राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा आफ्नो पार्टीले सबै पुराना राजनीतिक दलहरुलाई पराजित गर्ने दाबी गरेका छन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ को निर्वाचनमा कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका सबै पुराना दललाई पछि पार्ने बताएका हुन्।
‘नयाँ दलका रुपमा हाम्रा २१ जना सांसद सदनमा आउँदासमेत कुनै पनि राजनीतिक दलले जनताको लागि काम गरेनन्,’ उनले भने, ‘दिन दहाडै नागरिकको हत्या गर्नेलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्नसक्छौँ गर? भन्ने चुनौती उनीहरुले दिएका छन्। आउने चुनावमा हामी कुनै पनि पुराना दललाई एक सिट पनि जित्न दिने छैनौँ।’
दिनदहाडै मान्छे काट्नेलाई संविधान दिवसका दिनमा मुक्ति दिएर सरकारले आफूहरुलाई चुनौती दिएको उनले बताए।
‘यस्ता कैयौँ बेथितिका चुनौतीहरु पुराना दलले सिर्जना गरेका छन्। भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छन्,’ उनले भने, ‘तपाईहरुको आवाज त्यति सुनिएन भनेर कहिलेकाहीँ केहीले भन्ने गर्नुहुन्छ। चर्को बोल्नुपर्छ भन्नुहुन्छ। के मा दिने, कति दरो बोल्ने, के भन्ने? अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ मा एकैपटक बाइबाइ गर्ने, एउटा सिट पनि नदिने। एक सिट पनि नदिने हो।’
Shares
प्रतिक्रिया