राजनीति


श्रमिकहरुको न्यूनतम् ज्याला बढाउन एमाले महासचिवको माग

श्रमिकहरुको न्यूनतम् ज्याला बढाउन एमाले महासचिवको माग

नेपालखबर
साउन २७, २०८० शनिबार १८:१५, काठमाडौँ

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि हुन नसकेको टिप्पणी गरेका छन्।

भक्तपुरमा जारी नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को दशौँ प्रतिनिधि परिषद्को उद्घाटनका क्रममा महासचिव पोखरेलले यही साउन १ गतेदेखि नै लागू भइसक्नुपर्ने न्यूनतम् ज्याला साउनको अन्तिम सातासम्म पनि सरकारबाट तय हुन नसकेकामा दुःख व्यक्त गरे।

सरकारको श्रमिक नीतिमा रहेको समस्याका कारण प्रत्येक वर्ष साढे सात लाख श्रमिक रोजगारीका लागि विदेशिनुपरेको उल्लेख गर्दै उनले अवैधानिक पुँजीलाई प्रश्रय दिनु र वैधानिक पुँजीलाई निरुत्साहित गरिनुले समृद्धि हासिल नहुने जनाए।

‘देश आर्थिक मन्दीमा रहेको प्रचार गरिएको छ तर, हाम्रा छिमेकी चीन र भारत दुवै देशमा आर्थिक मन्दी छैन, यदि देशमा मन्दी भएको हो भने जनता समस्या परेका हुन् भने व्यापारीले रु ४० अर्ब फाइदा कसरी कमाए?’, उनले भने।

जिफन्टका संरक्षक तथा एमालेका उपमहासचिव विष्णु रिमालले बदलिँदो स्थितिमा जिफन्टले आफूलाई निर्माताहरूको सङ्गठन बनाउनुपर्ने बताए। 

एफइएसका नेपाल निर्देशक डा चन्द्रदेव भट्टले अहिलेको विश्व श्रमबजार नै प्रतिकूल रहेकाले पुँजी र श्रमबीचको सम्बन्धलाई कसरी विस्तार गर्ने ट्रेड युनियनलाई समाजसँग कसरी जोड्ने ट्रेड युनियन आन्दोलनको विषय रहेको बताउँदै नेपालको श्रमबजारमा जिफन्ट सधैँ अब्बल रहेको बताए।

मुलुकभरबाट सहभागी तीन सय सात जना प्रतिनिधिलाई स्वागत गर्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जिफन्टलाई सर्वकालिक सशक्त सङ्गठनका रूपमा निर्माण गर्न जिफन्ट स्थापनाकालमा योगदान गर्ने सबै अग्रजहरूको भूमिकालाई स्मरण गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad