राजनीति


महेश बस्नेत र दुर्गा प्रसाईंलाई माइतीघरमा कार्यक्रम गर्न नदिइने

महेश बस्नेत र दुर्गा प्रसाईंलाई माइतीघरमा कार्यक्रम गर्न नदिइने

नेपालखबर
मंसिर ४, २०८० सोमबार १२:२८, काठमाडौँ

नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलमा कार्यक्रम गर्न नपाउने भएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए।

पछिल्लो समय खुलमखुल्ला एकअर्कालाई चुनौती दिँदै आएका प्रसाईं र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले सुरक्षा व्यवस्थाका लागि भन्दै मण्डलमा कार्यक्रम गर्न उनीहरूलाई रोक लगाउने भएको हो।

जिल्ला प्रशासन कार्यालयले सोमबार नै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। छलफलमा आएमा छुट्टाछुट्टै स्थान तोकिदिने तर माइतीघर मण्डलमा कार्यक्रम गर्न भने नदिने आचार्यले बताए।

‘त्यहाँ नजिकै अदालतहरू छन्। अस्पतालहरू छन्। बिरामी बोकेका एम्बुलेन्स ओहोरदोहोर गरिरहने स्थान हो। यसलाई प्रभावित हुनेगरी त्यो क्षेत्रमा कसैलाई पनि कार्यक्रम गर्न दिँदैनौँ। सम्पर्कमा आउनुभयो भने छुट्टाछुट्टै स्थान तोकिदिन्छौं’, आचार्यले नेपालखबरसँग भने, ‘यदि छलफलमा नआई कानुनविपरीतका काम भए कारबाही हुन्छ।’

युवा संघले सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन र प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भन्दै माइतीघरमै कार्यक्रम गर्ने तयारी गरेका छन्।

प्रसाईंले कम्बोडियामा लगानी छ भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले प्रसाईंसँग रुष्ट छ। प्रसाईंलाई काठमाडौँमा एक कार्यक्रममा मोसो समेत दलिएको थियो। आफूलाई एमाले नेता महेश बस्नेतको योजना मोसो दलिएको प्रसाईंको आरोप छ।

यस्तै, महेश बस्नेत कार्यक्रमका लागि झापा जाँदा अवरोध गरिएको थियो। बस्नेतले आफूलाई प्रसाईंको समूहले अवरोध गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .