ad ad

राजनीति


सुवास नेम्वाङ भन्थे : संविधानसभा अध्यक्ष भइसकेको मान्छेले मन्त्रीमा लोभ गर्नु हुँदैन (भिडिओ)

सुवास नेम्वाङ भन्थे : संविधानसभा अध्यक्ष भइसकेको मान्छेले मन्त्रीमा लोभ गर्नु हुँदैन (भिडिओ)

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०८० मंगलबार ११:५४, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको मंगलबार बिहान निधन भएको छ। नेपालको संविधान निर्माणमा संविधानसभाको अध्यक्ष बनेर निर्णायक भूमिका खेलेका उनी एक पटक मन्त्री भएका थिए।

पाँच पटक सभामुख र दुई पटक राष्ट्रियसभा अध्यक्षको भूमिकामा रहेका उनी पछिल्लो पटक २०७९ मंसिर ४ को निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी भए ।

२०५१ सालमा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको पालामा उनी कानुनमन्त्री बनेका थिए। त्यसयता उनी दोहोरिएर मन्त्रीको भूमिकामा देखिएनन्।

मनमोहन अधिकारीको लोकप्रिय सरकारमा कानुन मन्त्री बनेका उनी लामो समय व्यवस्थापिकाको उच्च तहमा रहे।

सिर ४ को निर्वाचन आउँदै गर्दा पाँच दलीय गठबन्धन एमालेविरुद्ध उभिएको थियो।

यस्तोमा उनले मंसिरको चुनावअगाडि इलाम पुगेर एमाले कार्यकर्ताहरुमाझ एउटा भाषण दिए।

नेपाली राजनीतिज्ञहरुमा भनि नबिझाउने, शालीन स्वभावका उनको समन्वयकारी भूमिकाकै कारण नयाँ संविधान पनि सम्भव भएकव नेताहरु बताउँछन्।

उनले इलाम पुगेर दिएको उक्त भाषणमा पनि गठबन्धनलाई नराम्रो शब्द प्रयोग गरेका थिएनन्। बरु एमालेले मंसिर ४ को चुनाव जितेर केपी शर्मा ओली प्रधानमन्त्री हुने बताएका थिए। 

‘तपाईंहरुसँग म यहाँ दुईवटा प्रतिबद्धता फेरि गर्छु। म तपाईंहरुको शिर निहुरिने  काम कहिले गर्ने छैन’, उनले भनेका थिए, ‘तपाईंहरु सुनिरख्नु भएको छ नि, कहिले कहाँ कसको के  भएको छ भन्ने सुन्नु भएको छ।
कसको के भयो अरे भन्न सुन्नु भएको छ। तर हाम्रोबारे कहिले नराम्रो सुन्नु भएको छ? यत्रो लामो काम गरियो। तर तपाईंहरुको शिर झुक्ने काम आजसम्म गरिनँ र भोलि पनि मबाट हुने छैन।’ 

आफू पाँच पटक सभामुख र दुई पटक संविधानसभाको अध्यक्ष बनेको बताउँदै उनले मनमोहन अधिकारीको पालामा कानुन मन्त्री भएर काम गरेको स्मरण गरे।

‘म २०५६ अगाडि नै एक पटक मनमोहन अधिकारीको सरकारमा कानुन मन्त्री भएँ। म आफ्नो काम र मान्यतामा अविचलित भएर बसेँ’, उनले भनेका थिए, ‘सभामुख र संविधानसभाको अध्यक्ष भएपछि पार्टीले नेताहरुले,  कमरेडहरुले मलाई उपप्रधानमन्त्री हुनुपर्छ। तैँले उपप्रधानन्त्री र गृहमन्त्री हुनुपर्छ भनेकै हुन्। तर म मेरो अडानबाट विचलित भइनँ।’ 

उनले तत्कालीन अवस्थामा केपी शर्मा ओलीको दोस्रो कार्यकालको सरकारमा उपप्रधानमन्त्री बन्नु भन्दा पनि अस्वीकार गरेको उक्त भाषणमा सुनाएका थिए। 

‘अस्ति केपी शर्मा ओलीको सरकारमा पनि मलाई गृह र उपप्रधानमन्त्री बन्नु भनेका थिए। तर मैले भनेँ, म एउटा मान्यतामा छु, संविधानसभाको अध्यक्ष भइसकेको मान्छे अब उपप्रधानमन्त्री र मन्त्री हुनु हुँदैन यो मेरो मान्यता हो’, उनले त्यसबेला भनेका थिए, ‘म आफ्नो मान्यतामा अविचलित र अडिग रहने मान्छे हो, तपाईंहरुको शिर निहुरिने एउटा काम गर्ने छैन।’

उनले इलामस्थित एमाले कार्यकर्ताहरुसँग दोस्रो प्रतिबद्धताका रुपमा जनताको साथ कहिले नछाड्ने बताए।

‘तपाईंहरुका कुनै पनि समस्याहरुमा सदा सर्वदा म र हाम्रो सम्पूर्ण टिम तपाईंहरुको साथमा रहन्छ। तपाईंहरुलाई साथ सहयोग र समर्थन रहन्छ’, उनले त्यसबेला भनेका थिए।

सम्बोधनको अन्तिमा उनले अब मंसिर ४ गतेको निर्वाचन एमाले र एमालेका उम्मेदवारलाई जिताउन पनि अपील गरेका थिए। 

‘हामीले केपी ओलीालई प्रधानमन्त्री घोषणा गरेका छौँ। हामी केपी ओलीलाई लिएर हामी सिंहदरबार फर्किन्छौँ’, उनले भनेका थिए, ‘प्रदेशमा पनि हामी सरकार बनउँछौँ।’

इलाम २ बाट चुनाव जितेपछि उनले २०७९ फागुनमै राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गरे। तर उनी सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित हुन पुगेका थिए। 

संसदीय यात्रा 
नेम्वाङले मंसिर ४ मा इलाम क्षेत्र नं २ बाट ९ हजार ६५४ मतान्तरसहित चुनाव जितेका थिए। 

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापालाई हराउँदै प्रतिनिधिसभा सदस्यमा उनी चौथो पटक विजयी भएका थिए। नेम्वाङले ३६ हजार ५१४ मत प्राप्त गर्दा थापाले २६ हजार ८६० मत ल्याए।

नेम्वाङ २०६२/६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद्को सभामुख बनेका थिए। त्यसपछि उनी लामो समय सभामुखका रुपमा रहे। 

इलामबाट २०५६ सालको चुनाव जितेपछि उनी संसद्को सार्वजनिक लेखा समितिको अध्यक्ष बनेका थिए।

नेम्वाङ कसैलाई नहोच्याउने, नम्र र मिजाजिलो स्वभावका थिए। संविधान बनाउँदा उनले सबैको दलसँगको सहकार्य चाहिने बताउँथे।

नेम्वाङले २०५६ सालमा कांग्रेसका कुलबहादुर गुरुङ, २०६४ को संविधानसभा निर्वाचनमा कांग्रेसकै केशव थापा र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका महासमिति सदस्य भेषराज आचार्यलाई हराएका थिए। 

उनी कानुन व्यवसायीका र प्राध्यापन पनि गर्थे। नेम्वाङ नेपाल बार एशोसिएसनको महासचिव पनि बनेका थिए। उनले नेपाल ल क्याम्पसमा २०३५ सालदेखि २०५१ सम्म प्राध्यापन गरे।

उनले २०२९ मा अनेरास्ववियुका तर्फबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियु सभापति जितेका थिए। त्यसयता उनी निरन्तर राजनीतिमा थिए। राजनीतिक यात्राका क्रममा उनले २०३३ सालमा राजकाज मुद्दा खेपेर जेल गएका थिए। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .