ad ad

राजनीति


गुटेरेसको भ्रमणमा शान्ति प्रक्रियाको एजेण्डा प्राथमिकतामा पर्नुले शंका उब्जायो : प्रा.डा. केसी

गुटेरेसको भ्रमणमा शान्ति प्रक्रियाको एजेण्डा प्राथमिकतामा पर्नुले शंका उब्जायो : प्रा.डा. केसी

नेपालखबर
कात्तिक १३, २०८० सोमबार १४:४१, काठमाडौँ

अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषय मात्रै प्राथमिकतामा पर्नुले शंका उब्जाएको बताएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्धका जानकार प्रा.डा. खड्ग केसीले महासचिव गुटेरेसको नेपाल भ्रमणमा राष्ट्रिय स्वार्थभन्दा दलगत स्वार्थलाई प्राथमिकतामा राखिएको बताए।

भ्रमणलाई बहुपक्षीय र राष्ट्रिय स्वार्थमा काम लाग्नेगरी अगाडि सार्नुपर्ने भए पनि त्यसो हुन नसकेको डा. केसी बताउँछन्।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय नेपालको आन्तरिक मामिला भएको भन्दै यसका लागि अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न नपर्ने केसीको कथन छ।

उनी घरभित्रको मामिलालाई अन्तर्राष्ट्रियकरण गर्दा नेपाललाई फाइदा नहुने बताउँछन्।  संक्रमणकालीन न्याय टुंग्याउने विषय अब संयुक्त राष्ट्रसंघको अधिकार क्षेत्रभित्र नपर्ने उनको तर्क छ।

केसी भन्छन्,‘शान्ति प्रक्रिया हाम्रो आन्तरिक कुरा हो। हामीले अनमिनलाई बोलायौँ। अनमिनले नसकेर हामी आफैँले गरेको हो।’

यदि राजनीतिक नेतृत्वलाई आफूहरूलाई इन्फ्युन्स् गर्नका लागि संयुक्त राष्ट्रसंघको महासचिवलाई गुहारियो भन्ने महसूस भयो भने शान्ति प्रक्रिया झन् गिजोलिने डा. केसी बताउँछन्।

राष्ट्रसंघको महासचिवले आएर राजनीतिक नेतृत्वलाई तपाईंहरूले यसरी यसरी टीआरसी टुंग्याउनुहोस् भने भन्न नमिल्ने उनको तर्क छ।

संयुक्त राष्ट्रसंघका महासचिव यसरी बोल्ने गरेको नसुनिएको पनि उनले बताए। यदि बोलिदेओस् भन्ने अपेक्षा राखियो भने त्यसले शान्ति प्रक्रिया झन् गिजालिने केसी बताउँछन्।

घरभित्रको मामिला सुल्झाउन घरभित्रै सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए। महासचिव गुटेरेसको भ्रमणमा यस्तो एजेण्डा पस्किने कुरा रणनीतिक रूपमा शंका गर्ने ठाउँ रहेको डा. केसी बताउँछन्।
अन्तर्राष्ट्रिय सम्बन्धमा जानकार केसीले महासचिव गुटेरेसको नेपाल भ्रमणमा तयारी अपुग भएको टिप्पणी समेत गरे।

नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा दिएको योगदानको सम्बन्धमा कुराकानी हुनुपर्नेमा त्यस्तो हुन नसकेको उनको भनाइ छ।

यस भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो एकल एजेण्डालाई प्रस्तुत गरेको उनले बताए।

‘कुनै निश्चित उद्देश्यका लागि हाम्रा कुटनीतिज्ञ, राजनीतिक नेतृत्वले हतारमा गरेको तयारी जस्तो अनुभूत भइरहेको छ,’ डा. केसी भन्छन्, ‘प्रधानमन्त्रीको एकल एजेण्डालाई अलि बढी प्रभाव पार्ने हिसाबले प्रस्तुत गरिएको देखियो। हाम्रो कुटनीतिक संयन्त्रले पनि त्यसैमा काम गर्‍यो होला। राजनीतिक नेतृत्वले जस्तो निर्देशन दियो त्यस्तै काम गर्‍यो होला।’

प्रा.डा. केसीले यस भ्रमणका क्रममा भूपरिवेष्ठित राष्ट्रले पाउनुपर्ने सामुन्द्रिक हकको सम्बन्धमा कुरा उठाउनुपर्नेमा जोड दिए।

नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गरे पनि नेपाली सेनालाई नेतृत्वदायी भूमिका नदिइएकोप्रति पनि नेपाली पक्षले कुरा उठाउनुपर्ने उनले बताए।

त्यसैगरी नेपालको सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनसम्बन्धी अध्ययन केन्द्र बनाउनुपर्ने विषयलाई नेपालले प्रस्तावको रूपमा राख्न सकेमा विश्वव्यापी सन्देश जाने धारणा उनको छ।

प्रा.डा. केसी भन्छन्, ‘सगरमाथाको छेउछाउमा विश्वलाई नै सन्देश दिने खालको एउटा केन्द्र बनाऔँ भनेर नेपालले प्रस्ताव गरेको भए यो भ्रमणको विश्वव्यापी रूपमा फरक ढंगको सन्देश जान सक्थ्यो। त्यो कुरा आझेलमै छ।’

नेपालका लागि संयुक्त राष्ट्रसंघ महत्वपूर्ण संस्था रहेको उल्लेख गर्दै डा. केसीले महासचिव गुटेरेसको नेपाल भ्रमणलाई अत्यन्त महत्वका साथ हेर्नुपर्ने बताए।

महासचिवको भ्रमणमा शंका गर्ने ठाउँहरू रहे पनि उनलाई गर्नुपर्ने सम्मानमा भने कुनै कमी हुन दिनु नहुने प्रा.डा. केसीले बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .