ad ad

राजनीति


गुटेरेससँग सभामुखले भने– संक्रमणकालीन न्यायसम्बन्धी ऐन छिट्टै निर्माण गर्छौं

गुटेरेससँग सभामुखले भने– संक्रमणकालीन न्यायसम्बन्धी ऐन छिट्टै निर्माण गर्छौं

नेपालखबर
कात्तिक १२, २०८० आइतबार १७:२१, काठमाडौँ

सभामुख देवराज घिमिरेले छिट्टै संक्रमणकालीन न्याय सम्बन्धि विषयलाई निश्कर्षमा पुर्‍याउने बताएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेससँग सिंहदरबारमा आइतबार भएको भेटवार्ताका क्रममा सभामुख घिमिरेले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानवीन आयोगमार्फत तार्किक निश्कर्षमा पुर्‍याउने जानकारी गराए।

‘दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको छ,’ सभामुखले भने, ‘आशा छ हामी निकट समयमा नै ऐन निर्माण गर्नेछौं।’

उनले विधेयकमा उल्लेख गरिएका विषयबारे गुटेरेसलाई ब्रिफिङ गरे।

‘नेपालको संक्रमणकालीन न्याय प्रकिया सन् २००६ मा सरकार र तत्कालिन विद्रोही पक्षवीच सम्पन्न भएको विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतको निर्देशनहरु, सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिवद्वता, पीडित पक्षहरुका चासो एवम् धरातलीय वस्तुस्थितिबाट निर्देशित छ,’ घिमिरेले थपे।

‘नेपालले सफलतापूर्वक आफ्नो मौलिक, राष्ट्रिय अपनत्वसहित तथा आफैंले नेतृत्व गरी शान्ति प्रकिया निष्कर्षमा पु¥याएको स्मरण गर्दछु। नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रसंघीय मिसन (अनमिन)को मध्यस्थताले ठूलो सहयोग गरेको थियो।’ 

नेपाल भगवान गौतम बुद्धको देश भन्दै उनले नेपाली शान्तिप्रिय रहेको र नेपालले शान्ति प्रक्रियामा प्राप्त गरेको उपलब्धी विश्वका लागि नै मोडेल बन्न सक्ने विश्वास लिएको बताए।

सभामुख घिमिरेले भने, ‘विश्वका कतिपय देशहरुमा देखिएका अशान्ति र द्वन्द्वको निरुपणका लागि पनि यहाँका विशिष्टिकृत प्रयासहरु उदाहरण बन्न सक्छ।’

महासचिव गुटेरेसले नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पु¥याउन राष्ट्रसंघ आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए। ‘संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्छ भन्ने विश्वास व्यक्त गर्दछु,’ गुटेरेसले भने।

त्यसअघि आइतबार नै गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरिसकेका छन्।
गुटेरेस प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आइतबार विहान आएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .