ad ad

राजनीति


‘माधव नेपालको छाया परेकोले सर्वदलीय बैठकमा एमाले आएन’

‘माधव नेपालको छाया परेकोले सर्वदलीय बैठकमा एमाले आएन’

नेपालखबर
भदौ ५, २०८० मंगलबार १४:१२, काठमाडौँ

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीको छायाका कारण राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेकपा (एमाले) नगएको बताएका छन्।

मंगलवार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीको छाया परेकाले एमाले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नगएको बताएका हुन्। उनले माधव नेपालको छाया बैठकमा परेकाले एमालेका नेताहरु अनुपस्थित भएका बताए।

उनले भने, ‘आज एउटा बैठक राष्ट्रपतिले बोलाउनु भएछ। राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा हाम्रो पार्टीको तर्फबाट म पनि गएको थिएँ। थाहा छैन मलाई के कारणले हो एमालेका नेताहरु आएनन्। सम्भवतः त्यहाँ माधव नेपालको छाया, एकीकृत समाजवादीको छाया परेको हुनाले होला आउने काम भएन।’

उनले आफूहरुसँग त्यस्तो संकिर्णता र सानो चित्त नभएको भन्दै साझा विषयवस्तुहरुमा सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताए। उनले आफूहरुसँग न्युनतम संस्कार र सस्कृति रहेको उल्लेख गरे। अध्यक्ष नेपालले आफ्नो मनमा नेपाली समाजलाई मुक्ति दिलाउने र नेपालमा समाजवादलाई कसरी साकार पार्न सकिन्छ भन्ने सोच र चिन्तनमात्र रहेको बताए।

उनले भने, ‘हामीमा त्यस्तो संकिर्णता छैन । हामीमा त्यस्तो किसिमको सानो चित्त पनि छैन । हामी सबैसँग साझा विषयवस्तुहरुमा हातेमालो गर्दै अघि बढ्न चाहन्छौँ। राष्ट्रको सरोकारका विषयहरु, जनताको सरोकारका विषयहरु, समाजका सरोकारका विषयहरुमा हामी विचार मिल्नेहरुसँग, हाम्रा धारणा मिल्नेहरु सँग, अडान मिल्नेहरुसँग हामी हातेमालो गर्दै अघि बढ्न चाहान्छौं।’

उनले थपे, ‘हामी न्युनतम संस्कार कायम राख्छौँ। र त्यो नेपाली संस्कृतिलाई अवलम्वन गर्छौं। अरुको मानमर्दन गर्दैनौँ। अरुको अपमान हामी गर्दैनौँ। अरुको तेजोबध गर्दैनौँ। हामी अरुलाई धारे हात लगाएर मात्रै अनि चलेपछि मात्रै राम्रो हुन्छ भनेर मनलाई सन्तोष पनि दिँदैनौँ। हाम्रो दिमागमा यो समाजको परिवर्तनको कुरा छ। हाम्रो मनमा नेपाली जनतालाई मुक्ति दिलाउने कुरा छ । हाम्रो सोचमा कसरी नेपालमा समाजवादलाई साकार पार्न सकिन्छ भन्ने सोच छ। चिन्तन छ।’  

अध्यक्ष नेपालले तत्कालिन नेकपा(एमाले)बाट बिद्रोह गर्नु उचित र जायज भएको बताए। उनले आजसम्मका घटनाक्रमहरुले आफूहरुले विगतमा गरेको बिद्रोह जायज थियो भन्ने कुरालाई बारम्बार पुष्टि हुँदै आएको बताए। जुनसुकै कोणबाट हेर्दा पनि बिद्रोह जायज भएको उनले जिकिर गरे।

उनले विद्रोह औचित्यपूर्ण रहेको कुरामा स्पष्ट हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गरे। केन्द्रीय सदस्यहरु विश्वस्त भएमा तल्ला कमिटी र नेताहरुलाई पनि विश्वस्त बनाउन सकिने उनको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .