राजनीति


ओलीले एकीकृत समाजवादीलाई दिए पापकुण्डको संज्ञा

ओलीले एकीकृत समाजवादीलाई दिए पापकुण्डको संज्ञा

तस्बिर : केपी ओलीको सचिवालय


नेपालखबर
फागुन १, २०८० मंगलबार १९:५१, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पापकुण्डको संज्ञा दिएका छन्।

एमाले मुख्यालयमा एकीकृत समाजजादीबाट एमाले फर्किएका पोलिट्व्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय कमिटी सदस्य शंकरनारायण श्रेष्ठलाई स्वागत गर्दै ओलीले यस्तो बताएका हुन्। 

‘तपाईंहरु रहनु भएको ठाउँ (नेकपा एकीकृत समाजवादी) पाककुण्डा नै थियो। तपाईंहरु पापकुण्डबाट मुक्त हुनुभएको छ,’ ओलीले भने, ‘देशका विरुद्ध काम गर्ने समूह, कम्युनिष्ट आचरण र विचारलाई ध्वस्त पार्न लागेको समूहबाट आफूलाई अलग गर्नु भनेको मोक्षप्राप्ति गर्नु हो।’ 

उनले फेरि आफ्नै घर फर्किएर बुद्धिमतापूर्ण काम गरेको भन्दै धन्यवाद पनि दिए। 

‘तपाईंहरु त्यहाँ बसिरहेको भए आफ्नो पनि पार्टी जिन्दगी खेर जान्थ्यो। त्यो खेर जाँदै गर्दा देशका लागि अहित पनि हुँदै जान्थ्यो,’ ओलीले भने।   

ओलीले मान्छे नराम्रै सास्कृतिक कार्यक्रममा, गीत बजाएका ठाउँमा, बाजा बजाएका ठाउँमा पुगेपछि नचाचे पनि खुट्टा चनाउने प्रसङ्ग निकाले। 

‘अलिअलि संलग्नता त भइहाल्छ क्या! त्यसबाट मुक्त हुनुभएको छ, साथीहरु। अब मन नलागी नलागी होइन मन खोलेर आफ्नो क्षमता देखाउनुस्। जिम्मेवारी नपाइने चिन्ता नलिनु जति ठूलो जिम्मेवारीको भारी बोक्नुहुन्छ। त्यति नै ठूलो जिम्मेवारीको भारी बोकाइन्छ’, उनले भने।  

ओलीले कार्यकर्ताले जति ठूलो भारी बोके त्यति नै धेरै फाइदा पार्टीलाई हुने बताए। कार्यकर्ता जति धेरै सक्रिय भयो, त्यति धेरै फाइदा पार्टीलाई हुने पनि उनले बताए। 

‘ट्रेडमिलमा पसिना बगाएर दौडिने अनि कहाँ पुगियो भन्दा त्यही भयो भने हुँदैन,’ ओलीले भने, ‘योजनाविहीन ढंगले गन्तव्य कहाँ हो भन्ने नभई कुदियो भने त्यो ट्रेडमिलमा दौडिए जस्तो मात्रै हुन्छ। योजना बनाएर लक्ष्य बनाएर दौडिनुहोला। त्यो भयो भने मात्रै लक्ष्य प्राप्त गर्न सकिन्छ।’  

सधैँ अखडामा कुस्ती खेलिरहेको खलिफा (पहलमान)ले पनि खेल्नुअघि उठबस गरेर, आफैँ मडारिएर एक–दुई पटक ज्यान तताउन, नशा तन्काउने प्रसङ्ग पनि ओलीले निकाले।  

‘त्यसपछि मात्रै खलिफाले कुस्ती खेल्छन्। सधैँ खेलेकाले पनि त्यसो गर्छन्। कहिल्यै नखेलेकोले त केही दिन काममा नै नगएर खेलिरहेको हुन्छ। अरु खेलमा पनि खेलअघि ‘वार्मअप’ गरिन्छ,’ ओलीले भने, ‘त्यसैले पार्टीमा पनि केही समय ‘वार्मअप’ गर्नुपर्ने हुनसक्छ। कतिपय सन्दर्भमा हामीले पार्टी बनाउँदा अन्त गएको पनि भन्लान । यसमा कुन नयाँ पुरानो भन्ने मनोविज्ञानबाट मुक्त भएर अघि बढ्नुपर्छ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .