राजनीति


गगन र विश्वप्रकाशलक्षित मिश्रको प्रश्न- गणतन्त्र देशको हितमा रहेनछ भन्ने आत्मबोध भएको हो?

गगन र विश्वप्रकाशलक्षित मिश्रको प्रश्न- गणतन्त्र देशको हितमा रहेनछ भन्ने आत्मबोध भएको हो?

फाइल फाेटाे : राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र


नेपालखबर
जेठ १६, २०८० मंगलबार २०:२३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले हिजो (जेठ १५ गते) गणतन्त्र दिवसका दिन गणतन्त्रका पक्षमा व्यापक वकालत गर्ने नेपाली कांग्रेसका युवालगायत केही नेताले गणतन्त्र दिवसको शुभकामना नदिएको भन्दै यसलाई अर्थपूर्ण ठानेका छन्। र, त्यसलाई आफ्नै ढंगले व्याख्या गरेका छन्। 

खासगरी उनको भनाइ कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालक्षित देखिन्छ। किनकि यी दुवैले हिजो सामाजिक सञ्जाल (फेसबुक/ट्विटर) मा गणतन्त्र दिवसको शुभकामना दिएका रहेनछन्। 

मंगलबार ‘धेरैले याद नगरेको एउटा तथ्य’ शीर्षकमा सामाजिक सञ्जालमा मिश्रले लेखेका छन्, ‘हिजो गणतन्त्र दिवसका दिन सामाजिक सञ्जालमा अत्यन्तै सक्रिय र गणतन्त्रका भीषण वकालतकर्ता कांग्रेसका जानेमानेका युवालगायतका केही नेताले गणतन्त्र दिवसको शुभकामना दिएनन्। अरू धेरैले पनि दिएनन्।’

यसपछाडि तीनवटा कारण हुनसक्ने अनुमान मिश्रले गरेका छन्। र, तीमध्ये तेस्रो कारण हो भने आफू उनीहरूलाई सलाम गर्ने टिप्पणी गरेका छन्। 

उनले अगाडि लेखेका छन्– 

१. त्यो हिजो ट्विट गर्ने समय नभएर हो कि?

२. गणतन्त्रको शुभकामना दिँदा बेस्कन गाली खाइन्छ भनेर हो कि?

३. या, १५/२० वर्षअघि जेका लागि लडियो, त्यो त देशको हितमा रहेनछ भन्ने आत्मबोध भएर हो?

यदि तेस्रो हो भने तपाईंहरूलाई नमन! किनभने व्यक्तिको विचारभन्दा देशलाई माथि राख्नैपर्छ। व्यक्तिका मूल्यांकनहरू बेलाबखत गल्ती हुन्छ। तथ्य बदलिएपछि आफ्नो सोच बदल्न हिचकिचाउनु हुँदैन।

गणतन्त्र दिवसका दिन सोमबार अन्य कैदीबन्दीसँगै टीकापुर हत्याकाण्डका मुख्य दोषीका रूपमा अदालतबाट जन्मकैद सजाय सुनाइएका रेशम चौधरीलाई पनि आममाफी दिएर जेलमुक्त गरिएपछि महामन्त्रीद्वयसहित सत्तारुढ कांग्रेसकै कतिपय नेता असन्तुष्ट छन्।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .