ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डलाई सीको सन्देश : नेपालको विकासमा खुला हृदयले सघाउन चीन तयार छ

प्रधानमन्त्री प्रचण्डलाई सीको सन्देश : नेपालको विकासमा खुला हृदयले सघाउन चीन तयार छ

नेपालखबर
असोज ६, २०८० शनिबार १९:१४,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी चिनफिङबीच ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ। चीनको साताव्यापी भ्रमणका लागि शनिबार हाङ्जाओ आइपुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्टरुपमा छलफल गरेका हुन्।

वार्तामा दुवै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति रह्यो। यसैगरी दुवै नेताबीच एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको छ। 

यस्तैगरी राष्ट्रपति सीले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा खुला हृदयले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएका छन्।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधि मण्डलसँग सामूहिकरुपमा समेत गरी एक घण्टा लामो वार्तामा राष्ट्रपति सीले पञ्चशीलका सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठूलो र सानो देशको कुनै भेदबिना समान सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने बताए।

प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्वपूर्ण रहेको बताए। 

उनले नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता व्यवहारवाटै पुष्टि गरेको बताउँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अंगीकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रष्ट पारे। 

प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको बेल्ट एन्ड रोड अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकेको स्मरण पनि गरे। साथै चीनको विकासले एसिया क्षेत्रकै विकासमा सहयोग पुग्ने अपेक्षा पनि गरे।

राष्टपति सीले प्रधानमन्त्री प्रचण्डसँगका यसअघिका भेटहरुको चर्चा गर्दै आफू राष्ट्रपति हुनासाथ दक्षिण एसियाबाट पहिलो नेताका रुपमा चीनमा स्वागत गरेको स्मरण गरे। उनले यस किसिमका छलफलले दुई देशबीचका सम्बन्ध र विश्वासलाई अझ सुदृढ गर्ने बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .