ad ad

राजनीति


चिनियाँ कम्पनीप्रति भारतीय राजदूतको व्यङ्ग्य : पृथ्वी राजमार्गको काम कसले गर्दैछ?

चिनियाँ कम्पनीप्रति भारतीय राजदूतको व्यङ्ग्य : पृथ्वी राजमार्गको काम कसले गर्दैछ?

नेपालखबर
असोज १०, २०८० बुधबार २१:४२, पोखरा

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले पृथ्वी राजमार्गको स्तरोन्नतिमा भएको ढिलाइलाई लिएर अर्को मित्रराष्ट्र चीनप्रति व्यङ्ग्य कसेका छन्। उनले सडक निर्माणमा भारतीय कम्पनी अब्बल रहेको दाबी समेत गरेका छन्।

‘भारत र नेपालको बीचमा खुला सीमा छ, कतिपय भारतीयहरु आफ्नै बाहनको साथ कारको साथ यहाँ आउन खोज्छन्, हाम्रा पर्यटकलाई एउटा समस्या छ, हाम्रा पर्यटकलाई लागिरहेको छ कि काठमाडौंबाट पोखरातर्फ जाने जुन सडक छ, उसको मर्मतको काम असाध्यै ढिला भइरहेको छ,मेरो आशा छ कि नेपाल सरकारले यो काम छिटो गराउने छ’ पोखरा पर्यटन परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा बुधबार पोखरामा आयोजित कार्यक्रममा उनले भने।

राजदूत श्रीवास्तवले थपे, ‘म यो भन्दिन कि,त्यहाँ कुन कम्पनीले काम गर्दैछ। तर म यहाँ यो उल्लेख गर्न चाहन्छु, भारतमा अघिल्लो वर्ष हाइवे बन्ने कामले विश्व रेकर्ड कायम गर्यो। हामीले ७५ किलोमिटर सडक ५ दिनमा बनायौं। हामीले १२० किलोमिटर बनार्यौं,यस्तै केही दिनमा। अघिल्लो समय तपाईंहरु रोड बनाउँदा यो ध्यान राख्नुहोला कि भारतीय कम्पनीले राम्रो रोड बनाइदिन्छ।’

उनले आफ्नै सवारी साधन लिएर नेपाल घुम्न आउन चाहने पर्यटकलाई सो सडकले अप्ठेरोमा पारेको गुनासो आउने गरेको पनि सुनाए। उनी बोलिरहँदा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मञ्चमै थिए। राजदूतपछि बोल्न आएका पाण्डेले सडक स्तरोन्नतिमा भएको ढिलाइबारे दाता एसियाली विकास बैंकलाई जानकारी गराएको बताउँदै कि काम छिटो गर्न वा ठेक्का तोड्न सुझाएको सुनाए।

एसियाली विकास बैंकको सहयोगमा निर्माणाधीन सडकको ठेक्का चाहिँ चिनियाँ कम्पनीले पाएका छन्। मुग्लिनदेखि तनहुँको जामुनेसम्मको ४१ किलोमिटर पूर्वी खण्डको लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग २०७७ साल माघ १७ गते छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ। २०८१ साल वैशाखसम्म निर्माण सक्नेगरी ठेक्का दिइएको हो।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्मको जिम्मेवारी चीनकै यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रसनले काम गर्दैछ। २०७८ जेठ २ गते सात अर्ब ४० करोड ४६ लाखमा गरिएको सम्झौताको म्याद २०८१ साल भदौसम्म कायम गरिएको छ।

तर,राजमार्गको स्तरोन्नतिको काम असाध्यै ढिला भइरहेको छ। यसमा दाता एसियाली विकास बैंकदेखि नेपाल सरकार, गण्डकी प्रदेशलगायतले असन्तुष्टि जनाउँदै आएका छन्। यही असन्तुष्टिका बीच गएको चैतमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला, नेपालका लागि मित्रराष्ट्र चीनका राजदूत छन सोन, एसियाली विकास बैंकका प्रमुख, पालिका प्रमुख, सडक विभागका अधिकारीसहितको टोलीले पोखराबाट मुग्लिनसम्मको सडकको स्थलगत निरीक्षण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .