प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई आज (शुक्रबार) संसदीय सुनुवाइ विशेष समितिले प्रश्न गर्ने भएको छ।
त्यसका लागि समितिले हाल सर्वाेच्च अदालतका कायममुकायम प्रधान्यायाधीश कार्कीलाई अहिले बिहान ८ बजेका लागि सिंहदरबार बोलाएको छ।
आज समितिका सदस्यले कार्कीलाई उनीविरूद्ध समितिमा परेका २९ वटा उजुरीमा आधारित प्रश्न गर्नेछन्।
जेठ १६ गते बसेको सुनुवाइ समितिको बैठकले जेठ २६ भित्र कार्कीविरुद्ध उजुरी दिन आह्वान गरेको थियो। सोबमोजिम प्राप्त उजुरीमा कार्कीलाई आफ्नै ल फर्मका साझेदार अग्नि खरेलले न्यायाधीश बनाएको आरोप छ।
यस्तै कार्कीको नियुक्तिका लागि संवैधानिक परिषद्सम्बन्धी काम, कर्तव्य र ऐन रिक्त रहेको, त्यसविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले उनको नियुक्ति नै कानुन अभावको अवस्थामा भएकाले सिफारिस खारेज गर्न माग गरिएको उजुरी पनि परेको छ।
यसअघि हिजो (बिहीबार) सुनुवाइका क्रममा कार्कीले आफ्नो कार्ययोजना र योग्यता प्रस्तुत गरेका थिए। त्यस क्रममा कार्कीले आफूले लागू गरेको गोला प्रथाले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशतसम्म रोक्न सफल भएको दाबी गरेका थिए।
समितिमा कांग्रेसबाट रमेश लेखक, इश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझी छन्। यस्तै एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लीलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल सदस्य छन्।
नेकपा माओवादी केन्द्रबाट भने समितिमा जनार्दन शर्मा र जगप्रसाद शर्मा, रास्वपाबाट डोलप्रसाद अर्याल, राप्रपाबाट पशुपतिशमशेर जबरा र जसपाबाट प्रकाश अधिकारी सदस्य छन्।
समितिले प्रस्तावित नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्ति दिने व्यवस्था छ।
Shares
प्रतिक्रिया