ad ad

राजनीति


प्रदेश संरचना घाँडो भयो, खारेज गर्नुपर्छ : कमल थापा

प्रदेश संरचना घाँडो भयो, खारेज गर्नुपर्छ : कमल थापा

नेपालखबर
असोज २७, २०८० शनिबार १७:५२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन्।

संघीयता अन्तर्गत प्रदेश संरचना मुलुकका लागि घाँडो भएकाले त्यसलाई खारेज गर्नुपर्ने उनको तर्क थियो। पार्टीद्वारा शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने? भन्दै प्रश्न गरे।

‘यो बीचको प्रदेश संरचना आवश्यक छैन। यसलाई खारेज गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो प्रदेश संरचना अहिले नेपाललाई घाँडो भएको छ। नेपाली अर्थतन्त्रले धान्न नसक्ने अवस्था छ। कहिलेसम्म विदेशीका ऋण ल्याएर यो प्रदेशको संरचनालाई कायम गर्ने?,’ थापाले भने, ‘नेपाल जस्तो सानो देशमा किन सय भन्दा बढि मन्त्रीहरु चाहिन्छ भन्नु त? अहिले हरेक प्रदेशमा १०÷१२ जना मन्त्रीहरू छन्। किन झन्डै सय जना मन्त्रीहरू चाहियो? हाम्रो जस्तो सानो देशमा ५÷७ सयको संख्यामा किन सांसदहरू चाहियो? चाहिँदैन।’

नेपालजस्तो सानो देशका लागि सयभन्दा बढी मन्त्री र ५÷७ सयको संख्यामा सांसद आवश्यक नभएकाले त्यसलाई कटौती गर्नुपर्ने उनको प्रस्ताव छ। अध्यक्ष थापाले वर्तमान व्यवस्था भ्रष्ट भएको भन्दै त्यसमा सुधारका निम्ति तयार हुन प्रमुख राजनीतिक दलहरूलाई आग्रह समेत गरे।

‘अर्बौं रुपैयाँ खर्च गरेर ती सांसद र मन्त्रीहरुलाई पालेर राख्नुपर्ने जरुरी छैन। त्यसर्थ, दुई तहको सरकार बनाऔं भन्ने हाम्रो धारणा हो। त्यसैले म फेरी पनि यो आमसभाको माध्यामबाट कांग्रेस, एमाले र माओवादीका नेताहरुलाई भन्न चाहन्छु–हामीले कुनै अतिवादी कुरा गरेका छैनौं,’ उनले भने, ‘कुनै प्रतिगामी कुरा गरेका छैनौं। हामीले सबै नेपाली अटाउने व्यवस्था बनाऔं भनेको हो। के त्यो अपराध हो? सनातन धर्म, संस्कृतिको संरक्षण गरौं भन्नु अपराध हो? तसर्थ, वर्तमान भ्रष्ट व्यवस्थामा सुधारका निमित्त तयार हुन म सबै राजनीतिक दलका नेताहरुलाई आग्रह गर्न चाहन्छु। तर तपाईहरु अब चुप लागेर बस्नुभयो भने अब नेपाली जनता चुप लागेर बस्दैन।’

अध्यक्ष थापाले सनातन धर्मको संरक्षण गर्ने र वर्तमान भ्रष्ट व्यवस्था सुधारका लागि आफ्नो पार्टीले आन्दोलनको घोषणा गरेको जिकिर समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .