राजनीति


परराष्ट्रमन्त्री साउदको आग्रह– आधिकारिक निर्णयभन्दा बाहेक इजरायलको भ्रमण नगर्नू

परराष्ट्रमन्त्री साउदको आग्रह– आधिकारिक निर्णयभन्दा बाहेक इजरायलको भ्रमण नगर्नू

नेपालखबर
असोज २३, २०८० मंगलबार १४:३७, काठमाडौँ

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले द्वन्द्वरत मुलुक इजरायलको भ्रमण नगर्न आग्रह गरेका छन्।

मंगलबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी गराउँदै उनले राजनीतिक तहमा आधिकारिक निर्णयभन्दा बाहेक व्यक्तिगत वा पार्टीगत भ्रमण नगर्न आग्रह गरेका हुन्। 

मन्त्री साउदले १० जना नेपालीहरुको ज्यान जानेगरी इजरायलमा भएका सो दुखद् घटनाको संवेदनशीलतालाई राजनीतिक फाइदा वा बेफाइदाको रुपमा प्रयोग गर्ने काम कुनैपनि तहबाट नहुने विश्वास समेत व्यक्त गरे।

‘यसबीचमा विभिन्न तहमा राजनीतिक तहमा आधिकारिक निर्णयभन्दा बाहेक कुनै पनि दल, कुनै पनि सांसद वा कुनै पनि जिम्मेवार नागरिक समाज वा निकायहरुले यो परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राखेर व्यक्तिगत, पार्टीगत वा राजनीतिक रुपमा इजरायलको भ्रमण नगर्नका लागि पनि म आफ्नो तर्फबाट सुझाव दिन चाहन्छु। यो संवेदनशील घडीमा यसलाई राजनीतिक फाइदा वा बेफाइदाका रुपमा प्रयोग गर्ने उद्देश्यले कुनै पनि तहबाट त्यस्तो कदम उठाइने छैन भन्ने विश्वास पनि म व्यक्त गर्न चाहन्छु’, उनले भने।

इजरायलमा रहेका नेपालीहरुको समस्यालाई सम्बोधन गर्न सरकार पूर्ण रुपमा प्रतिवद्ध र गम्भीर भएर लागेको उल्लेख गर्दै उनले सो काममा संसदीय समिति र त्यसमा रहेका सांसदहरूको पनि सकारात्मक सहयोगको अपेक्षा आफूले गरेको बताए। 

‘यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरलाई समेत ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चार माध्याम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भुमिका निर्वाह गर्न सबैलाई आह्वान गर्ने। परराष्ट्र मन्त्रालयले इजरायल सरकार र नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गरी निधन भएका नेपालीहरूको शव नेपाल ल्याउन, जोखिम क्षेत्रमा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र नेपाल फर्कन चाहने विद्यार्थी र अन्य नेपालीहरुलाई नेपाल ल्याउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ,’ मन्त्री साउदले भने।

मन्त्री साउदले सो घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरलाई समेत ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरू सञ्चार माध्याम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भुमिका निर्वाह गर्न सबैलाई आह्वान गरे।

‘नेपालको हवाई जहाज तयार अवस्थामा राख्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई अनुरोध गरिसकिएको छ। परराष्ट्र मन्त्रालय नेपाल सरकारका यी निर्णयहरू कार्यान्वयन गरी इजरायलमा रहेका नेपालीहरुको समस्यालाई सम्बोधन गर्न पूर्ण रुपमा प्रतिवद्ध र गम्भीर भएर लागेको छ। साथै यस सम्मानित समिति र माननीयज्यूहरुको सकारात्मक सहयोगको अपेक्षा गरेको छु,’ उनले भने।

मन्त्री साउदले सो द्वन्द्वको चपेटामा परेका सबै नेपालीहरुको उद्धार गरिएको पनि समितिलाई जानकारी गराए। उनले इजरायलमा रहेका नेपालीहरुको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरुलाई सुरक्षित तवरले रहने प्रवन्ध गर्न, उद्धार तथा सहयोग गर्नका लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरण भइरहेको र त्यस काममा नेपाली राजदुतावासहरूलाई सक्रिय रुपमा परिचालन गरिएको पनि बताए।

‘यी मध्ये १० जनाको हमासको आक्रमणबाट दुखद् निधन भएको छ। २ जना सकुशल रहेका छन्। ४ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। र, १ जनासँग अहिले पनि सम्पर्क स्थापित हुन नसकेको छैन। इजरायलको दक्षिण क्षेत्रको तुलनात्मक रुपमा जोखिमयुक्त क्षेत्रमा बंकरभित्र आश्रय लिइराखेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जनालाई हिजो इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। साथै उत्तरी क्षेत्रमा रहेका, फार्म हाउसमा रहेका केही नेपालीहरूलाई पनि सुरक्षित तवरले बंकरमा रहने व्यवस्था मिलाइएको छ। अन्य जोखिममा रहेका नेपालीहरुलाई पनि सुरक्षित स्थानमा राख्नका लागि निरन्तर पहल गरिएको छ। इजरायलमा रहेका नेपालीहरूको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरूलाई सुरक्षित तवरले रहने प्रबन्ध गर्न, नेपालीहरूलाई सुरक्षित तवरले रहने प्रबन्ध गर्न, उद्धार तथा सहयोग गर्नका लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरण भइरहेको छ। साथै यी कार्यहरू गर्नका लागि नेपाली राजदुतावासहरुलाई सक्रिय रुपमा परिचालन गरिएको छ।’

सो द्वन्द्वमा परी १० जना नेपालीको निधन भएको छ भने ४ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको र १ जनासँग अहिले पनि सम्पर्क स्थापित हुन नसकेको सरकारले जनाएको छ।

मन्त्री साउदका अनुसार इजरायलको दक्षिण क्षेत्रको तुलनात्मक रुपमा जोखिमयुक्त क्षेत्रमा बंकर भित्र आश्रय लिइराखेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जनालाई हिजो (सोमवार) इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad