राजनीति


उपेन्द्र यादवको प्रश्न- कर्मचारीले बनाएको नीतिको आधारमा समाजवाद आउँछ?

उपेन्द्र यादवको प्रश्न- कर्मचारीले बनाएको नीतिको आधारमा समाजवाद आउँछ?

फाइल तस्बिर


नेपालखबर
साउन १४, २०८० आइतबार १७:४८, काठमाडौँ

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताएका छन्। 

आइतबार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताएका हुन्। उनले नेपालको शिक्षा क्षेत्र अराजक र बेवारिसे भएको पनि बताए।

‘हामीले राजतन्त्रलाई अन्त्य गर्‍यौं। एकात्मक शासकीय प्रणालीलाई अन्त्य गर्‍यौं। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल त भयौं। तर शिक्षा क्षेत्र ध्वस्त भएको छ। नेपालमा सबभन्दा अगाडी ध्वस्त भएको, सबभन्दा बढी बरबाद भएको, सबभन्दा बढी अराजक भएको, सबभन्दा बढी बेवारिसे भएको कुनै क्षेत्र छ भने त्यो शिक्षा क्षेत्र नै छ,’ उनले भने, ‘चाहे त्रिभुवन विश्वविद्यालयमा जानुस्, अन्त जानुस्। सरकारले लगानी गरेको स्कुलमा जानुस्। सरकारले चलाएको विश्वविद्यालय र क्याम्पसमा हेर्न जाने हो भने अब त विद्यार्थी पाउन पनि छोडिसक्यो।’ 

उनले सरकारले लगानी गरेको विद्यालय, क्याम्पस र विश्वविद्यालयहरुमा पढ्ने विद्यार्थी नै पाउन छोडिसकिएको पनि बताए। 

‘किन जानु त्यहाँ पढेर के हुन्छ? मान्छेलाई विश्वास पनि भएन यति ध्वस्त भइसकेको छ। शिक्षा क्षेत्र ध्वस्त भएको नेपालको हालत चाहीँ के होला त? जबकि प्रगतिको आधार नै शिक्षा हो,’ यादवले भने, ‘त्यसकारण शिक्षामा आमुल परिवर्तनको आवश्यकता छ। शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिनुपर्छ। शिक्षा अधिकार हो। मानव विकासको आधार हो। यसको दायित्व राज्यले लिनुपर्छ।’ 

यादवले देश प्रगतिको मुख्य आधार नै शिक्षा भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता रहेको पनि बताए।

‘जनताको मौलिक अधिकार हो। समाजवादको पहिलो आधार अहिलेको युगमा सबैका लागि गुणस्तरीय राम्रो शिक्षा हो।  र सबैको लागि रोजगार नै समाजवादको आधार हो। कुनै देशमा समाजवाद छ, छैन भन्ने नाप्ने आधार के भने त्यहाँ राम्रो शिक्षा समान रुपले सबैले पाएका छन् कि छैनन्, सबैले रोजगारी पाएका छन् कि छैनन्?,’ यादवले भने, ‘छ भने त्यो समाजवादको दिशातिर अगाडी बढेको मुलुक हो। छैन भने समाजवाद हुन सक्दैन।’

उनले नेपालको संविधानमा समाजवाद उन्मुख लेखिएको भएपनि व्यवहार भने विकृत पुँजिवादको उन्मुख भएको बताए। त्यसैगरी सरकारको नीति, कार्यक्रम र बजेट कर्मचारीले बनाउने गरेको उल्लेख गर्दै उनले कर्मचारीले बनाएको नीतिको आधारमा समाजवाद नआउने बताए।

‘कर्मचारीले बनाएको नीतिको आधारमा समाजवाद आउँछ? कर्मचारीले सरकारको नीति बनाउँछ, कर्मचारीले बजेट बनाउँछ, कर्मचारीले कानुन लेखिदिन्छ, हामी संसदमा थपडी बजाउँछौ र पास गर्दिन्छौँ। देश जतासुकै जाओस् केही मतलब छैन,’ यादवले भने, ‘यो स्थितिबाट मुक्त गरेर राजनीतिक व्यक्तित्वहरू, विचारकहरू, वौद्धिक वर्गहरू बसेर, समाजवादी चिन्तकहरू बसेर मुलुकलाई कुन दिशामा जाने हो, त्यही अनुसार नीति, कार्यक्रम, कानून र योजना बनाएर अगाडी बढाउनुपर्ने बेला हो। ब्युरोक्रेसीको भरमा समाजवादको कल्पना गर्न सकिँदैन। परिवर्तन यहाँनिर आवश्यकता छ।’

उनले गुणस्तरीय शिक्षा दिने मुलुकहरूले नै प्रगति गर्ने भन्दै गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad