ad ad

राजनीति


‘वरिष्ठ नेता’ बन्ने कसरतमा शेखर कोइराला

देउवा र गगनलाई मनाएर आगामी सभापति बन्ने दाउ
‘वरिष्ठ नेता’ बन्ने कसरतमा शेखर कोइराला

नेपालखबर
असार २०, २०८० बुधबार २१:५३, काठमाडौँ

नेपाली कांग्रेसको २० औँ वरीयतामा रहेका नेता शेखर कोइरालाले पार्टीको वरिष्ठ नेता बन्ने कसरत थालेका छन्। उनी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा दुवैलाई मनाएर आगामी महाधिवेशनमा सभापति बन्ने प्रयासमा छन्।

२०७८ मंसिरमा सम्पन्न १४ औँ महाधिवेशनमा सभापति प्रतिस्पर्धामा शेरबहादुर देउवासँग उनी पराजित भएका थिए। त्यसबेला देउवा भर्सेस शेखर–गगन थापा प्यानलबीच चुनाव भएको थियो। 

गगन महामन्त्रीमा निर्वाचित हुँदा हारेका शेखरलाई मनोनित गरेर केन्द्रीय सदस्य बनाइएको थियो। त्यहीबेला उनको वरीयता तय गरिएको थियो। उनीभन्दा अगाडि १३ पदाधिकारी र ६ पूर्वपदाधिकारी छन्। 

महाधिवेशनपछि केही समय उनी नेता÷कार्यकर्ता भेटघाटमा निस्किए। भेट्नेहरुले उनलाई कांग्रेसको नेतृत्वको लागि तयारी गर्न सुझाव दिए। सोही अनुसार उनले वरिष्ठ नेता बन्ने प्रयास थालेका हुन्।

कांग्रेसमा नेतृत्व पाउन त्यति सजिलो छैन। चुनाव नै जित्न कठिन छ। समयमै महाधिवेशन नहुने सम्भावना छँदैछ। यस्तो बेला कांग्रेसका स्वर्गीय सभापति गिरिजाप्रसाद कोइरालाले अभ्यास गरेको एउटा विधितिर शेखरले रुचि देखाएका छन्। 

विधानमा ‘वरिष्ठ नेता’ भन्ने छैन, तर २०६४ सालमा नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकतापछि यो पद चलनमा ल्याइएको हो। 

‘एकतापछि सभापति गिरिजा बन्नुभयो। शेरबहादुर देउवाले म कार्यवाहक सभापति पनि बस्दिनँ, उपसभापति पनि बस्दिनँ भनेपछि के गर्ने भनेर गिरिजाले सोध्दा तपाईं पछिको वरीयता राखिदिनु भन्दिनुभयो,’ विश्वकर्माले नेपालखबरसँग भने, ‘त्यसपछि वरिष्ठ नेता भनेर राखियो।’

अहिले कांग्रेसमा सभापतिको समकालीन नेतालाई वरिष्ठ नेता भन्न थालिएको छ। र, यो उपाधि सभापतिमा पराजित नेतालाई दिइने गरिएको छ। 

गिरिजा सभापति हुँदा शेरबहादुर वरिष्ठ नेता बने। देउवा सभापति हुँदा रामचन्द्र पौडेल वरिष्ठ नेता बनेका थिए। शेखरको चाहना पनि यही छ। सभापति पराजित भए पनि उनी वरिष्ठ बन्न पाएका थिएनन्।

रामचन्द्र पौडेलले १४ औँ महाधिवेशनमा देउवालाई समर्थन गरेपछि उनी वरिष्ठ नेता बनाइए। फागुन २५ मा राष्ट्रपति चुनाव जितेपछि उनले कांग्रेसको सबै पदबाट राजीनामा दिए। अहिले कांग्रेसमा वरिष्ठ नेता पद रिक्त छ। 

विधानमा यो पदको व्यवस्था नभए पनि दोस्रो वरीयता दिने गरिएको छ। यसले भोलि नेतृत्वको बाटो पनि खोल्ने अपेक्षा कोइरालाको छ।

‘सभापतिले कसरी सोच्नुभएको छ, थाहा छैन। तर, शेखर दाइलाई वरिष्ठ नेता बनाउनुपर्ने हो। यसले राम्रो सन्देश जान्थ्यो,’ सांसद तथा केन्द्रीय सदस्य सञ्जय गौतमले नेपालखबरसँग भने, ‘सभापतिको प्रतिस्पर्धी उहाँ हो।’ 

तर, देउवाले सजिलै वरिष्ठ नेता बनाउँदैनन् भन्ने कुरा शेखरले बुझेका छन्। 

‘वरिष्ठ भनेर पद राखियो भने को वरिष्ठ भनेर समस्या हुन्छ,’ प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘अब कसलाई भन्ने? बाहिर चर्चा त चलेको छ। पार्टीभित्र आधिकारिक प्रस्ताव उठ्छ जस्तो मलाई लाग्दैन। सभापतिमा निकट प्रतिस्पर्धी भएको हुनाले शेखर कोइरालालाई पनि सिनियर नेता मानिएको छ।’ 

त्यही भएर पछिल्लो समय कोइराला देउवासँग नजिकिएका छन्। प्रचण्ड नेतृत्व सरकारमा मन्त्री छान्दा पनि उनीहरुले मिलेर भागबण्डा गरे।

देउवाले चाहे कोइरालालाई तत्काल वरिष्ठ नेता बनाउन सक्ने नेताहरु बताउँछन्। किनभने संसदीय दल र केन्द्रीय समिति दुवैमा देउवा बहुमतमा छन्। 

‘सभापतिको मुख्य प्रतिस्पर्धी भएकोले के गर्ने भन्ने प्रश्न उठेको छ, केन्द्रीय समिति बैठकमा कुरा उठ्यो भने यसको निकास निकाल्छ होला,’ प्रचार विभाग प्रमुख विश्वकर्माले थपे, ‘केन्द्रीय समितिले बाधा अड्काउ फुकाउन पनि सक्छ। तर, विधानमै नभएकोले कसरी भन्ने छ।’

वरिष्ठ नेताबारे कांग्रेसको नीति अधिवेशनले निर्णय गर्नसक्छ। अहिलेसम्म नीति अधिवेशनको मिति तय भएको छैन। 

‘दबाब बढ्दै गयो भने नीति महाधिवेशनतिर यस्तो कुरा उठ्न सक्छ, त्यसबेला एउटा निर्णय होला,’ विश्वकर्माले भने। 

‘गगनसँग टुट्दैन गठबन्धन’
१४ औँ महाधिवेशनमा एउटै प्यानलबाट चुनाव लडेका शेखर–गगनमा पछिल्लो समय दुरी बढेको विश्लेषण भइरहेको छ। देउवासँग नजिकिएको भन्दै गगन पक्षका केही नेताले शेखरको आलोचना गर्न थालेका छन्। तर, त्यो सत्य नभएको सांसद गौतम बताउँछन्।

‘हामीबीचको समझदारी भत्काउन खोजिएको छ। तर, शेखर–गगन गठबन्धनमा १५ औँ महाधिवेशनसम्म कुनै उतारचढाव आउन दिदैँनौँ,’ गौतम भन्छन्, ‘भविष्य गगनमा लुकेको छ। इन्ट्याक्ट भएर बस्यौँ भने सभापति बन्छौँ। हाम्रो विचार समूह एकढिक्का छ।’

नयाँ गठबन्धन बनेर प्रधानमन्त्रीको अवसर आए गगनले शेखरलाई साथ दिने र सभापतिका लागि पनि सहयोग गर्ने गौतमको भनाइ छ।

सभापति र महामन्त्री दुवैलाई मिलाएर अघि बढे १५ औँ महाधिवेशनमा सभापति बन्न सकिने शेखरको विश्लेषण छ। 

त्यसका लागि उनी अहिले देउवालाई रिझाउने र गगनलाई बिच्किन नदिने कोसिसमा छन्।

अबको दुई वर्षभित्र कांग्रेसको महाधिवेशन गर्नुपर्छ। यदि समयमा नभए २०८३ भित्र गरिसक्नुपर्छ।

नेपाली राजनीतिमा नयाँ पुस्ता हावी हुन थालेको छ। अझ कांग्रेसमा नेतृत्व हस्तान्तरणको दबाब ज्यादा छ। त्यही भएर उनले देउवाबाट हस्तान्तरण खोजेका छन् भने नयाँ पुस्ताको समर्थन पाउन गगन थापालाई विश्वासमा राख्ने कोसिस गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .