राजनीति


दलाई लामाको उत्तराधिकारी चयनबारे अमेरिकाले ल्यायो विधेयक

दलाई लामाको उत्तराधिकारी चयनबारे अमेरिकाले ल्यायो विधेयक

नेपालखबर
माघ १५, २०७६ बुधबार ६:५७,

दलाई लामाको उत्तराधिकारी चयन र तिब्बतको मानवअधिकार सम्बन्धी विधेयक अमेरिकी तल्लो सदनमा भारी मतले पारित भएको छ। यो विधेयक तिब्बती नागरिकको मानव अधिकार, धार्मिक स्वतन्त्रता र तिब्बतको अर्थपूर्ण स्वायत्तताको पक्षमा भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्।

चीनमा ‘सीमान्तकृत समुदायमाथि दमन भएको’ दावी गर्दै अमेरिकाले ‘तिब्बत पोलिसी एन्ड सपोर्ट एक्ट २००२’ लाई संशोधन गर्न नयाँ विधेयक ल्याएको हो।

मंगलबार भएको मतदानमा यस विधेयकको पक्षमा ३ सय ९२ मत र विपक्षमा २२ मत आएको थियो।

अमेरिकी तल्लो सदनले पास गरेको यस विधेयकमा निर्वासनमा रहेका बौद्ध धार्मिक नेता दलाई लामाको उत्तराधिकारी चयनको विषयमा रहेको जनाइएको छ।

दलाई लामाको उमेर र स्वास्थ्यका कारण पछिल्लो समय उनको उत्तराधिकारी को हुने भन्ने विवाद देखिएको छ। चीनले तिब्बती बौद्ध परम्परा र नियम अनुसार चीनको स्वाशासित प्रदेश तिब्बतभित्रबाट दलाई लामाको उत्तराधिकारी चयन गरिने बताउँदै आएको छ। अर्कातिर दलाई लामा लगायत निर्वासित तिब्बती समुदायले तिब्बतबाहिर जुनसुकै ठाउँबाट उत्तराधिकारी छान्न सकिने बताउँदै आएका छन्।

अमेरिकाले दलाई लामाको उत्तराधिकारी छनोट निर्वासित तिब्बती समुदायको अधिकारी रहेको बताउँदै आएको छ। अमेरिकाले पारित गरेको विधेयकमा दलाई लामाको उत्तारधिकारी चयनमा दबाब पुर्‍याउन खोज्ने चिनियाँ अधिकारीमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने उल्लेख छ।

विधेयकमा तिब्बतको राजधानी ल्हासामा अमेरिकी वाणिज्य दूतावास स्थापनाका लागि बेइजिङले अनुमति नदिएसम्म अमेरिकामा थप चिनियाँ वाणिज्य दूतावास स्थापनाका लागि अनुमति नदिइने उल्लेख छ।

‘अमेरिका ल्हासामा आफ्नो कुटनीतिक उपस्थिति बनाएर तिब्बतको राजनीतिक, आर्थिक र सांस्कृतिक विकास नियाल्न चाहन्छ’, सीएनएनले भनेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad