राजनीति


कोसीमा हारले कांग्रेससँग माओवादी रुष्ट, सहयात्राको समीक्षा गर्न प्रचण्डलाई दबाब

कोसीमा हारले कांग्रेससँग माओवादी रुष्ट, सहयात्राको समीक्षा गर्न प्रचण्डलाई दबाब

फाइल तस्बिर


सागर न्यौपाने
माघ १२, २०८० शुक्रबार २३:४८, काठमाडौँ

राष्ट्रिय सभा चुनावमा आफ्ना उम्मेदवार पराजित भएपछि नेकपा माओवादी केन्द्र नेपाली कांग्रेससँग असन्तुष्ट बनेको छ। 

कांग्रेसको एउटा समूहले योजनबद्ध आफ्ना उम्मेदवार हराएको भन्दै माओवादी नेताले यसलाई सामान्य रूपमा नलिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्। 

यसबारे कांग्रेसको संस्थागत धारणा सार्वजनिक हुनुपर्ने माओवादीको माग छ। 

बिहीबार सम्पन्न राष्ट्रिय सभा चुनावमा कोसी प्रदेश महिलातर्फ माओवादी उम्मेदवार चम्पादेवी कार्की एमालेकी रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन्।

सत्ता गठबन्धनसँग जित्ने पर्याप्त मत हुँदा हुँदै तीनजना प्रदेश सांसदको मत कार्कीले पाउन नसकेपछि हार्न पुगिन्। 

यसले माओवादी रुष्ट बनेको छ। कांग्रेसको एउटा समूहले धोका दिएको उसले आरोप लगाएको छ।

चम्पा पराजित भएलगत्तै माओवादी कोसी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बिहीबार नै कांग्रेससँगको सहकार्यबारे गम्भीर समीक्षा हुनुपर्ने बताएका छन्। 

नेताहरूको दबाबपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग यसविषयमा छलफल गर्ने भएका छन्।

आइतबारतिर कांग्रेसका शीर्ष नेता र माओवादीका नेताबीच छलफल हुँदैछ।

त्यसअघि माओवादीले कोसीका नेतासँग आन्तरिक छलफल गरेको छ। कोसीको नतिजाले माओवादीलाई निकै गम्भीर बनाएको  महासचिव देवप्रसाद गुरुङ बताउँछन्।

कांग्रेसले इमान्दारिता देखाउन नसकेकोमा उनले गुरूङले असन्तुष्टि जनाए।

उनले कांग्रेससँगको सत्ता यात्राको पनि समीक्षा गर्नुपर्ने अवस्थामा आफूहरू पुगेको बताए।

‘कांग्रेसभित्रको स्ट्रगल (संघर्ष) कता जान्छ त्यसमै भर पर्छ,’ गुरुङले नेपालखबरसँग भने, ‘कांग्रेसको आन्तरिक अन्तरविरोधको सिकार हामी पटक पटक भयौं। सधैँ यसैगरी रहने नहुन सक्छ।’

तर, यसबारे गठबन्धनमा समीक्षा गर्ने उनले बताए।

‘यही चुनावी परिणामको कारण राष्ट्रिय राजनीतिमा फेरबदल भइहाल्ने त नहोला तर, पटक पटक यस्तै घटना दोहोरिएको कुरा सामान्य होइन,’ गुरुङले थपे।  

माओवादी केन्द्रीय सदस्य एवम् कोसी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले कांग्रेससँगको सत्ता सहयात्रा पुनर्विचार गर्नुपर्ने ठाउँमा पुगेको बताए ।

‘कांग्रेसले माओवादीविरुद्ध संगठित रुपमा अभियान चलाइरहेको छ,’ आङ्बोले नेपालखबरसँग भने, ‘अब हामी कांग्रेसको संस्थागत धारणा पर्खिरहेका छौँ। यो सामान्य परिघटना हुँदै होइन।’

‘यदि संस्थापन पक्षले कोशी केसलाई सामान्य घटनाजस्तै लिए बाँकी सहयात्राबारे हाम्रो पार्टीले एउटा निर्णय गर्छ’ , उनलेे थपे।

कांग्रेस–माओवादी सत्ता यात्रा सम्बन्धमा खटपट ल्याउन चालिएको कदमका रूपमा उनले यसलाई लिएका छन्।

‘यो कांग्रेसले माओवादीमाथि गरेको अन्तर्घातको निरन्तरता हो। यसमा बेइमान कांग्रेस हो,’ आङ्बोले भने, ‘हाम्रो पार्टी कांग्रेसको यो प्रवृत्तिले स्तब्ध छ। अब यसबारे संस्थागत निर्णय कुरिरहेका छौँ।’ 

यसैबीच मत क्रस गर्नेलाई कोसी प्रदेशमा गठबन्धनका नेताले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी कारबाही गर्ने घोषणा गरेका छन्।

‘गठबन्धनको निर्णयविपरीत मतदान गर्ने गठबन्धनका प्रदेश सांसद तथा जनप्रतिनिधिलाई यथाशिघ्र छानबिन गरी अनुशासनको दायरामा ल्याउन प्रतिवद्ध छौँ,’ कोसी प्रदेशमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समावादी पार्टीका शीर्ष नेताले निकालेको विज्ञप्तिमा उल्लेख छ।

कोसी प्रदेशको राजनीतिले फेरि एकपटक केन्द्रमा हलचल पैदा गरेको नेताहरु बताउँछन्।

माओवादीका नेताहरूले यसलाई गम्भीर रुपमा लिएको बताएकाले अब बस्ने गठबन्धनको बैठकमा समीक्षासहित धारणा सार्वजनिक गर्ने तयारी छ।

कोसीमा उत्पन्न राजनीतिको कोर्सले केन्द्रीय राजनीतिलाई नयाँ ठाउँमा पुर्याउन सक्ने देखिन्छ।

किनभने राष्ट्रिय सभाको चुनावमा माओवादी पहिलो दल बनेको छ।

कांग्रेसका कृष्णप्रसाद सिटौला राष्ट्रिय सभाको  अध्यक्ष बन्न चाहिरहेका छन्। माओवादीले खुलेर समर्थन नगर्दा सिटौला अध्यक्ष बन्न सम्भव छैन। 

कांग्रेसको शेखर समूहले धोका दिएकै कारण आफ्ना उम्मेदवार पराजित हुनु परेकोले सह्य नहुने आङ्बो बताउँछन्।

यसअघि मुख्यमन्त्री बन्न खोजेका उनी शेखर पक्षका सांसदकै कारण रोकिनुपरेको थियो।

शेखर पक्षीय नेता केदार कार्की एमालेकै कारण मुख्यमन्त्री बनेका थिए। कार्कीले एमालेलाई माओवादी उम्मेदवार हराएर गुन तिरेको चर्चा छ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार राष्ट्रिय सभा चुनावबारे गठबन्धन दलले आन्तरिक रिर्पोटिङ लिएपछि गठबन्धनको बैठक बस्ने बताए।

‘आफ्ना आफ्ना पार्टीमा समीक्षा हुन्छ अनि गठबन्धन बैठक बस्छ,’ आचार्यले भने, ‘कोशी राजनीतिले गठबन्धनलाई नयाँ शिक्षा दिएको छ।’

माओवादी उम्मेदवारलाई मधेस, बागमती, गण्डकी र सुदुरपश्चिममा पनि गठबन्धनबाट पर्याप्त मत नखसेको नेताहरु बताउँछन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .