राजनीति


कोशीमा नयाँ सरकार : कांग्रेस नेतृत्वमा बने थापा मुख्यमन्त्री, माओवादीको बने आङ्बो

बालुवाटारको गठबन्धन बैठकले के गर्ला निर्णय?
कोशीमा नयाँ सरकार : कांग्रेस नेतृत्वमा बने थापा मुख्यमन्त्री, माओवादीको बने आङ्बो

नेपालखबर
असार १८, २०८० सोमबार १५:३१, काठमाडौँ

कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएसँगै दलहरू आन्तरिक कसरतमा लागेका छन्।

आइतबार प्रदेश प्रमुख परशुराम खापुङले आगामी बिहीबार साँझ ५ बजेसम्म नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरूलाई समय दिएका छन्। 

मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएसँगै कोशीमा एमाले नेतृत्वको सरकार ढलेको थियो। 

प्रदेश प्रमुखबाट सरकार गठनका लागि बोलाएसँगै कोशीमा ठूलो दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायतबीच घम्साघम्सी सुरु भएको छ।

तर एमालेभन्दा सत्ता गठबन्धनका नेताहरूबीच सरकार गठनमा सहमति जुटाउने प्रयास भइरहेको छ। कोशीको नेतृत्व कसले लिने भन्नेबारे कांग्रेस र नेकपा माओवादीबीच संवाद जारी छ। 

स्रोतका अनुसार सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सत्ता गठबन्धनको बैठकमा पनि यसबारे छलफल हुनेछ। कोशी प्रदेशका नेताहरू विवाद मिलाउन माग गर्दै काठमाडौं आएका छन्। 

कांग्रेसबाट प्रदेश सभापतिसमेत रहेका उद्धव थापा र माओवादीबाट भूपेन्द्र राईमध्ये कसलाई सरकारको नेतृत्व गराउन पठाउने भन्नेबारे सहमति हुन बाँकी छ। 

‘कांग्रेसले पाए मुख्यमन्त्रीमा उद्धव थापालाई नै अघि सार्छौं,’ गठबन्धनका ती नेताले नेपालखबरसँग भने, ‘माओवादी नेतृत्वमा सरकार बनेमा भूपेन्द्र राईको नेतृत्वमा मन्त्रीहरू पठाउँछौं।’

यदि माओवादी नेतृत्वमा सरकार बनेमा संसदीय दलका नेता इन्द्र आङ्बोलाई नै मुख्यमन्त्री बनाउने तयारी रहेको ती नेता बताउँछन्।

एमालेको सरकार ६ महिनामै ढलेपछि अहिले कांग्रेस र माओवादी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथमा लिएर सरकार बनाउने योजनामा छन्। 

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ। एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की नेतृत्वको सरकार ४६ सांसदको मात्रै समर्थन जुट्दा ढलेको थियो। 

प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सांसद छन्। यसअघि ऊसँग सरकारमा गएको राप्रपासँग ६ जना सांसद छन्। एमाले र राप्रपा मिल्दा ४६ नै हुन्छ।

यहाँ कांग्रेसका २९, माओवादी केन्द्रका १२ (सभामुखबाहेक), एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी (जसपा) का १ जना सांसद छन्। जसका कारण प्रदेशसभा विघटनको दिशामा जाने अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .