प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीपरिषद् बैठकका बेला दिने गरिएको महँगो खाजा कटौती गरेका छन्।
सोमबारदेखि लागू हुनेगरी मन्त्रिपरिषद्मा बाँडिने खाजा कटौती गरिएको हो। हरेक पटक मन्त्रीपरिषद बैठक बसेको बेला महँगो खाजा बाँड्ने गरिएको थियो।
‘क्याबिनेट बैठकको खाजा काटियो, अब लामो बैठक बस्नु परे चिया बिस्कुट मात्र दिने प्रधानमन्त्रीको निर्देशन छ,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले नेपालखबरसँग भन्यो।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा खाजामै ६० लाख खर्च हुने गरेको छ। महिनामा कम्तीमा ८ पटक क्याबिनेट बैठक बस्छ भने वर्षमा कम्तीमा सय पटक बस्छ जसमा महँगो खालको खाजा दिने गरिएको थियो।
‘मितव्ययियाताको सुरुवात प्रधानमन्त्री कार्यालयबाटै भएको छ, अन्य बैठकमा भन्दा क्याबिनेटमा राम्रै खाजा दिइन्थ्यो, अब त्यो कटौती भयो,’ स्रोतले भन्यो।
यसअघि प्रधानमन्त्री कार्यालयमा कार्यरत ६८ जना कर्मचारीको दरबन्दी कटौती गरिएको थियो।
Shares
प्रतिक्रिया