ad ad

राजनीति


जलवायु परिवर्तनको असरलाई कम गर्न अन्तर्राष्ट्रिय सहकार्य जरुरी : सांसद सापकोटा

जलवायु परिवर्तनको असरलाई कम गर्न अन्तर्राष्ट्रिय सहकार्य जरुरी : सांसद सापकोटा

नेपालखबर
भदौ २३, २०८० शनिबार १०:४६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलवायु  परिवर्तनको असरलाई कम गर्न सरकार र नागरिक सबै सचेत रहनुपर्ने बताएका छन्।

बंगलादेशको राजधानी ढाकामा जारी ‘रिजनल क्लाइमेट समिट’ लाई सम्बोधन गर्दै सांसद सापकोटाले विकासोन्मुख मुलुक हुनुको नाताले नेपालले भर्खरै ठूला पूर्वाधारको विकासमा हात हालेको र त्यसको नकारात्मक असर पनि लजवायु परिवर्तनमा देखिन थालेको बताए। 

पछिल्लो समय नेपालमा बाढी, पहिरोको जोखिम बढ्नुमा जलबायु परिवर्तन नै प्रमुख कारण रहेको उनको भनाइ थियो। 

‘यद्यपि कमभन्दा कम वातावरणीय क्षतिमा विकास निर्माण र पूर्वाधारका काम अघि बढाउन सरकार र सम्बद्ध निकाय सचेत छन्,’ सापकोटाले भने, ‘यसमा दक्षिण एसियाली क्षेत्रका तीव्र विकासमा अघि बढेका भारत र बंगलादेशको अनुभव नेपालका लागि काम लाग्ने देखिन्छ।’ 

सापकोटाले नेपालले पूर्वाधार विकास र पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाएको चर्चा गरे। नेपाल जलवायु परिवर्तनको उच्च जोखिम क्षेत्रमा रहेकाले त्यसबाट जोगिँदै अघि बढ्न छिमेकी र विश्व समुदायको दरिलो साथ चाहिएको उनको भनाई थियो।

सापकोटाले जलवायु परिवर्तनले निम्त्याएका असरहरुबाट प्रभावित दक्षिण एसियाली मुलुकहरुले त्यसका साझा दुस्प्रभाव न्यूनीकरणका लागि हातेमालो गर्नुपर्नेमा जोड दिए। 

स्वच्छ खानेपानी र फोहोर व्यवस्थापन नेपालका प्रमुख चुनौती रहेको उनको भनाइ थियो। सापकोटाले दिगो विकास लक्ष्य हासिल गर्न विकासका पूर्वाधारको निर्माण गर्नुपर्ने र पर्यावरणीय सन्तुलन पनि कायम राख्नुपर्ने विरोधाभासपूर्ण चुनौतीको सामना गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औंल्याए। 

उनले नेपालको धनकुटा र स्याङ्जामा स्थानीय तहहरुले मौलिक रुपमा एकीकृत फोहोर व्यवस्थापन प्रणाली अपनाइहरेको भन्दै त्यो नेपाल स्वयं र अरु मुलुकहरुका लागि पनि नमुनायोग्य हुन सक्ने बताए। 

तीन दिनसम्म चल्ने सो कार्यक्रममा नेपाल, भारत, बंगलादेश र भुटानका गरी ४० सांसद सहभागी छन्। नेपालबाट सापकोटासहित काँग्रेसका प्रदीप पौडेल, एमालेका ठाकुर गैह्रे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोभिता गौतम र संसदको पूर्वधार विकास मितिका सचिव उदय भण्डारी सहभागी छन्। 

बंगलादेशले वातावरण परिवर्तनका असरबाट जोगिने उपायको खोजीका लागि संसदभित्र छुट्टै ‘कलाइमेट पार्लियामेन्ट’ नामको संरचना निर्माण गरेको छ। 

दक्षिण एसियाका अन्य मुलुकले पनि आफूले जस्तै क्लाइमेट मार्लियामेन्ट निर्माण गरुन भन्ने उद्देश्यले बंगलादेशले उक्त कार्यक्रम आयोजना गरेको सापकोटाले बताए। 

‘यहाँ मन्त्री सरहका एक सांसदको नेतृत्वमा क्लाइमेट पार्लियामेन्ट’, गठन गरिएको रहेछ’, ढाकाबाट सापकोटाले भने, ‘दक्षिण एसियाली मुलुकहरुमा वातावरण प्रदूषण रोक्न, जलवायु परिवर्तनको असर न्यूीकरण गर्न र  चुनौतीको सामूहिक रुपमा फेस गर्न सबै सदस्य राष्ट्रले ‘क्लाइमेट पार्लियामेन्ट’ बनाउनुपर्छ भन्ने लबिङमा उहाँहरु हुनुहुँदोरहेछ।’ 


बंगलादेशका सभामुख डा. शिरिन शार्मिन चौधरीले उदघाटन गरेको सम्मेलनमा विश्व बैंक, एसियाली विकास बैंक, जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि तथा विभिन्न देशका राजदूत सहभागी छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .