ad ad

राजनीति


मेयर बालेन्द्र शाहको रिट खारेज, तार काटिएकोबारे क्यानले कारबाही गर्न सक्ने

मेयर बालेन्द्र शाहको रिट खारेज, तार काटिएकोबारे क्यानले कारबाही गर्न सक्ने

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०८० बुधबार १८:६, काठमाडौँ

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको रिट उच्च अदालत पाटनले खारेज गरिदिएको छ।

आफूलाई ५० हजार रुपैयाँ जरिवाना तिराउने नेपाल नागरिक उड्ययन प्राधिकरणको निर्णयविरुद्ध हालेको रिट उच्च अदालतले बुधबार खारेज गरिदिएको हो।

उच्च अदालतका न्यायाधीश दुर्गाबहादुर विश्वकर्मा र रमेश ढकालको इजलासले शाहको रिट खारेज गरेको हो। यससँगै नागरिक उड्ययन प्राधिकरणले शाहलाई कारबाही र जरिवाना तिराउन गरेको निर्णय अब कार्यान्वयन हुने भएको छ।

सिनामंगलस्थित त्रिभुवन विमानस्थलको सुरक्षाका लागि लगाइएको फेन्सिङ तार नगर प्रहरी लगाएर काटिदिएपछि क्यानले शाहलाई स्पष्टीकरण सोधेर ५० हजार तिराउने निर्णय लिएको थियो। त्यसपछि शाह अदालत पुगेका थिए।

फेन्सिङ तार काटिएको विषयमा क्यानले ५० हजार जरिवाना तिराउँदै कारबाही किन नगर्ने? भनेर स्पष्टीकरण सोधेको थियो। त्यसपछि शाह क्यानको उक्त निर्णयविरुद्ध रिट लिएर गएपछि उच्च अदालतले तत्काललाई स्पष्टीकरण रोक्ने गरी अन्तरिम आदेश जारी गरेको थियो।

बुधबारको आदेशसँगै त्यसबेला न्यायाधीश धीरबहादुर चन्दले दिएको अन्तरिम आदेश पनि खारेज भएको छ।

उच्चको आदेशपछि तार काट्ने काममा संलग्न नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र मेयर शाहमाथि क्यानले अब जरिवानासहित कारबाही र स्पष्टीकरण सोध्न सक्ने भएको छ। 

महानगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि राखिएको तार गैरजिम्मेवारपूर्वक काटेको पाइएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित जग्गामा पार्क बनाउन नदिएको ‘झोँक’मा फेन्सिङ तार काटेपछि विवाद बढेको थियो।

काठमाडौं महानगरले प्राधिकरणलाई जेष्ठ नागरिक तथा बच्चाका लागि पार्क बनाउन जग्गा उपलब्ध गराउन आग्रह गरेको थियो। 

तर, प्राधिकरणले विमानस्थलको जग्गा दिन नमिल्ने बताएपछि महानगरले नगर प्रहरी खटाएर घेराबार गरिएको फेन्सिङ काटिदिएको थियो।

गत जेठ ३२ गते काठमाडौं महानगर प्रहरीले सिनामंगलस्थित विमानस्थल क्षेत्रमा प्राधिकरणले लगाएको फेन्सिङ काटेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .