ad ad

राजनीति


कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्रीले भने : शिक्षकका माग पूरा गर्न सरकार तयार छ

कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्रीले भने : शिक्षकका माग पूरा गर्न सरकार तयार छ

फाइल तस्बिर


नेपालखबर
असोज ४, २०८० बिहिबार १८:३१, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो दिनको बैठक सकिएको छ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा सानेपामा बसेको बैठकमा बैठकमा महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरु प्रस्तुत गरेका छन्। 

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा उपसभापति एवम् कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरुबारे जानकारी गराएका थिए। 

उक्त बैठकमा खड्काले विभिन्न मागहरुसहित आन्दोलित शिक्षकहरुका माग पूरा गर्नुपर्ने बताएका थिए। 

उनले कार्यवाहक प्रधानमन्त्रीका रुपमा शिक्षकहरुका भावना सम्बोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाए। 

‘संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सीमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पूरा गर्न सरकार तयार छ’, उनले बैठकमा भने, ‘समस्त नेपाली शिक्षकको भावना सम्बोधन गर्न सरकार तयार रहेको कुरा यसै बैठकमा प्रतिबद्धता जनाउँदछु।’

उनले बैठकमा शिक्षकहरुले उठाएका ट्रेड युनियन अधिकार, निवृत्ति भरण र अवकाशको समयमा पाउने सुविधा आदि विषयमा छलफल भइरहेको बताए। देशलाई ठूलो आर्थिक भार पर्ने विषयमा सरकार छलफलका रहेको पनि उनले बताएका छन्।

बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर र प्रतिमा गौतमले बोलेका थिए।

बैठकमा बोल्दै केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षकाहरुका मागको सुनुवाइमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्। 

‘शिक्षकहरुको आन्दोलनप्रति हामीले ख्याल गर्नुपर्छ। विद्यालय शिक्षा विधेयकबारे प्रश्न उठेका छन्। सरकारले यअसघि कबुल गरेका केही विषयहरु विधेयकमा समावेश छैनन्’, उनले भने, ‘शिक्षकहरुले संविधानबाहिरका कुरा उठाएका छैनन्। संविधानलाई क्रस गर्ने गरी माग राखेका छैनन्। यस्तोमा कांग्रेसले रमिता हेरेर बस्न मिल्दैन।’

महरले दुई दिनदेखि आन्दोलन भइरहेको बताउँदै यसबारे सत्तामा रहेका कारण कांग्रेसले गम्भीर भएर सुनुवाइको पहल गर्नुपर्ने बताए।

त्यसैगरी अर्की केन्द्रीय सदस्य प्रतिमा गौतमले आन्दोलित शिक्षकहरुका माग अहिलेको सरकारले सुनेर पूरा गरिदिनुपर्ने बताइन्।

अहिलेको निराशालाई कसरी चिरेर अघि बढ्ने भन्ने योजना कांग्रेसलाई चाहिएको पनि उनले बैठकमा बताइन्। 

‘जनताका अपेक्षा धेरै रहेका छन्। जनताका आकांक्षा हामीसँग हुनु स्वभाविक हो’, उनले  भनिन्, ‘महंगी बढेको छ। तरकारीको भाउ र ग्यासको पनि बढेको छ। घरको भान्सा महंगो भएको छ। यसबारे कांग्रेसले बोल्ने कि नबोल्ने?’

बैठकमा आमन्त्रित प्रदेश सभापतिहरु उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), इन्द्रबहादुर बानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले आफ्ना भनाइ राखेका थिए। 

मुख्यसचिव पौडेलका अनुसार कार्यसमितिको बैठक शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .