ad ad

राजनीति


जाजरकोट भूकम्प : गृह मन्त्रालयमा आकस्मिक बैठक

सुरक्षा संयन्त्र रातिदेखि नै भूकम्प स्थलमा, उद्धार उपचारमा कमी हुन नदिन गृहमन्त्री श्रेष्ठको निर्देशन
जाजरकोट भूकम्प : गृह मन्त्रालयमा आकस्मिक बैठक

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १०:४८, काठमाडौँ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भूकम्पपीडितको उद्धार, उपचार र राहतबारे आवश्यक निर्णय लिन आकस्मिक बैठक सुरु भएको छ।

बिहान १० बजे गृह मन्त्रालयमा सुरु बैठकमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, भौतिक योजना मन्त्रालय, संघीय मामिला मन्त्रालय, नेपाली सेना र मातहतका सुरक्षा तथा उद्धार निकायको प्रतिनिधित्व छ।

शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र पश्चिम रुकुमका कतिपय ठाउँमा अकल्पनीय मानवीय र भौतिक क्षति भएपछि सुरक्षा संयन्त्रहरू रातिदेखि नै उद्धारमा जुटेका छन्।

गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत प्रारम्भिक राहत सामाग्री पठाइसकेको प्रवक्ता नारायण भट्टराईले बताए।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जाजरकोट, पश्चिम रुकुम, पूर्व रुकुम, रोल्पा, सुर्खेत, बाँके र दाङका टोलीहरू उद्धारमा खटिएका छन्।

ती जिल्लाका मेडिकल टिमहरू समेत घटनास्थलमा पुगिसकेका छन्। सुरक्षा निकायको स्थानीय मेडिकल टिमका अतिरिक्त सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र सैनिक अस्पतालबाट गरी ११ जनाको मेडिकल टोली बिहानै स्काई ट्रकमार्फत घटनास्थलमा पुगिसकेको छ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उद्धार र उपचारमा कुनै कमी हुन नदिन निरन्तर समन्वय गर्दै आवश्यक निर्देशन दिइरहेको र पछिल्लो अपडेटअनुसार जाजरकोटमा ९२ जनाको मृत्यु तथा ७० घाइते, पश्चिम रुकुममा ४० जनाको मृत्यु तथा ८५ जना घाइते भएको जानकारी नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रवक्ताले दिएका छन्।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायत र सशस्त्र प्रहरीका राजेन्द्र खड्काले भौतिक क्षतिको विवरण भने एकिन भइनसकेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .