आज २३ जुलाईका दिन कम्बोडियामा सातौँ राष्ट्रिय व्यवस्थापिकाको आमनिर्वाचन भएको छ।
कम्बोडियामा कुल ९७ लाख १० हजार ६६५ मतदाताले १२५ जना विधायकको निर्वाचित गर्न मतदान गरेका हुन्।
निर्वाचनका लागि आइतबार देशभर २३ हजार ७८९ मतदान केन्द्र तोकिएका थिए।
निर्वाचनका लागि नेपालबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न समूहमा ३३४ जना विदेशी पर्यवेक्षक बिहानैदेखि पर्यवेक्षणमा जुटेका थिए।
अध्यक्ष ओली रहेको टोली बिहान ६ बजे पर्यवेक्षणको लागि टोल कोर्क प्राविमा तोकिएको मतदान केन्द्रमा पुगेको थियो।
त्यहाँ उनको उपस्थितिमा ९२ वर्षीय एकजना कम्बोडियन नागरिकले मतदान गरे।
ओलीको सचिवालयका अनुसार बिहान साढे १० बजे ओली हुन सेन प्रिक रेसे प्रावि र क्रोपर हा प्राविको मतदान केन्द्रमा पर्यवेक्षणका लागि पुगे।
ओलीसहितको पर्यवेक्षण टोलीले कम्बोडियाभर ७० प्रतिशतभन्दा बढी मतदान शान्तिपूर्णरुपमा भएको जनाएको छ।
पर्यवेक्षणका क्रममा अध्यक्ष ओलीले स्थानीय र विदेशी सञ्चारमाध्यमसँग संक्षिप्त कुराकानी गरेका थिए।
निर्वाचन पर्यवेक्षकहरुले सोमबार बिहान १० बजे पत्रकार सम्मेलन आयोजना गर्दैछन्। आमचुनावको मतगणना आइतबारै सुरु हुने छ।
ओलीले मतदान पर्यवेक्षणकै क्रममा आइतबार दिउँसो ४ बजे श्रीलङ्काका पूर्व राष्ट्रपति तथा वर्तमान सांसद मैत्रीपाला सिरिसेनासँग भेटवार्ता गरे।
नेपाली डेलिगेशनमा उपमहासचिव विष्णु रिमाल, विदेश विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य डा. राजन भट्टराई, भुतपूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री एवम प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल, एमाले बागमती प्रदेश कमिटीका सदस्य राजेश बज्राचार्य पनि छन्।
त्यसैगरी संविधानसभाको सदस्य मिलन राजवंशी लगायत पर्यवेक्षणमा सहभागी थिए। डा. भट्टराई र नेपाली कांग्रेसकी नेता सुजाता कोइराला आइक्यापको कार्यक्रममा सहभागी हुन पुगेका हुन्।
आइतबार नै साँझ ६ बजे ओली शान्तिका लागि अन्तर्राष्ट्रिय उच्च परिषद्ले आयोजना गरेको रात्रिभोजमा सहभागी भए। उनी सोमबार साँझ स्वदेश फर्किने कार्यतालिका छ।
Shares

प्रतिक्रिया