वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरुले सरकारसँग माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरुले मुलुकभित्रै रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।
उनीहरुले पछिल्लो समय मुलुकभित्र युवा जनशक्ति भन्दा पनि बुढाबुढीहरुको संख्या बढेको सरकारी तथ्याङ्कले देखाएको बताए।
सांसदहरुले सरकारले सधैँ वैदेशिक रोजगारीलाई मात्रै प्राथमिकता दिएर रेमिट्यान्स भित्र्याउने प्रयास गर्दा भविष्यमा मुलुक दुर्घटनामा पर्ने बताए।
उनीहरुले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई देशभित्रै कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा सरकार गम्भिर हुनुपर्ने बताए।
नेकपा एमालेका सांसद लालप्रसाद साँवा लिम्बूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको विदेश जानु भन्दा अघि सीप प्रमाण पत्र बनाउने वातावरण सरकारले बनाउनु पर्ने बताए।
उनले सरकारले स्थनीय तहलाई सीपमुलुक तालिम दिने र अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न पाउने अधिकार दिनसके दक्ष जनशक्ति उत्पादन हुने बताए।
उनले नेपाली श्रमिकहरु काम गर्न पुगेको देशहरुसँग सरकारले श्रम सम्झौता गर्न आवश्यक रहेको बताए।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले वर्षैपिच्छे वैदेशिक रोजगारीलाई प्रामिकता दिन नहुने बताए।
उनले मुलुक भित्रै युवाहरुलाई रोजगारी सिर्जना गर्ने वतावारण सरकारले बनाउनुपर्ने बताए। उनले सरकारले रेमिट्यान्स भित्र्याउने उदेश्यले मात्रै वैदेशिक रोजगारीलाई प्राथमिकता दिए भविष्यमा मुलुक दुर्घटनामा पर्ने बताए।
उनले सरकारले सीप सिकाएर सिकेको सीपलाई प्रयोग गर्ने अनकुल वातावरण बनाइदिनुपर्ने बताए। उनले विदेशी भूमिमा पसिना बगाएर पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेको भन्दै श्रमिकहरुको सम्मान राज्यले गर्न नसकेको बताए।
बैठकमा सांसद रामशंकर यादवले विदेशमा दुःख काट्ने नेपालीहरुलाई नेपालमा नै व्यवस्थित गर्न आवश्यक रहेको बताए। उनले वैदेशिक रोजगारीमा जानका लागि ऋण लिँदा नै मिटर ब्याजीहरुको जन्म भएको बताए।
उनले वैदेशिक रोजगारीमा जान ऋण लिन धितो राखेरको घरजग्गा समेत सक्छ तर विदेश जान समेत नपाउने अवस्था रहेको बताए। उनले गरिब जनतालाई वैदेशिक रोजगारीमा पाउनै पर्ने भएर सरकारी फण्ड बनाएर पाउन माग गरे।
Shares

प्रतिक्रिया