राजनीति


माधव नेपालको पार्टीलाई पहिलोपटक एमालेको औपचारिक निमन्त्रणा

अध्यक्षसहित सांसद र मन्त्रीलाई पनि चियापानको पत्र
माधव नेपालको पार्टीलाई पहिलोपटक एमालेको औपचारिक निमन्त्रणा

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १७:४२, काठमाडौँ

नेकपा एमालेले पहिलोपटक माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई औपचारिक कार्यक्रममा निमन्त्रणा गरेको छ।

एमालेले भोलि (मंगलबार) दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। 

सो समारोहमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतलाई पत्र काटेर औपचारिक निमन्त्रणा गरिएको एमालेका एक नेताले नेपालखबरलाई जानकारी दिए।

पार्टी विभाजनपछि एमालेले पहिलोपटक एकीकृत समाजवादीलाई पार्टीको मान्यता दिँदै औपचारिक निमन्त्रणा गरेको हो। 

त्यस्तै, एकीकृत समाजवादीका सबै सांसदहरूलाई पनि चियापान समारोहमा निमन्त्रणा गरिएको छ।

एकीकृत समाजवादीका मन्त्रीहरूलाई पनि चियापानमा आमन्त्रण गरिएको छ। मन्त्रीहरूलाई मन्त्रीकै हैसियतमा निमन्त्रणा गरिएको एमालेका ती नेताले जानकारी दिए।

माधव नेपालले २०७८ भदौ ९ गते एमालेबाट विद्रोह गर्दै पार्टी विभाजन गरेका थिए। त्यसयता नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तिक्ततापूर्ण सम्बन्ध थियो। 

एमाले अध्यक्ष ओलीले त पटक पटक सार्वजनिक समारोहबाटै एकीकृत समाजवादीलाई पार्टी नै नभएको बताउँदै आएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .