सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदमा पेश गरेको विद्युत विधेयक–२०८० लाई परिमार्जन गर्नुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा उनले नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत उपलब्धताको ग्यारेन्टी हुने गरी सरकारले सो विधेयक परिमार्जन गर्नुपर्ने बताएका हुन्।
‘यो विधेयकलाई परिमार्जन गर्न, समृद्ध बनाउन आवश्यक छ भन्ने म आग्रह गर्न चाहन्छु। यो विधेयकलाई सार्वजनिक क्षेत्रलाई अलि बढी महत्व दिएर निजी क्षेत्रलाई कमजोर आकलन गरेको हो कि भन्ने आशंका गरिएको छ। यसतर्फ हामीले गम्भिरतापूर्वक हेर्नुपर्ला,’ उनले भने, ‘सरकारी र निजी क्षेत्र दुवैलाई यो काममा संलग्न गराउनु पर्ला विद्युत् उत्पादनका लागि। यतातर्फ हेर्नुपर्ला भन्ने आग्रह गर्न चाहन्छु। दोस्रो विषय, विद्युतको सन्दर्भमा, यसको उत्पादनको सन्दर्भमा वैदेशिक लगानीलाई आकर्षण गर्न जरुरी छ।’
उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र वैदेशिक लगानी बढाउने काममा पनि सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याए।
‘साथसाथै आन्तरिक तथा निजी लगानी अहिलेसम्म जुन भएको छ। त्यसको सुरक्षाको पनि आवश्यक्ता छ। र, सम्भावनाहरुलाई पनि हामीले जोड दिन आवश्यक छ। अहिले हामीले जति विद्युत् उत्पादन गरिराखेका छौं। त्यसको पनि ठूलो हिस्सा निजी क्षेत्रले उत्पादन गरेको छ। र, अहिले जो निर्माणधिन योजनाहरू रहेका छन्। त्यसको पनि ठूलो क्षेत्र निजी क्षेत्रले ओगटेको छ। त्यसो हुनाले सरकारले पनि आफ्नोतर्फबाट उत्पादन र प्रशारणको काम गरोस्,’ उनले भने, ‘निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्दै लिएर जाओस् भन्ने नीति हामीले अवलम्वन गर्नुपर्छ भन्ने मलाइ लाग्छ। तेस्रो कुरा नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत उपलब्धताको ग्यारेन्टी सरकारले गर्न जरुरी छ। त्यसो भएको हुनाले यी विषयमा गम्भिरतापूर्वक ध्यानाकर्षण गर्न जरुरी छ। र, विधेयक राम्रो आएको छ। सरकारले राम्रो पहल, प्रयत्न गरेको छ। यसलाई थप परिमार्जन गर्नका निम्ति, समृद्ध बनाउनका निमित्त, यसलाई गम्भिरतापूर्वक छलफल गरेर, यसमा केही संशोधनहरु गरेर, परिमार्जन गरेर अघि बढनुपर्छ भन्ने आग्रह गर्न चाहन्छु।’
Shares

प्रतिक्रिया