ad ad

राजनीति


बर्नी स्यान्डर्सलाई अमेरिकी राष्ट्रपति बनाउने अभियानमा जुटेकी ‘काठमान्डू गर्ल’

बर्नी स्यान्डर्सलाई अमेरिकी राष्ट्रपति बनाउने अभियानमा जुटेकी ‘काठमान्डू गर्ल’

जुलिया टेरुसो
माघ १७, २०७६ शुक्रबार ९:१०,

सुस्मिक लामा सन् २००७ मा साउथ फिलाडेल्फिया पुगिन्। फर्नेस हाइस्कुल र पछि कलेजमा उनी एक मात्र नेपाली विद्यार्थी थिइन्। उनको परिवारले घरबहाल, कलेजको ट्युसन शुल्क, र अपर्झट आइपर्ने स्वास्थोपचारको बिल तिर्न संघर्ष गरिरहेको थियो। सुस्मिक भने छिटै नै त्यो ठाउँलाई आफ्नै घरजस्तै ठान्न थालेकी थिइन्।

विस्तारै उनको अमेरिकी सपना साकार हुँदैथियो। अहिले फर्केर हेर्दा त्यो वातावरणका कारण एकप्रकारको राजनीतिक सोच उनमा विकसित हुँदै गरेकाे उनी बताउँछिन्।

अहिले २८ वर्षमा टेकेकी सुस्मिक बर्नी स्यान्डर्सको जारी राष्ट्रपति चुनावी अभियानमा फिल्ड आयोजकको रुपमा चुनावी मैदानमै खटिन हालै न्यु ह्याम्पसायर पुगेकी छिन्।

सो राज्यमा नेपालबाट आएका भुटानी शरणार्थी ठूलो संख्यामा छन्। अहिले उनको मुख्य काम हो, नेपाली तथा भुटानी र अन्य अप्रवासी तथा शरणार्थी समुदायहरुबीच पुगेर चुनावी अभियान तीव्र पार्नु। बुबाआमाले पनि त्यहाँ कामको अवसर पाएपछि उनको परिवार नै सोही राज्यमा आइपुगेको छ। उनका अभिभावक पनि अहिले स्यान्डर्सकै लागि स्वयंसेवकको रुपमा खटिने गरेका छन्।

‘अध्ययनका लागि मेरा साथीहरु यहाँ आएका छन्... यहाँ घरेलु कामदारको रुपमा काम गर्ने साथीहरुलाई म चिन्छु, त्यस्तै भिसाका लागि संघर्ष गरिरहेकाहरुको पीडा मलाई थाहा छ,’ उनले भनिन्, ‘तीसम्बन्धी योजना बनाउँदा म त्यस्ता व्यक्तिहरुको अनुहार नै सम्झन सक्छु।’

आप्रवासी  र शरणार्थीहरुको बारेमा सार्वजनिक सर्वे भएजस्तो लाग्दैन, तर न्यु ह्याम्पसायर र अन्यत्र पनि स्यान्डर्सलाई उनीहरुको बलियो समर्थन छ। भुटानी, रोहिन्ज्या र कंगोली समुदायका केही नेताहरुले गएको अगस्टमा स्यान्डर्सलाई समर्थन जनाएका थिए। ‘नेपाल फर स्यान्डर्स’, ‘भुटनिज फर बर्नी स्यान्डर्स’ जस्ता थुपैै फेसबुक समूह सक्रिय छन्। अरु डेमोक्रेटिक उमेदवारका पक्षमा यस्ता समूह सक्रिय भएका छैनन्। 

सिरियाली शरणार्थीलाई अमेरिकाले जस्तो व्यवहार गर्‍यो त्यसको स्यान्डर्स कडा आलोचक हुन् र उनी अप्रवासीप्रति सबैभन्दा बढी उदार विचार राख्ने नेता मानिन्छन्। उनी प्रायः आफ्नो परिवार युरोपदेखि कसरी बसाईं सरेर आएको थियो र उनीहरु कस्तो आर्थिक संकटबाट गुज्रेका थिए भन्ने प्रसंगह उल्लेख गरिरहन्छन् र त्यसले अप्रवासीहरुको मन छुने गरेको छ।

म्यान्चेस्टर अफिसको अभियानमा जोडिएकी सुस्मिकले अप्रवासी र शरणार्थीबारे स्यान्डर्सका नीतिहरुले ती समुदायलाई पहिलेभन्दा बढी आकर्षित गरेको र चुनावी अभियानमा सहभागी हुन उत्साहित बनाएको बताउँछिन्।

Susmik 2बुवाआमासँग सुस्मिक

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन र स्वास्थ्य सेवाको पहुँचमा बढ्दो अभावले राजनीतिप्रति रुची जगाएको उनी बताउँछिन्। उनी अभियानमा जोडिएपछि उनको परिवार पनि सहभागी हुन थाले। उनका बुबाले अमेरिकी नागरिक भएदेखि नै डेमोक्रेटिकलाई नै भोट दिँदै आए पनि यसअघि अभियानमै चाहिँ सहभागी भएका थिएनन्। उनकी आमाले बनाउने मःमः चाहिँ अहिले अभियानका क्रममा रोजाइको खाजा बनेको छ।

‘उनले गरिबलाई माथि उठाउने प्रयास गरेका छन् जुन कुरा मेरा लागि धेरै महत्वपूर्ण छ,’ सुस्मिकका बुबा कल्याण लामा भन्छन्, ‘मेरो त यो दोस्रो भाषा हो, यी सबैकुरा कसरी भन्ने मलाई त्यति थाहा छैन तर जब उनी बोल्छन्, उनको कुराले मेरो मनै छुन्छ।’

अमेरिकामा २ लाखभन्दा बढी नेपाली बस्छन्। तीमध्ये सबैभन्दा धेरै टेक्सास, त्यसपछि न्युयोर्क र क्यालिफोर्नियामा छन्। अमेरिकामा करिब ९६ हजार भुटानी रहेको अनुमान छ। तीमध्ये अधिकांश नेपालमा रहेका राष्ट्रसंघीय शरणार्थी शिविरबाट आएका हुन्। भुटानले १ लाखभन्दा बढी नेपालीभाषीलाई सन् १९९० को दशकमा देशबाट लखेटेपछि नेपाल पुगेका थिए। ती अहिले न्यु ह्याम्पसायर, ओहायो र पेनसिल्भानियामा बस्छन्।

सन् २००२ देखि २०१५ सम्म पेनसिल्भानियामा आएका अप्रवासीहरुको स्रोत मुलुकहरु मध्येको चौथो ठूलो भुटान थियो। त्यसलाई २०१६ मा सिरिया र २०१७ मा कंगोले उछिनेको थियो।

Bernie 111

सुरज बुढाथोकी भुटानी शरणार्थी हुन्। उनी पनि म्यानचेस्टरमा स्यान्डर्सको अभियानमा काम गर्छन्। भुटान सरकारले ९ वर्षको उमेरमा शरणार्थी बनाएका उनले १९ वर्ष नेपालका शिविरमा बिताएका थिए।

उनी अमेरिका आउँदा अमेरिकाबारे एउटा धारणा थियो- ‘सबैकुराले भरिपूर्ण ठाउँ, अवसरै अवसरको मुलुक,’ उनले भने, ‘गरिबी छैन, वासस्थानविहीन कोही छैन र कुनै भेदभाव छैन।’

पहिलो जागिर उनले एउटा पसलमा सुरु गरे जहाँ उनले प्रतिघन्टा ७ डलर पाउँथे। तुरुन्तै दोस्रो काम खोजे।

‘यथार्थ भने मैले निकै फरक पाएँ,’ बुढाथोकीले भने।

उनले अंग्रेजी कक्षा लिन थाले र साउदर्न न्यू ह्याम्सायर युनिभर्सिटीबाट डिग्री हासिल गरे। भुटानी शरणार्थीका लागि एउटा संस्था बनाए। त्यसले सबै अप्रवासी र शरणार्थी समुदायमा काम गर्न थालेको छ।

उनका अनुसार थुप्रै भुटानी शरणार्थीहरुले राजाको शासन वा शिविरमा खुम्चिएका कारण लोकतान्त्रिक प्रक्रियामा भाग लिनै पाएका थिएनन्।

स्यान्डर्सको शरणार्थी र अप्रवासीसम्बन्धी नीति जस्तै उनको सबैका लागि स्वास्थ्य भन्ने नीति पनि सुस्मिकका लागि महत्वपूर्ण लाग्छ। सुस्मिकले हानेमन युनिभर्सिटी हस्पिटल र ड्रेक्सेल युनिभर्सिटीमा दुई वर्ष अध्ययन गरेकी थिइन्। सो क्रममा उनले फिलाडेल्फियाका कम आय भएका बिरामीहरुका लागि काम गरिन् जतिबेला उनले कम आय भएका धेरै मानिससँग स्वास्थ्य बिमा नै नभएको वा बिमाले पर्याप्त नसमेटेको थाहा पाइन्।

त्यहीबेला उनी आफैँलाई पनि स्वास्थ्य समस्याहरु आइपरे। कहिले रगतमा ‘रेडसेल’ को अभाव हुने एनेमिया त कहिले दाँतको समस्या आइपर्‍यो। थेरापी गर्न निकै महंगो पर्ने र बिमाले ती बिल नतिर्ने हुँदा आइपर्ने समस्या उनले राम्रोसँग बुझिन्।

‘यो फिलाडेल्फियाको एउटा मुख्य समस्या हो र मलाई राम्रोसँग थाहा छ कि यो सबैतिरको समस्या हो,’ उनले भनिन्।

न्यु ह्याम्सायरमा स्यान्डर्स झन्डै चार प्रतिशत मतले अगाडी रहेको सर्वेहरुले देखाएका छन्।

लामाले उनी कार्यरत अफिसलाई अन्य फिल्ड अफिसहरुसँग भिडियो कन्फ्रेन्समार्फत् नेतृत्व गरेकी थिइन्। अफिस सुरु गर्दा स्यान्डर्सको एउटा भनाइबाट सुरु गरिएको थियो, ‘के तपाईं कुनै अपरिचित व्यक्तिका लागि पनि आफ्नै लागि जत्तिकै संघर्ष गर्न तयार हुनुहुन्छ?’

उनी फेरि त्यही मेडिकल स्कुलमा फर्केर मुटुको डाक्टर बन्न चाहन्छिन्। उनको परिवारको इटालियन मार्केट नजिकैको घर अहिले पनि छ।

‘फिलाडेल्फिया मेरो घर हो,’ सुस्मिकले भनिन्, ‘म काठमाडौंमा जन्मेँ, काठमाडौंमै हुर्कें र म ‘काठमान्डु गर्ल’ थिएँ। जब म फिली आएँ। अहिले मेरालागि फिली नै काठमाडौं भएको छ।’

- द फिलाडेल्फिया इन्क्वायररबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .