिति र विसंगतिका विरुद्ध वैधानिकरूपमै अभियान सञ्चालन गरी सुशासन र राष्ट्रिय सदाचार पद्धति स्थापित गर्न सम्पूर्ण रूपले कृतसंकल्पित रहने अठोट गर्दै, अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतीहरूलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै’ उल्लेख गरिएको छ।

यसरी हेर्दा नेपाली कांंग्रेसमा महासमिति बैठक सबैभन्दा शक्तिशाली संरचना नरहेको देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .