ad ad

राजनीति


समाजवादीको केन्द्रीय सदस्य छाडेका डिल्ली उप्रेतीलाई एमालेले प्रदेश कमिटीमा पनि राखेन

समाजवादीको केन्द्रीय सदस्य छाडेका डिल्ली उप्रेतीलाई एमालेले प्रदेश कमिटीमा पनि राखेन

फाइल तस्बिर


नेपालखबर
असोज २८, २०८० आइतबार ११:३, सर्लाही

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य छाडेर नेकपा (एमाले) प्रवेश गरेका सर्लाहीका प्रभावशाली नेता डिल्ली उप्रेती एमालेको मधेश प्रदेश कमिटी सदस्यमा समेटिन सकेनन्।

जनकपुरमा हालै सम्पन्न एमाले मधेश प्रदेश अधिवेशनबाट २ सय ३५ सदस्यी कमिटी निर्माण भएको छ। जसमा सर्लाहीबाट एमालेका २७ जना चयन हुँदा उप्रेती छुटेका हुन्। 

‘अरु साथीहरुलाई समेट्नुपर्दा तपाईंलाई प्रदेश कमिटीमा समावेश गर्न सकिएन भन्ने कुरा साथीहरुले गर्नुभएको छ,’ उप्रेतीले नेपालखबरसँग भने, ‘म मात्रै होइन, अरुपनि केही सिनियर साथी प्रदेश कमिटीमा पर्नु भएको छैन। सायद हामीलाई उहाँहरुले पछि प्रदेश कमिटीमा मनोनित गर्नुहोला। मेरो अपेक्षा केन्द्रीय कमिटीमा हो। प्रदेश कमिटीमा नपरेकोमा मेरो धेरै ठूलो गुनासो पनि छैन।’

सर्लाहीको हरिवन गाविसको दुई कार्यकाल अध्यक्ष र यसअघि मधेश प्रदेश सभा सदस्यसमेत भइसकेका उप्रेती गएको साउन १५ गते माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेका थिए। त्यतिबेला एमाले अध्यक्ष केपी ओलीले उनलाई पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वास दिएका थिए। 

पार्टीले केन्द्रीय सदस्य बनाउनु त परैको कुरा अहिले उप्रेतीलाई मधेश प्रदेश कमिटीबाट पनि बाइपास गरिएको छ। त्यसप्रति उनी पक्षका कतिपय नेता कार्यकर्ताले असन्तुस्टि जनाएका छन्। 

केही समयअघि एमालेको मधेश प्रदेश कमिटीको बैठकले उप्रेतीलाई पार्टीको मधेश प्रदेश समिटी सदस्यमा मनोनित गरेको थियो। तर, महाधिवेशनबाट भने उनी एमालेको प्रदेश कमिटी सदस्यमा पर्न नसकेका हुन्।

‘एकीकृत समाजवादीको केन्द्रीय सदस्य छाड्नु अघि मलाई अध्यक्ष केपी ओली कमरेडले एमालेमा आए केन्द्रीय सदस्य बनाउने आश्वासन दिनुभएको थियो,’ उप्रेतीले भने, ‘मेरो अपेक्षा अहिले पनि केन्द्रीय सदस्यमै हो। त्यो आश्वास कहिले पूरा हुन्छ ठेगान छैन। यसप्रति मेरो चित्त बुझेको छैन। आफूलाई चित्त नबुझेको कुरा म महाधिवेशनमै उठाउने छु।’ 

एमाले नेतृत्वले तयार गरेको केन्द्रीय समदस्मा समेट्नुपर्ने २७ जना नेताहरुको लिस्टमा उप्रेतीको नाम पनि समावेश छ। ‘लिस्टमा नाम त त्यतिबेलैदेखि परेको हो। तर, केन्द्रीय सदस्य पद खाली नहुँदा म उता (एकीकृत समाजवादी)को केन्द्रीय सदस्य छाडेपनि यताको केन्द्रीय समितिमा परेको छैन,’ उनले भने। 

यी हुन् एमालेको मधेश प्रदेश कमिटी सदस्यमा सर्लाहीबाट समेटिएका २७ नेता

एमालेको समानुपातिक कोटाबाट संघीय सांसद बनेकी सरस्वती सुब्बा पनि पार्टीको मधेश प्रदेश कमिटी सदस्य बनेकी छन्। 

त्यसैगरी अन्जना शिवाकोटी, बिष्णु बहादुर थापा (राजु), बिश्वनाथ प्रसाद साह, रामबालक राय, माधब प्रसाद कोइराला, केशब प्रसाद ढकाल, सुशिल कुमार थपलिया, मनोजकुमार देवकोटा, राज कुमार उप्रेती, गोविन्द प्रसाद अधिकारी, प्रभु नारायण सिवाकोटी पनि प्रदेश कमिटी सदस्यमा समेटिएका छन्।

त्यस्तै सरिता घिसिङ लामा, यादव सरकार, सुरेश कुमार साह, मो.जुनैद रिजवी, शेष महबुब रेजा, अंगुरी खातुन, प्रकाश पाखिन, किशोर बराइली, रामनरेश मण्डल खत्वे, रेणु देवी पासवान, सदिछा चौहान, कल्याणी उप्रेती, तारादेवी सुवेदी पोखरेल, सुशिला देवी भण्डारी र पूर्णमाया मैनालीलाई पनि एमालेले सर्लाहीबाट प्रदेश कमिटी सदस्य बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .