ad ad

राजनीति


चिनियाँ सहयोगका आयोजना तीव्र गतिमा अगाडि बढाउने सहमति

चिनियाँ सहयोगका आयोजना तीव्र गतिमा अगाडि बढाउने सहमति

नेपालखबर
असार २६, २०८० मंगलबार १२:४४, काठमाडौँ

चीन भ्रमणमा रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडीआरसी) का उपाध्यक्ष छोङ लियाङबीच चीनको बेइजिङस्थित एनडीआरसीको कार्यालयमा भेटवार्ता भएको छ ।

मंगलबार भएको भेटवार्तामा योजना आयोग र एनडीआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौता अनुसारका कार्यक्रममध्ये सम्पन्न हुन बाँकीलाई द्रुतगतिमा अगाडि बढाउने समझदारी भएको छ। त्यसक्रममा नेपाल र चीन सरकारको तर्फबाट गर्नुपर्ने कामका बारेमा विस्तृत रुपमा छलफल भएको थियो।

नेपाल आगामी १६औँ योजना तर्जुमा गर्न गइरहेको सम्बन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडीआरसीको अनुभव सेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो।

आयोगका उपाध्यक्ष डा श्रेष्ठले एनडीआरसीका उपाध्यक्ष लियाङलाई उपयुक्त समयमा नेपालको भ्रमण गर्न निमन्त्रणा दिए। यसअघि स्टेट प्लानिङ कमिसनको रुपमा रहेको सो चिनियाँ संस्था हाल एनडिआरसीका रुपमा चिनिन्छ। यस्तै आयोगद्वारा अगाडि बढाइएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) हाल कार्यान्वयनको चरणमा रहेको छ।

चिनियाँ विकास उपमन्त्रीसँग छलफल
त्यसैगरी आयोगका उपाध्यक्ष डा श्रेष्ठ र चाइना इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी (सीआईडीसीए) का उपमन्त्री डेङ बोगिङबीच द्विपक्षीय भेटवार्तासमेत भएको छ। चीनको राजधानी बेइजिङमा आयोजना भइरहेको ‘फोरम अन ग्लोबल एक्सन फर शेयर्ड डेभलपमेन्ट’सम्बन्धी पहिलो उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजक संस्थाको रुपमा रहेको उक्त संस्था चीन सरकारको अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी काम हेर्ने निकाय हो।

भेटवार्ताका क्रममा दुई पक्षबीच चीन सरकारद्वारा नेपालका लागि घोषणा गरिएका सहयोग अन्तर्गतका विभिन्न कार्यक्रम तथा परियोजनाको कार्यान्वयन प्रगती सम्बन्धमा छलफल भएको थियो। साथै पहिले समझदारी गरिएका प्रमुख कनेक्टीभिटीसँग सम्बन्धित आयोजनालाई छिटो अघि बढाउनका लागि दुवैतर्फबाट गर्नुपर्ने पूर्वतयारीका कार्य बेलैमा सम्पन्न गर्ने बारेमा छलफल भएको थियो।

दुवै भेटवार्तामा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलगायत दूतावासका उच्च अधिकारी र नेपाली प्रतिनिधिमण्डलका सदस्य तथा चीन सरकारका उच्च अधिकारी सहभागी थिए। आयोग उपाध्यक्ष डा. श्रेष्ठले आजै चिनियाँ उपराष्ट्रपति हाङ चेफ्सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .