राजनीति


म बाहेक अरुबाट पार्टी चल्दैन भन्ने भावना त्यागौं : आरजु राणा

म बाहेक अरुबाट पार्टी चल्दैन भन्ने भावना त्यागौं : आरजु राणा

नेपालखबर
भदौ ४, २०८० सोमबार १९:५२, काठमाडौँ

नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा आरजु राणा देउवाले पार्टीभित्र जति ठूलो विवाद भए पनि पार्टीको विधिविधानभित्रै बसेर समाधान खोजिनुपर्ने बताएका छन्।

धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै प्रधिनिधिसभा सदस्य डा राणाले भने, ‘जुनसकै पनि जीवन्त पार्टीभित्र विवाद उत्पन्न हुन्छ, त्यो नेपाली कांग्रेसमा पनि हुनसक्छ। तर त्यस्ता विवादलाई झन् चर्काउने होइन कि पार्टीकै विधिविधानभित्र बसेर सबै विवादहरूको समाधान खोज्नुपर्छ।’  

उनले देश, पार्टी र जनताका लागि आफूले के गरिरहेको छु भनेर मनैदेखि सोच्नुपर्ने सुझाव कार्यकर्तालाई दिए। ‘म मात्रै हुँ, म बाहेक अरुबाट पार्टी चल्दैन भन्ने भावना सबैले त्याग्नुपर्छ,’ उनले भने।

नेत्री डा राणाले पार्टीले गरेका राम्रा कामको प्रचार प्रसार गर्न जरुरी रहेकोमा पनि जोड दिए। अरु राजनीतिक दलहरूले आफूले गरेका साना कामहरूको पनि तिललाई पहाड बनाएर प्रचार गर्ने गरेको तर कांग्रेसले देश, व्यवस्था र नेपाली नागरिकका पक्षमा गरेका कैयौँ राम्रा कामहरूको पनि प्रचार गर्न नसकेको बताए।

अर्को एक छुट्टै प्रसङ्गमा नेत्री राणाले आफूबाट कुनै गल्ती या कमीकमजोरी नभए पनि आफ्ना विरुद्ध राजनीतिक षड्यन्त्र हुने गरेको गुनासो गरे। 

‘मैले कहीँ कतै कुनै गल्ती गरेको छैन। राजनीतिकरूपमा जे गरेको छु आफ्नो पार्टी तथा देशका लागि गरेको छु, तर पछिल्लो समयमा मेरा विरुद्धमा षड्यन्त्र हुने गरेको छ। मेरा विरुद्धमा अनर्गल प्रचारमात्र हुने गरेको छ,’ उनले भनिन्।

कार्यक्रममा डा राणालाई विकासका कामका लागि उनले पुर्याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको थियो। 

उक्त भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्यत्रय सुशीला मिश्र भट्ट, नृपबहादुर ओड र डा जीवन रानाथारु, प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस नेता कमलबहादुर शाहलगायतले पार्टी सङ्गठन सुदृढीकरणका विषयमा धारणा राखेका थिए।

भेलामा नेपालको कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसोबास रहेको रानाथारु समुदायबाट पहिलो विद्यावारिधि प्राप्त गरेका कांग्रेसका केन्द्रीय सदस्य डा जीवन रानाथारुलाई पनि सम्मान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad