ad ad

राजनीति


भ्रष्टाचारमा निर्लज्जता थपिएको छ: प्रधानमन्त्री ओली

भ्रष्टाचारमा निर्लज्जता थपिएको छ: प्रधानमन्त्री ओली

नेपालखबर
माघ २८, २०७६ मंगलबार १३:३१,

प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रशंसा गरेका छन्।

मंगलबार आयोगको २९ औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा प्रधानमन्त्रीले आयोगले पछिल्लो समयमा उल्लेख्य सफलता पाएको बताएका छन्।

आयोगले हालै ललिता निवास जग्गा प्रकरणमा तीन जना पूर्व मन्त्रीसहित १७५ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। सो प्रशंगलाई उल्लेख्य उपलब्धिका रुपमा प्रधानमन्त्रीले चर्चा गरेका हुन्।

उनले भने, ‘मेरो विचारमा अख्तियारले केही महत्वपुर्ण समाजलाई दिशा दिने काम गरेको छ। हामीले प्रमुख आयुक्तज्यूबाट कामको प्रगति विवरण सुन्यौँ। त्यसबाट मलाई खुशी लागेको छ। यी काममा आयोगले उल्लेख्य सफलता पाएको छ।’

प्रधानमन्त्री ओलीले सबै जनताको चाहना भ्रष्टाचार मुक्त समाजको कल्पना भएको बताए।

‘हामी सबैको चाहना हाम्रो देश भ्रष्टाचारमुक्त, स्वच्छ, पारदर्शी समाज होस्, जसबाट सार्वजनिक सम्पत्तीमा व्यक्तिले अधिकार जमाउने वा हडप्ने, अथवा कुनै हिसावले राज्यको सम्पत्ती आफ्नो पार्ने, राज्यलाई या देशलाई घाटा पारेर आफूले फाइदा लिने प्रवृतिबाट देश मुक्त होस्। जसबाट विकासको क्रम तिव्र गतिले अगाडि बढ्न सकोस्’ उनले भने।

प्रधानमन्त्री ओलीले हाम्रो समाज धार्मिक समाज भएको र अनैतिक काम गर्न भगवानसँग डराउने समाज भएको उल्लेख गर्दै तैपनि भ्रष्टाचार आदीम समाजदेखि नै आएको उल्लेख गरे। उनले भने।‘समाजमा भ्रष्टाचार छ। त्यसकारण स्ट्रिङ अप्रेसनमा मानिसहरु परिरहेका छन्। कारबाही भइरहेको छ। मुद्दाहरु अख्तियारले चलाईरहेको छ। चलाउन परिरहेको छ। यो अवस्था एउटा दुखद अवस्था हो। वास्तवमा यस्तो नहुनुपर्ने हो। हाम्रो समाज एउटा स्वच्छ परम्परा भएको समाज हो।’

ओलीले ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने प्रतिवद्धता सबैमा हुनुपर्ने दोहोर्याए।

उनले समाजमा भ्रष्टाचारसँगै निर्लज्जता थपिएकोले कहाँ भ्रष्टाचार छ, कहाँ सदाचार छ, छुट्याउनै गाह्रो परेको बताए। ‘पहिले पहिले समाजमा बद्मासी गर्नेहरुलाई तामा, कुश छुन लगाउँदा उसले घोसेमुन्टो लगाउँथ्यो। तर अहिले कोही पनि घोसेमुन्टो लगाउँदैन। अथवा भ्रष्टाचारमा निर्लज्जता थपिएको छ। घोसेमुन्टो कसैले लगाउँदैन। त्यसकारण कहाँ नेर सदाचार छ कहाँनेर भ्रष्टाचार छ, छुट्याउन गाह्रो छ।’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .