राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीले आवश्यक देखेको खण्डमा आफूले ओगटेको पद छाड्नसक्ने प्रतिवद्धतासहित हस्ताक्षर गरेर खाम पठाउन सूचना जारी गर्ने भएको छ। पार्टी सभापति रवि लामिछानेले शनिबार बूढानीलकण्ठमा आयोजित नगर भेलालाई सम्बोधन गर्दै सबै प्रक्रिया पूरा भइसकेपछि नोटिस जारी गर्ने तयारीमा रहेको जानकारी दिए।
‘हामीले असल साथीहरूलाई जोड्दै जाने क्रममा आज ओगटेको पद अर्को साथीलाई दिन तयार भएको प्रतिवाद्धतासँगै जाहेर गर्नुपर्नेछ। म सबै प्रक्रियाले पूर्णता पाइसकेपछि एउटा नोटिस जारी गर्ने पक्षमा छु,’ सभापति लामिछानेले भने।
उनले केही दिनमा नै उक्त आह्वान गर्न लागेको भन्दै कार्यकर्ताहरूलाई तयार रहेर बस्न समेत आग्रह गरेका छन्।
संयमित र मर्यादित भएर आचोलना गर्दिनुहोस्, सच्चिन तयार छौँ : लामिछाने
‘मलाई सबै पदाधिकारी साथिहरूले एउटा खाम पठाउनुहोला, म आवश्यक परेको बेलामा मैले प्राप्त गरेको पद पार्टीले भनेको अवस्थामा योग्य मानिसलाई कुनैपनि बेला छाड्न राजी छु भनेर हस्ताक्षर गरेको पत्र पठाइदिनुहोला भनेर आह्वान गर्नेवाला छु,’ लामिछानेले भने, ‘चाँडै यो पत्र तपाईंहरुसामु आउनेछ। पत्रका लागि तपाईंहरु पनि तयार रहनुहोला।’
साथै, उनले असल मान्छेका लागि आफू आफ्नो पद पनि छाड्न तयार रहेको प्रतिवद्धता जनाए।
‘म एक पटक हेर्न चाहन्छु। योग्य र असल मान्छेलाई ठाउँ छाड्न म सधैं तयार छु। तयार भएरै यो बाटोमा हिँडेको हुँ,’ लामिछानेले भने।
Shares

प्रतिक्रिया